१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भिड्ने नै भए विमलेन्द्र निधि र राजेन्द्र महतो

जनकपुर— अगामी मंसिर २१ गते दोस्रो चरणमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पूर्व गृहमन्त्री एंव नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र राजपा नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो आमने–सामने हुने भएका छन्।

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट बिहीबार निधि र महतोले मनोनयनपत्र दर्ता गराएका छन्। काँग्रेस नेता निधि पहिलो र दोस्रो संविधानसभामा यसै क्षेत्रबाट निर्वाचित भएका थिए भने महतो २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा सर्लाहीबाट तत्कालीन तमसपा अध्यक्ष महेन्द्रराय यादवसँग पराजित भएका थिए। उक्त क्षेत्रबाट अहिले राजपामै रहेका यादवले पुनः उम्मेदवारी दिएपछि महतो धनुषा आएका हुन्।

‘जनकपुर मधेश आन्दोलनको उद्गम स्थल हो’ उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका महतोले भने, ‘मधेशको राजधानी जनकपुरको गरिमालाई संरक्षण गर्न मेरो उम्मेदवारी हो ।’

पछिल्लो समय राष्ट्रिय राजनीतिमा बढी व्यस्त रहने निधिले बिहीबार दलबलसहित जिल्ला निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराए। जिल्लाका अन्य क्षेत्रबाट चयन भएका उम्मेदवारहरुलाई साथमै लिएर उनी निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। मनोनयन पत्र दर्ता गराएर निधि बाहिरिए लगत्तै उनको प्रतिस्पर्धीको रुपमा राजपा नेता राजेन्द्र महतो बाजागाजा साथ निर्वाचन कार्यालय पुगेका थिए।

पुख्र्यौली गाउँ रहेको आफ्नो पुरानै क्षेत्रबाट गणतन्त्र आएयता तेस्रो पटक उम्मेदवार भएका निधिले आफ्नो प्रतिस्पर्धामा जो कोही पनि आउन सक्ने बताउँदै महतो प्रतिस्पर्धी भएकोमा कुनै गुनासो नरहेको बताए। ‘राजनीतिमा लागेका जो कोहीले जुनसुकै क्षेत्रबाट चुनाव लड्न पाउने अधिकार सबैलाई छ’ उम्मेदवारी दर्तापछि संवाददातासँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘म राजनीतिमा पछि लागेको हुँ, त्यस अघिदेखि यस क्षेत्रको बासिन्दा रहेकोले पनि चुनावमा मप्रति जनसमर्थन रहनेछ।’

महतोले भने जनकपुर मधेश आन्दोलनको केन्द्र भएको नाताले यसक्षेत्रमा मधेशवादीको अधिकार रहने दावी गरे। ‘जनकपुर मधेश आन्दोलनको उद्गम स्थल हो’ उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका महतोले भने, ‘मधेशको राजधानी जनकपुरको गरिमालाई संरक्षण गर्न मेरो उम्मेदवारी हो ।’

आफु निर्वाचन अधिकृतको कार्यालय आइपुग्नु अगावै आफ्नो मनोनयन पत्र दर्ता गराएर फर्किसकेका निधिप्रति महतो आक्रोसित देखिन्थे। मधेश आन्दोलन क्रममा प्रदर्शनकारीमाथि चरम दमन गरेको आरोप लगाउँदै उनले भने, ‘मधेशको अधिकारका लागि आन्दोलनमा रहेका निहत्था जनतामाथि मलेठमा तिनै निधिको आदेशमा गोली हानियो, अब जनताले त्यसको जवाफ ब्यालेटबाट माग्नेछ।’

मधेश आन्दोलन जारी रहेको दावी गर्दै महतोले चुनावलाई पनि आन्दोलनकै एक स्वरुप मानेर अघि बढिरहेको बताए। मधेश विरोधी संविधान ल्याएको र आन्दोलनकारीमाथि दमन गरेकोले मधेशी जनता निधिको विपक्षमा उभिने दावी महतोको छ।

प्रकाशित: १६ कार्तिक २०७४ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App