१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन आग्रह

खोटाङ – खोटाङका अधिकारकर्मी लगायतले हिंसा पीडित महिला तथा बालबालिकाको पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरेका छन् । जिल्ला कानुनी सहायता समिति सामाजिक कानूनी सहायता केन्द्रले दिक्तेलस्थित होटल इन्द्रेणीमा आयोजना गरेको महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्ने विषयमा सरोकारवाला निकाय र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले पीडित महिला तथा बालबालिकामैत्री कलम चलाउन पत्रकारलाई आग्रह गरेका हुन्। 

बलात्कारमा परेका, कुटपिटमा परेका, हिंसामा परेका, दुव्र्यवहारमा परेका महिला तथा बालबालिकाको घटना कमै मात्रामा सञ्चार माध्यममा आउने गरेको उल्लेख गर्दै सहभागीले पत्रकारलाई महिला तथा बालबालिका विरुद्धको अपराध उजागर गर्न भनेका हुन् । महिला रक्षक सञ्जालकी अध्यक्ष रेखा राईले कतिपय पीडित महिला तथा बालबालिकाको अवस्थाका विषयमा पत्रकारले बेवास्ता गर्दा पीडित थप पीडित भएको बताए । ‘कुनै–कुनै हिंसा पीडित महिला दर्दनाक अवस्थामा भौतारिरहेका हुन्छन्,’ अधिकारकर्मी राईले भनिन्, ‘त्यस्ता पीडितलाई पत्रकारले देख्नु पर्छ, उनीहरूको पीडा लेखिनु पर्छ।’ 

जिल्लामा क्रियाशिल पत्रकारहरूले हिंसा पीडित महिला तथा बालबालिकाका मुद्दालाई प्राथमिकताका साथ स्थान दिने गरेको बताएका छन् । दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख प्राध्यपक हिराकुमार राईले पीडित महिला तथा बालबालिकाको न्यायको विषयमा आवाज उठ्ने गरे पनि उनीहरूलाई संरक्षणका लागि राख्ने सुरक्षित स्थान नहुँदा पीडित मारमा परिरहेको उल्लेख गरे।

२०७२ साल साउन १६ गते स्थापना भएको कानूनी सहायता केन्द्रको सहयोगमा हालसम्म महिला तथा बालबालिका सम्वन्धी २०८ मुद्धा दर्ता भएको केन्द्रका प्रमुख चन्द्रबहादुर खड्काले बताए। कानूनी सहायता केन्द्रले कानूनी शासन तथा मानव अधिकार संरक्षण प्रणाली सवलीकरण कार्यक्रम÷यूएनडिपीको सहयोगमा कार्यक्रम गरेको हो। 

प्रकाशित: १६ कार्तिक २०७४ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App