१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तनहुँमा पौडेललाई सहज

सन्तोष पोखरेल/श्रीहरि पौडेल
पोखरा/तनहुँ – कांग्रेसभित्र कुनै बेलाका प्रभावशाली नेताका रूपमा गोविन्दराज जोशीको उम्मेदवारी खारेज भएसँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलाई निर्वाचन मैदानमा उत्रन सहज देखिएको छ। 

पौडेलले तनहुँ–१ बाट उम्मेदवारी दिएका छन् । प्रधानमन्त्रीका दाबेदार भइसकेका पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । जोशीले आफूले मागेको क्षेत्रबाट उम्मेदवारी नपाएपछि पौडेलविरुद्ध खुलेआम उत्रेर निर्वाचनमा उम्मेदवारी दिएका थिए। 

तर, निर्वाचन आयोगले शनिबार जोशीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । सार्वजनिक पदमा रहेर जिम्मेवारी सम्हाल्दा जोशीले भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको फैसला विशेष अदालतले गरेको थियो । उनले पुनरावेदनका लागि दिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जोशीको उम्मेदवारी खारेजीसँगै चुनावी मैदानमा पौडेललाई सहज भएको स्थानीय बुद्धिजीवीले बताएका छन्। 

स्थानीय विश्लेषक कमलामोहन वाग्लेले पौडेलको विजय अब सुनिश्चित रहेको बताए । ‘जोशी ब्याक हुनासाथ त्यसको फाइदा पौडेललाई भएको छ,’ उनले भने । वाग्लेका अनुसार अहिले क्षेत्र विभाजन हुँदा तनहुँ–१ कांग्रेस बाहुल्य मानिन्छ । ब्यास नगरपालिकाको अधिकांश भूभागसहित क्यामिन, घाँसीकुवा लगायतका क्षेत्र त्यसमा पर्छन्। 

‘जोशीको उम्मेदवारी खारेज भएपछि पौडेल पक्षको मत काटिने सम्भावना रहेन । जोशी उम्मेदवार रहिरहेको भए करिब ८ हजार मतको असर पर्दथ्यो,’ उनले भने, ‘तर अब ती सबै मत अब पौडेलले पाउनेछन्।’ 

वाग्लेको विश्लेषणमा जोशीले आगामी दिनमा पौडेलविरुद्ध कुनै रुपमा विरोध गरे पनि मतदाताले साथ दिँदैनन् । ‘जोशी उम्मेदवार रहिरहेको भए मात्र कार्यकर्ता निकट हुनसक्थे । तर, जोशीको उम्मेदवारी नै कायम नरहेपछि अब कांग्रेसका सबै कार्यकर्ता पौडेललाई मत दिन बाध्य भए,’ उनले भने। 

पौडेलले जोशी पक्षका कार्यकर्तालाई अब एकपटक सम्बोधन गनुपर्ने वाग्लेको भनाइ छ । ‘पौडेल आफैंमा उम्मेदवार पनि हो । जोशीका कार्यकर्ता रुष्ट हुनुको कारण खोजेर त्यसलाई सम्बोधन गर्नुपर्छ । जोशीलाई लागेको आरोपबाट कार्यकर्तालाई सन्तुष्ट पानुपर्छ,’ वाग्लेले भने। 

प्रदेश–४ मा लोकतान्त्रिक पक्षका सबैभन्दा ‘हेभिवेट’ नेताका रूपमा कांग्रेसका पौडेल छन् । पौडेल २०४८ मा तनहुँ–१ र त्यसपछिका सबै निर्वाचनमा तनहुँ–२ बाट उम्मेदवार बनेर जित्दै आएका उम्मेदवार हुन् । साबिक ३ क्षेत्र रहेको तनहुँ अहिले २ वटामा खुम्चिएको छ । दुई क्षेत्रमा खुम्चिएपछि पौडेल तनहँु–१ बाट उम्मेदवार बनेका छन् । तनहुँ–२ का करिब ७५ हजार मतदातामध्ये करिब ४१ हजार मतदाता अहिले पौडेलको क्षेत्रबाट मतदान गर्दैछन् । बाँकी ३४ हजार मतदाता तनहुँ–२ मा मिसिएका छन्। 

वाग्लेका अनुसार जोशी तनहुँ– १ का बलियो उम्मेदवारका रुपमा थिए । जोशीले यसअघि तनहुँ–१ बाट उम्मेदवार बनेर निर्वाचनमा जित हासिल गरिसकेका छन् । २०४८ सालमा जोशी तनहुँ–२ र पौडेल तनहुँ–१ का उम्मेदवार हुन् । त्यस बेला दुवैले जितेका थिए । २०५१ मा जोशीले  १ र पौडेलले २ बाट जितेका थिए । पहिलो संविधानसभा निर्वाचनमा जोशी १ र पौडेलले २ बाटै उम्मेदवारी दिँदा जोशीले हारेका थिए ।  पौडेलले जितेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा पौडेलले २ नम्बरमा उम्मेदवारी दिएर जितेका थिए । अहिले क्षेत्र परिवर्तन भएर पहिलेको १ को पूरै र २ का केही भाग तनहुँ– १ मा परेका छन । त्यस्तै २ को केही भाग पहिलेको ३ नम्बर पूरै तनहुँ–२ मा पर्छ। 

स्वतन्त्र उम्मेदवारी दिएका जोशीले आफैं आधिकारिक उम्मेदवार भनेर हिँडिरहेका बेला कांग्रेस कार्यकर्ता अन्योलमा परेका थिए । उम्मेदवारी खारेज भएपछि जोशीले आइतबार दमौलीमा पत्रकार भेटघाट गरेर निर्वाचन आयोगले अप्रजातान्त्रिक र असंवैधानिक निर्णय गरेको आरोप लगाए । सधैंजसो पौडेलप्रति आक्रामक रूपमा टिप्पणी गर्ने जोशीले आइतबार पौडेलविरुद्ध केही बोलेनन्। 

‘उम्मेदवारी रद्द भयो भन्नेबारेमा सञ्चारमाध्यममा सुने पनि आयोगले अहिलेसम्म कुनै जानकारी गराएको छैन,’ जोशीले भने, ‘न्यायको सिद्धान्तका आधारमा पनि जुनसुकै निकायले कसैको बारेमा केही निर्णय गर्दा सम्बन्धित पक्षलाई बोलाएर जानकारी दिनुपर्ने हुन्छ । तर, आयोगले मलाई कुनै खबर गरेको छैन।’ 

आयोगको निर्णयका विरुद्ध के गर्ने भन्ने बारेमा कानुनविद्सँग छलफल गरिरहेको उनले जानकारी दिए । चुनाव अदालतले नभई आयोगले गर्ने हुँदा आयोगको निष्पक्षतामाथि विश्वास उडेको समेत उनले बताए । ‘अदालतले चुनाव गराउने भए म आजै अदालत जान्थें तर चुनाव निर्वाचन आयोगले गराउने हो,’ उनले भने।

प्रकाशित: २० कार्तिक २०७४ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App