१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पुनर्गठनपछि कबड्डी विवादमा

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापाको अध्यक्षतामा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल कबड्डी संघ पुनर्गठन गरेपछि विवादले नयाँ मोड लिएको छ। लामो समयदेखि समानान्तर संघको लडाइँ भोग्दै आएको कबड्डीमा राखेपको यो निर्णयपछि तेस्रो संघ अस्तित्वमा आएको छ। यसअघि लालकुमार लामा नेतृत्वको संघलाई राखेपको मान्यता थियो भने सुनील राजकर्णिकार अध्यक्ष रहेको संघलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को आशीर्वाद थियो। दुई समानान्तर संघको अस्तित्वका कारण कबड्डी खेलको विकास संकटमा परेको कारण पुनर्गठन गर्नुपरेको राखेपले जनाएको थियो। कबड्डीमा देखिएको दोहोरो संघको अस्तित्व समाप्त पार्न सवै पक्षको सल्लाहमा बिहीबार पुनर्गठन गरिएको बताइएको थियो। 

तर राखेपकै मान्यताप्राप्त संघका अध्यक्ष लालकुमार लामाले भने आफूहरूसँग कुनै छलफल नभएको दाबी गरेका छन्। राखेपले एकलौटी ढंगमा पुनर्गठन गरेर खेलकुदमा एमालेकरण गर्न लागेको बताउँदै लामाले नागरिकसँग भने, 'हामीसँग कुनै छलफल भएको छैन। हामीले निर्वाचनका लागि बारम्बार समय माग्दा पनि राखेपले अनुमति दिइरहेको थिएन। सुरुमा निर्वाचनका लागि मौखिक अनुमति दिए पनि पछि फेरि पत्र काटेर राखेपले तत्काल ६ महिनाका लागि स्थगित गर्नू भन्ने निर्देशन दिएको थियो।'

राखेपको वर्तमान नेतृत्वमाथि एनओसीसँगको साँठगाँठमा पदावधि सकिएका संघहरूलाई निर्वाचनको अनुमति नदिने र त्यसपछि पुनर्गठन गरेर आफूअनुकूल भर्ती गर्ने आरोप छ। बक्सिङ, क्रिकेट, टेबलटेनिस लगायतका संघहरूमा राखेप र एनओसीकै मिलोमतोमा योजनाबद्ध ढंगमा अस्थिरता ल्याइएको लामा दाबी गर्छन्।

'राखेपले एकलौटी रूपमा गरिरहेका यस्ता निर्णयप्रति हामी घोर आपत्ति प्रकट गर्दछौं,' राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध लामाले भने, 'एमालेले आफू सत्तामा हुँदा खेलकुदलाई पार्टीकरण गर्ने हो भने भोलि आउने सरकारले पनि खेलकुदबाट एमालेलाई निमिट्यान्न पार्न सक्छ। खेलकुद भनेको पार्टीको राजनीति गर्ने ठाउँ होइन। यो राष्ट्रको झन्डा बोक्ने गौरवमय क्षेत्र हो।'

एमाले नेतापत्नीको अध्यक्षतामा राखेपले बिहीबार २० सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गर्दा लामालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको थियो। संघको उपाध्यक्षमा भीम केसी र संगीता हमाल, महासचिवमा विनोद प्रजापती, सचिवमा पटना महर्जन र कोषाध्यक्षमा अरविन्द झा रहेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले नागरिकलाई जानकारी गराएका थिए। दाहालका अनुसार सदस्यहरुमा पर्शुराम झा, पशुपति प्रजापती, चेतनारायण शर्मा, आरती लामा, शिव शैजु, प्रेम प्रधान, कृष्णदेव पन्त, उपेन्द्र यादव, सुनीलकुमार झा, वीरेन्द्रकुमार यादव र धीरेन्द्र राजवंशी छन्। बाँकी दुई सदस्य राखेपले पछि थप्ने जनाइएको छ।

विगतमा राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवादका कारण कबड्डी संघको दोहोरो अस्तित्व थियो। एनओसीले मान्यता दिएको कबड्डी संघका अध्यक्ष राजकर्णिकार पछिल्लो केही वर्षदेखि अमेरिकामा छन्। उनी अमेरिका पलायन भएदेखि संघ निस्त्रि्कय थियो।

ब्राजिलको रियो दी जेनेरियोमा यही अगस्ट ५ बाट सुरु हुने गृष्मकालीन ओलम्पिकमा नेपाली टोलीको सेभ दी मिसनको हैसियतमा राखेपका सदस्यसचिव केशवकुमार विष्ट अहिले ब्राजिल पुगेका छन्। उनी फर्किएपछि अरु पनि केही संघमा 'डन्डा' लगाउने राखेपको योजना रहेको बताइएको छ।

प्रकाशित: १८ श्रावण २०७३ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App