पाँच दशकअघि जितप्रसाद द्वा, हरिप्रसाद द्वाले बुटवलको कालिकाचोकमा ‘कालिका चलचित्र मन्दिर’ खोले । अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन् उसबेला । नेपाल टेलिभिजनसमेत स्थापना भएको थिएन । मनोरञ्जनको साधन भनेकै रेडियो थियो । त्यो जमानामा द्वा परिवारमा आइडिया पुर्यो– मनोरञ्जन उद्योगमा हात हाल्ने । त्यसकै परिणाम थियो कालिका चलचित्र मन्दिर । २०३४ सालमा सुरु गरिएको चलचित्र मन्दिर २०३६ मा निर्माण सकियो । चलचित्र मन्दिरमा फिल्म हेर्न आउनेको ताँति लाग्न थाल्यो । कुनै कुनै फिल्म त तीन महिनासम्म चल्न थाले । गाउँ गाउँबाट बस रिजर्भ गरेर फिल्म हेर्न आउँथे । टिकट काट्न मारामार हुन्थ्यो ।
बुटवलमा फिल्म हल सोचेभन्दा राम्रो चल्न थालेपछि जीतप्रसाद द्वालाई लाग्यो, पोखरामा फिल्म हल किन नखोल्ने ? त्यसपछि उनी कस्सिएर लागे । २०४० सालमा फिल्म हल निर्माण सुरु गरे । २०४१ साल कात्र्तिक २२ गते सुरु भयो– विन्ध्यावासिनी फिल्म हल । त्यतिबेला पोखरामा कल्पना, पूर्णिमा र दीपज्योति फिल्म हल थिए । चार वटा फिल्म हलको दह्रो प्रतिस्पर्धा हुन्थ्यो । कलेज पढ्दापढ्दै जीतप्रसादका छोरा उत्तम द्वाले हल व्यवस्थापन हेर्न थाले । द्वा परिवारको फिल्म हल व्यवसाय छोरा पुस्तामा स¥यो । त्यतिबेला फिल्म हलमा दर्शकको भिडभाड कहिल्यै घटेन । फिल्म हलहरुमा नयाँ फिल्म फेरिँदाको दिन ठूलै मेला लाग्थ्यो । टोले दादाहरुले आफ्नो शक्ति देखाउने मुख्य थलो नै फिल्म हल हुन्थे । किनभने मान्छे सबैभन्दा बढी एकै चोटि जम्मा हुने ठाउँ नै फिल्म हल थियो । फिल्म हेर्नका लागि सर्वसाधारणले टोले दादाको मन जित्नुपर्ने बाध्यता थियो । टिकट लिनका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता भएपछि सर्वसाधारण ब्ल्याक टिकट किन्थे ।
‘फिल्महरु यति राम्रो चल्थे कि विन्ध्यावासिनी फिल्म हलको वरपर गाउँगाउँबाट आएका मान्छेले रिजर्भ गरेर ल्याएका १५/२० वटा गाडीको लाइन हुन्थ्यो,’ पोखराको एक मात्र पुराना फिल्म हल व्यवसायी उत्तम द्वा भन्छन्, ‘तीन महिनासम्म एउटै फिल्म चल्थ्यो । त्यो बीचमा राम्रा फिल्म आए पनि चलाउन पाइन्थेन ।’
उत्तम द्वा र उनको परिवार फिल्म र हलको व्यवसायमा लागेको लामो समय भैसक्यो । यो यात्राले अझ फड्को मार्ने तयारीमा छ । फिल्म हल व्यवसायको बाटो जीतप्रसाद द्वाले खोले पनि यसको फराकिलो बाटो बनाउने मुख्य श्रेय उनै उत्तम द्वालाई नै जान्छ ।
