१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

असन्तुष्ट फकाउँदै वाम गठबन्धन

खोटाङ- खोटाङमा वाम गठबन्धनबाट एमाले र माओबादी केन्द्रका जिल्ला तहका नेता उत्साहित भए पनि तल्लो तहका कतिपय कार्यकर्ता अझै पनि असन्तुष्ट छन् । फरक पार्टीबाट संघर्ष गर्दै आएका तल्ला तहका कार्यकर्ता चुनावी तालमेलकाक्रममा एकले अर्काको चुनाव चिन्हमा भोट दिनुपर्ने अवस्था आएपछि अप्ठ्यारो पनि महसुस गरिरहेका छन्।

चुनावी तालमेल र वाम गठबन्धनको उद्ध्श्य र औचित्यका विषयमा स्पष्ट नबनाए चुनावी तालमेलबाट असन्तुष्ट कार्यकर्ता बिच्किने खतरा छ । कतिपय तल्ला कार्यकर्ताबीचमा पुराना कुरालाई लिएर एकले अर्कालाई स्वीकार नगर्ने अवस्था पनि छ । त्यही मनोविज्ञानलाई ध्यानमा राखेर खोटाङका वामगठबन्धले दुवै खालका कार्यकर्ता मिलाउन संयुक्त कार्यक्रम थालेको छ ।

भेटघाट लगायतका माध्यमबाट वाम गठबन्धन पार्टीले संयुक्त चुनावीसभासँगै दुई पार्टीका कार्यकर्तालाई एक बनाउन अन्तरघुलन एवं प्रशिक्षण अभियान थालेको हो । निर्वाचनको तयारीमा गत कात्तिक ७ गते सदरमुकाम दिक्तेलमा अन्तरघुलन एवं संयुक्त अगुवा कार्यकर्ता भेला थालेको गठबन्धनले सोमबारदेखि सो कार्यक्रमलाई नगरपालिका र गाउँपालिकामा पु¥याएको छ । सोमबार हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, लामीडाँडा गाउँपालिकाको कुभिन्डे र बराहपोखरी गाउँपालिकाको बराहपोखरीबाट संयुक्त अन्तरघुलन तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइएको एमाले खोटाङका उपसचिव कुमार आचार्यले बताए ।

एकातिर प्रदेश र प्रतिनिधिसभाको चुनावको तयारीमा चुनावी सभा अर्कातिर अन्तरघुलन कार्यक्रम सँगसँगै अघि बढाइएको गठबन्धनले जनाएको छ । ‘पार्टी एकताको औचित्य स्पष्ट पार्दै माओवादी कार्यकर्तालाई सूर्यमा भोट हाल्न तयार पर्ने र एमाले कार्यकर्तालाई गोलाकारभित्रको हँसियाहथौडामा भोट हाल्न तयार पार्नका लागि निर्वाचन अघि अन्तरघुलन कार्यक्रम गर्नु परेको हो,’ उपसचिव आचार्यले भने, ‘विगतमा दुई पार्टीका कार्यकर्ताबीचमा जस्तोसुकै कटुता, तिक्तता भए पनि त्यसलाई बिर्सिएर एकले अर्कालाई स्वीकार गर्ने वातावरण बनाउन संयुक्त अभियान बनाइएको हो ।’

वाम गठबन्धनले बुधबार ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, केपीलासगढी गाउँपालिकाको बाक्सिला, साकेला गाउँपालिकाको मानेभञ्ज्याङ र दिप्रुङ गाउँपालिकाको पञ्चमीमा संयुक्त अन्तरघुलन कार्यक्रम गर्दैछ । ऐसेलुखर्कमा प्रदेशसभा (क)का एमाले उम्मेदवार राजन राई, माआवबादी नेतृ दुर्गाजयन्ती राई, पञ्चमीमा प्रदेशसभा (ख)का माओवादी उम्मेद्वार रामकुमार राई, एमाले नेता राम दंगाल, मानेभञ्ज्याङमा माओवादी नेता ध्रुव बुढाथोकी र एमाले नेता कुमार आचार्यले सम्बोधन गर्दैछन् ।

यस्तै, वामगठबन्धनले बुधबार रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा आयोजन गरेको संयुक्त चुनावीसभाका लागि प्रतिनिधिसभा सदस्यका एमाले उम्मेदवार विशाल भट्टराई, माओवादी नेता टंक राई, पूर्वसासंद उषाकला राई, समिता कार्कीलगायत पुगेका छन् ।

गठबन्धनले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा चुनावीसभाका सँगै अन्तरघुलन कार्यक्रम गर्ने जनाएको छ । भावनात्मक र बैचारिक एकताका लागि संयुक्तरुपमा अन्तरघुलन कार्यक्रम गर्नु परेको माओवादी केन्द्र खोटाङका सचिवालय सदस्य होमकाजी आचार्यले बताए । ‘विगतमा दुई पार्टीका कार्यकर्ताबीचमा तिक्तता थियो, स्थानीय तहको चुनावमा पनि त्यसरी नै लडियो,’ सचिवालय सदस्य आचार्यले भने, ‘तर अव सबैको भावनालाई एक बनाएर तालमेलको मर्म बुझाउनका लागि अन्तरघुलन अनिवार्य ठानिएको हो ।’

प्रकाशित: १५ कार्तिक २०७४ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App