१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देशलाई संकटमा लगिँदैछ : प्रधानमन्त्री

काठमाडौं- नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयभित्र संविधान कार्यान्वयन नगरेर देशलाई संकटमा लैजान खोजिएको बताएका छन्। पुराना वामपन्थी नेता तुलसीलाल अमात्य स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–माओवादी गठबन्धनले निर्धारित समयभित्र निर्वाचन गराउनेमा शंका व्यक्त गरे।

चैत–वैशाखमा सरकार फेर्ने सहमति गरेका कारण त्यतिबेला निर्वाचन हुन नसक्ने तर्क गर्दै उनले भने, 'मन्त्री को हुने भनेर बैठकमा हेलमेट लगाएर बस्नुपर्ने अवस्था हुन्छ, अनि कसरी हुन्छ चुनाव?' २०७४ माघभित्र तीनै तहको निर्वाचन हुन नसके देश संवैधानिक संकटमा फस्ने भन्दै उनले एमालेले त्यस्तो हुन नदिने बताए।

'वैधानिक र राजनीतिक रिक्ततामा देशलाई फसाएर पछाडि धकेल्ने षड्यन्त्रलाई एमालेले सफल हुने दिने छैन,' ओलीले भने, 'एमालेजस्तो पार्टी छँदाछँदै देशलाई पछाडि फर्काउने दिशामा लान खोज्नेहरू जनताको कोपभाजनमा पर्नेछन्।'

आफ्नो नेतृत्वको सरकारले तीन चरणमा गरी अर्को मंसिरसम्मको चुनावसहित संविधान कार्यान्वयनका तालिका सार्वजनिक गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, 'संविधान कार्यान्वयनका लागि ऐन–कानुन संशोधन गर्न लागेको समयमा कांग्रेस–माओवादी नेताले कर्मचारीलाई फोन गरेर काम गर्न पाउँदैनौं भन्दै रोक्ने काम गरेका छन्।' प्रधानमन्त्री ओलीले यस्तो कार्य संविधान कार्यान्वयन नगर्ने षड्यन्त्र भएको दाबी गरे।

उनले संविधान च्यात्ने, जलाउने र पुनर्लेखनको माग गर्नेहरू सरकारमा जान लागेकाले पनि संविधान कार्यान्वयन नहुने बताए। आफूले तमसुकभन्दा लामो पत्र लेखेर बोलाउँदा पनि मधेसवादी दल वार्तामा नआएको उनको भनाइ थियो। मधेसवादी दलले उठाएको माग पूरा भइसकेको भन्दै उनले एमालेविरुद्ध भोट दिनुपर्‍यो भने कुदेर संसद् आउने गरेको सुनाए। ‘अब माग के छ? संसद्मा आइसक्नुभएको छ, सरकारमा जान लाइनमा बस्नुभएको छ,' उनले भने।

मधेसी दलले माग गरेजस्तो अंगीकृत नागरिकलाई शीर्ष नेतृत्वमा पुग्ने व्यवस्था गर्न नसकिने उनले बताए। मधेसवादी दलको बाँकी माग दाहाल र शेरबहादुर देउवाले पूरा गर्न नसक्ने भन्दै उनले थपे, 'के माग पूरा गर्नु हुँदोरहेछ हेरौंला। मधेस तपाईंहरू (मधेसवादी) दलको हो भनेर सही छाप गरिदिने?'

कार्यक्रममा एमाले नेता माधवकुमार नेपाल, नेकपा संयुक्तका अध्यक्ष गणेश साहलगायतले सम्बोधान गरेका थिए।

प्रकाशित: १८ श्रावण २०७३ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App