उनले हल व्यवसायलाई आफ्नो काँधमा ल्याएपछि नै हो विध्यवासिनी हलकै परिसरमा तीन वटा नयाँ फिल्म हल थपिए । विन्ध्यवासिनी फिल्म हलमा नेपाली फिल्म लामो समयसम्म चल्न थालेपछि दर्शक, आफन्त र साथीभाइले उत्तम द्वालाई भन्न थाले– हिन्दी फिल्म खै चलाएको ? त्यतिबेला विन्ध्यवासिनी मुख्यतः नेपाली फिल्म देखाउने हलको रुपमा चिनिएको थियो । उत्तमलाई यस्ता सोधाइले झक्झकाइरह्यो । विकल्पमा उनले हिन्दी फिल्म मात्रै देखाउने योजनाका साथ श्रीकृष्ण चलचित्र मन्दिर खोले, तेर्सापट्टीमा । जस्तो सोचेका थिए, उत्तमले त्यस्तै भयो । फिल्म हल गजबले चल्न थाल्यो । उत्तम अझ हौसिए– अनि थपे बाराही क र ख गरेर दुई वटा अत्याधुनिक दुई वटा पर्दा । उत्तमले हलको जिम्मेवारी आफ्नो काँधमा लिएको झन्डै ३४ वर्ष भैसक्यो ।
पोखराको इतिहास हेर्ने हो भने यहाँ धेरै सिनेमा हलहरु खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । दीपज्योति, अन्नपूर्ण र महालक्ष्मी सिनेमा हल बन्द भइसकेका छन् । अन्य पनि खुल्दै बन्द हुँदै गरे । २०५१÷५२ साल त नेपाली फिल्मका लागि स्वर्ण युग नै थियो । फिल्म यति धेरै चल्थे कि हल व्यवसायीलाई पनि गजबको मुनाफा हुन्थ्यो । २०५२ सालमा माओवादी जनयुद्ध सुरु भएपछि त्यसले केही असर पार्न थाल्यो । २०५८ देखि २०६६ सम्म त अन्य व्यवसायजस्तै सिनेमा हलको व्यवसाय पनि चौपट भयो । थुप्रै संकट आइपरे तर उत्तम द्वा डगमगाएनन् । बरु झन् बढी यही क्षेत्रमा सम्भावना देखे ।
‘जनयुद्धताका कुनै दिन १६ सय रुपैयाँको व्यापार हुन्थ्यो तर फिल्म देखाउन छाडेनौँ । निकै दुःख भोग्यौँ । धेरैले आफूले गर्दै आएको व्यवसाय छाड्दै पलायन पनि भए तर हामीले हिम्मत हारेनौँ,’ उत्तमले सिनेमा हलको त्यो कहालिलाग्दो दिन सम्झदै भने, ‘एक न एक दिन कसो राम्रो नहोला भन्दै हामीले झन् बढी मिहिनेत ग¥यौँ । अहिले दिन फर्किएको छ । यतिबेला फिल्म हलको व्यवसाय मालामाल छ ।’
द्वा परिवारले फिल्म क्षेत्रसँगै अन्य विधामा पनि लगानी विस्तार गरिसकेको छ । अहिलेसम्म यस व्यावसायिक घरानाले पोखरासँगै लेखनाथमा बाराही मुभी स्टुडियोसँगै एफडि कम्पनी र डिसिएनजस्ता फिल्म वितरण कम्पनीमा लगानी गरेको छ । बुटवलमा कालिका सिनेमा हल त अझैसम्म चलिरहेकै छ । फिल्म क्षेत्रबाहेक उत्तम वस्त्र भण्डारमार्फत ६० वर्ष यता कपडाको आयात पनि यो परिवारले गर्दैआएको छ । ‘पोखरालाई फिल्मसिटी बनाउने परिकल्पनासहित नै हामीले लेखनाथमा बाराही स्टुडियो सञ्चालनमा ल्याएका थियौँ । अहिलेसम्म हामीले गरेको लगानी उठाउन सकेका छैनौं,’ उत्तम द्वाले भने, ‘अब यसलाई अन्य कुनै व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने सुरमा छौं ।’
