१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘काठमाडौं नै प्यारो लाग्छ’

प्रियंका कार्की, अभिनेत्री 

तपाईं घुमेकामध्ये मनपरेको सहर कुन हो ?
मलाई मनपरेको सहर लन्डन हो । लन्डमा पुराना कुरालाई मौलिक रूपमै राखिएको छ । भित्री सहर पनि उत्तिकै रमणीय छन्, चारैतिर सफा छ । सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन् । जापानको नागोया, फ्रान्सको पेरिस र अमेरिकाको न्युयोर्क पनि मलाई धेरै राम्रो लाग्छ । यी सहर रंगीन छन्। 

नेपालमा मनपरेको सहर ?
मलाई काठमाडौं नै धेरै मनपर्छ । मेरो जन्म पनि यहीँ भएकाले मैले काठमाडौंलाई सानैदेखि बुझ्ने मौका पाएँ । मेरो करिअर पनि काठमाडौंबाटै सुरु भएको हो । अहिले भने काठमाडौं अस्तव्यस्त छ । सरकारको गैरजिम्मेवारीले काठमाडौं अस्तव्यस्त भएको हो । 

काठमाडौंबाहेक मनपर्ने नेपाली सहर ?
उपत्यका बाहिरका सहरमा पोखरा मलाई मनपर्छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । पोखरा प्राकृतिक रूपमै सुन्दर छ । मलाई फेवाताल घुम्न, प्याराग्लाइडिङ गर्न र गुफा हेर्न मन पर्छ । यिनै कुराले धेरैलाई पोखराले तान्ने गरेको छ । पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँ छन्।

तपाईंलाई आफ्नो सपनाको सहर कस्तो होस् जस्तो लाग्छ ?
मेरो सपनाको सहर सफा, हरियाली, प्रदूषणमुक्त र सबै सेवा–सुविधायुक्त होस् । म सहरमा बसेकी छु भने मैले सहरमा पाइने सबै सुविधा पाउनुपर्छ । हाम्रा सहरमा खास सुविधा पाइँदैन । सबैतिर अस्तव्यस्त मात्रै छ। 

हाम्रा सहर किन अस्तव्यस्त बनेको होला ?
सहरमा बस्ने हामी सबैको बेवास्ताले सहर बिग्रिएको हो । नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए सहर यति अव्यवस्थित हुने थिएन । सबैले सरकारको मात्रै आलोचना गर्ने तर आफ्नो दायित्व के हो भन्ने बिर्सिएकाले सहर अस्तव्यस्त भएको हो। 

विदेशी सहरमा कस्ता सुविधा देख्नुभयो ?
विदेशका सहर धेरै नै सम्पन्न छन् । उनीहरूको दाँजोमा पुग्न हामीलाई धेरै समय लाग्छ । मैले घुमेका अधिकांश सहर आधुनिक अवधारणामा बनेका छन् । हाम्रा सहर आधुनिक ढंगले बनेका छैनन्। 

हाम्रा सहर आधुनिक बन्न सक्लान् त ? 
ऐतिहासिक पक्षलाई हेर्ने हो भने हाम्रा सहर विश्वमै नमुना हुन सक्छन् । यहाँका सहरको ऐतिहासिक पक्ष बलियो छ । विदेशका धेरै सहर मानिसले नै सिँगारेका हुन् । हामीले खानेपानी, फराकिला सडक, बिजुली, यातायातलगायत सुविधा पाएका छैनौँ । सरकारले योजना बनाएर काम नगर्दा र योजना कार्यान्वयन नहुँदा समस्या भएको हो । 

सरकारले कसरी काम गर्दा सहर व्यवस्थित होला ?
यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहोर समयमै उठाउने, सरकारी सेवा–सुविधालाई चुस्त बनाउने, देशभित्रका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित बन्छन् । 

उपत्यकालाई सुधार्न के गर्नुपर्ला ?
सडक निर्माण, पार्किङ  बिजुलीका तार व्यवस्थापन, ट्राफिक जामलगायत विषय नै उपत्यकाका मुख्य समस्या हुन् । यी समस्यालाई नीतिगत तहमा बस्नेले समाधान गर्नुपर्छ ।

उपत्यकाको मनपर्ने पक्ष के हो ? 
यहाँको मौसम र ऐतिहासिक मठ–मन्दिर ज्यादै मनपर्छ । मठ–मन्दिर हाम्रा मुख्य सम्पत्ति हुन् । 

यहाँको मननपर्ने पक्ष के हो ? 
धुँवाधुलो, ट्राफिक जाम, सडकका खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ मनपर्दैन । 

नेपाली र विकसित मुलुकका सहरमा के भिन्नता छ ?
मैले विश्वका ५० भन्दा बढी मुलुकका सहर घुमेकी छु । घुमेका धेरै सहर सफा थिए । आधुनिक थिए । आधुनिक सहरीकरणमा हामी निकै पछाडि छौँ । पुरातात्विक र प्राकृतिक हिसाबले हामी अरुभन्दा धनी छौँ । 

५० मुलुक घुम्दा सबैभन्दा व्यवस्थित कुन सहर लाग्यो ? 
मलाई अमेरिकाको न्युयोर्क, अस्ट्रेलियाको मेलबर्न, अमेरिकाको सिकागो, जापानको टोकियो, भुटानको थिम्पु, हङकङ, रसियाको मस्को, फ्रान्सको पेरिस, अमेरिकाकै मेरिल्यान्ड, चीनको बेइजिङ, थाइल्यान्डको बैंकक, बेलायतको लन्डनलगायत सहर व्यवस्थित लाग्यो । 

तपाईंलाई काठमाडौंमा पाइनेमध्ये मनपर्ने खानेकुरा के हो ? 
मलाई घरमै बनाएको दाल, भात, तरकारी र अचार मीठो लाग्छ । 
प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २० कार्तिक २०७४ ०७:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App