द्वा परिवारको फिल्म हल व्यवसाय अब तेस्रो पुस्तामा सरेको छ । उत्तम द्वासँगै उनका छोरा पुस्ता यो व्यवसायमा सक्रिय हुन थालेको छ । द्वा परिवारले पछिल्लो पटक पोखराको सभागृह चोकनजिकै ‘मिडटाउन ग्यालरिया’ हल सञ्चालनमा ल्याएको छ । व्यावसायिक मलका रुपमा खोलिएको यस ग्यालरियामा करिब ३० करोड रुपैयाँ खर्च गरिएको छ । द्वा परिवारले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिँदै यो मलमा ‘मिडटाउन सिनेमाज’ नाम दिएर दुई वटा अत्याधुनिक मल्टिप्लेक्स सञ्चालनमा ल्याएको छ । हल व्यवसाय अहिले नाति पुस्तासम्म आइपुगेको छ र यसलाई निकेश द्वाले सम्हालिरहेका छन् । ‘मिडटाउन ग्यालरिया’का म्यानेजिङ डाइरेक्टर निकेशले हलसँगै ३० वटा भन्दा बढी ब्रान्डका १४ वटा व्यावसायिक प्रतिष्ठानलाई थलो र सुविधा दिँदै व्यापार गरिरहेका छन् ।
‘बाजेले आफ्नो परिवेश अनुसारको व्यवसाय शुरुवात गर्नुभयो । हामीले समयअनुसार नै त्यही व्यवसायलाई परिस्कृत गर्दै ल्याएका छौँ,’ निकेशले भन्छन्, ‘यो सिलसिला अझै अगाडि बढ्दै जानेछ ।’
‘मिडटाउन ग्यालरिया’ सञ्चालन गर्न उनलाई निकै गाह्रो भयो । पोखराको मापदण्डअनुसार ३५ फिटभन्दा अग्लो भवन बनाउन नपाइने भएकाले पोखरा लेखनाथ महानगरपालिकाबाट नक्सा पास भएन । २०६७ मै ‘मिडटाउन ग्यालरिया’ दर्ता भए पनि यो काम गर्न चार वर्ष लाग्यो । उनीहरुले निकै झन्झटिलो अवस्था पार गर्दै नगर विकास समितिबाट अनुमति लिएर यो ‘ग्यालरिया’ बनाएका हुन् । द्वा परिवारले पछिल्लो पटक लञ्च गरेको फिल्म हल र मल अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सबैभन्दा पछिल्लो ‘टेक्नोलोजी’मा आधारित हो । उनीहरुको यो हल व्यवसाय नयाँ प्रविधिसँगै फैलनेवाला छ । बजारमा जति पनि नयाँ प्रविधि आए, त्योअनुसार अपडेट भएर नै अहिलेसम्म हल व्यवसायमा टिकेको अनुभव सुनाउँछन् उत्तम द्वा । ‘अन्य फिल्म हलले कसैलाई भाडामा दिएर चलाएका छन्, कुनै हलमा च्याउ खेतीदेखि खुकुरापालनसम्म भयो तर हामी बद्लिएको प्रविधिअनुसार काम गरेकाले निरन्तर हुन सक्यौं,’ उत्तम भन्छन्, ‘हामीले सञ्चालनमा ल्याएका सबै हललाई २०६६ सालमा डिजिटल प्रविधियुक्त हल बनायौं । यसले धेरै सजिलो भयो ।’
मिहिनेत र निरन्तरताले नै द्वा परिवारलाई अहिलेको स्थितिमा ल्याएको उत्तम बताउँछन् । अहिले फिल्म हलको व्यवसायले कोल्टे फेरेको छ । असाध्यै राम्रो व्यापार हुन थालेको छ । व्यवसायबाट हौसिएको द्वा परिवारले छिट्टै बुटवल, भैरहवा र नारायणगढमा मिडटाउन ग्यालरियालाई विस्तार गर्ने योजना बुनिरहेको छ ।
द्वा परिवारले अहिलेसम्म फिल्म हल व्यवसायमा करिब एक अर्ब जति लगानी गरिसकेको दाबी छ । उनीहरुको फिल्म हलको व्यवसाय नाति पुस्ता मात्रै हैन ज्वाइँहरुमा पनि सरेको छ । द्वा परिवारका ज्वाइँहरुले नारायणगढ र दाङमा समेत फिल्म हल सञ्चालन गरेका छन् ।
प्रकाशित: १९ कार्तिक २०७४ ०४:५९ आइतबार