१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

फोरम र राजपा सिट बाँडफाँट

काठमाडौं- संघीय फोरम र राजपाबीच दुई नम्बर प्रदेशमा १७÷१५ सिट बाँडफाँट भएको छ । अन्य प्रदेशमा भने दुई पार्टीले आफ्नै किसिमबाट उम्मेदवारी दिने भएका छन्। 

दुई पार्टीको सहमतिअनुसार  संघीय फोरमले पर्सा क्षेत्र नम्बर १, २ र ३ मा चुनाव लड्नेछ । फोरमबाट प्रदीप यादव, विमल श्रीवास्तव र हरिनारायण रौनियार उठ्ने भएका छन् ।

बारा क्षेत्र नम्बर २ र ३ पनि फोरमले पाएको छ । ती क्षेत्रमा क्रमशः राम साह यादव र रामकिशोर यादव चुनाव लड्नेछन् । यसैगरी फोरमले रौतहट २ बाट किरण साह र सर्लाही ३ बाट अशोककुमार कोइरीलाई चुनाव लडाउने भएको छ । यसैगरी महोत्तरीको १ लक्ष्मी महतो र ४ बाट सुरेन्द्र यादवले उम्मेदवारी दिने भएका छन् ।

संघीय फोरमले धनुषाको १, २ र ४ मा क्रमशः दीपक कार्की, उमाशंकर अरगरिया र महाजन यादवले उम्मेदवारी दिने भएका छन् । सो पार्टीले सिरहा १, २ र ३ मा क्रमशः राजलाल यादव, शत्रुघनसिहं कोइरी र अश्वेश्वर यादवले उम्मेदवारी दिने भएका छन् । सप्तरीको १ र २ मा फोरमले सूर्यनारायण यादव र उपेन्द्र यादवलाई चुनाव लडाउने भएको छ ।

 राजपाका अध्यक्ष मण्डलका सदस्यबाहेक पर्सा ४ मा लक्ष्मणलाल कर्णले उम्मेदवारी दिने भएका छन् । बारा १ र ४ मा सरोज यादव र जितेन्द्र सोनालले उम्मेदवारी दिने भएका छन् । रौतहट ३ र ४ मा जितेन्द्र सोनाल र प्रदीपशमशेर जबराले उम्मेदवारी दिने भएका छन् ।

राजपाले संघीय फोरमसँग धनुषा ३ र सप्तरीको ३ र ४ क्षेत्रमा उम्मेदवारी दिने सहमति गरेको छ । सप्तरीको एउटा क्षेत्रमा मृगेन्द्रकुमार सिंहले उम्मेदवारी दिने सम्भावा रहको राजपाले स्रोतले जनाएके छ ।

संघीय फोरम र राजपाले आफूले पाएको सिटमध्ये बराबरी संख्यामा कांग्रेसलाई छाड्ने गरी सहमति गरेका छन् । राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये महन्थ ठाकुर महोत्तरी ३, राजेन्द्र महतो सर्लाही ४, महेन्द्र यादव सर्लाही २, शरत्सिंह भण्डारी महोत्तरी २, राजकिशोर यादव सिरहा ४ बाट चुनाव लड्ने भएका छन् । राजकिशोरले दाबी गर्दै आएको सिरहा १ मा फोरम नेपालका राजलाल यादवले उम्मेदवारी दिने भएका छन् ।  सप्तरी २ बाट संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र सुनसरी १ बाट अशोक राईले उम्मेदवारी दिनेछन् ।

संघीय फोरमले मंगलबार नै प्रदेशसभा र प्रतिनिधिसभका सबै उम्मेदवारको नाम औपचारिक घोषणा गरेको छ । राजपाका प्रवक्ता सन्तोष मेहताले फोरमले अन्य प्रदेशमा एकतर्फी रूपमा उम्मेदवारी घोषणा गरेकाले दुई नम्बर बाहेकका अन्य क्षेत्रमा फोरमसँग तालमेल हुने सम्भावना कम भएको बताए ।

कांग्रेससँग शीर्ष तहमा तालमेल हुने

लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, संघीय फोरम र राजपा नेपालबीच  १, २ र ५ नम्बर प्रदेशका मधेसका जिल्लामा  शीर्ष तहका नेताहरूले एकले अर्कोलाई सहयोग गर्ने सहमति भएको छ । बाँकी क्षेत्रमा गठबन्धनभित्रैका दलहरूले प्रतिस्पर्धा गर्ने भएका छन् ।

सिट बाँडफाँट गर्ने बारेमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, संघीय फोरम र राजपाका बीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकमा सहभागी नेताहरूले मधेसका २० जिल्लामा तीन  पार्टीका शीर्ष नेताहरूलाई एकअर्काले सहयोग गर्ने र बाँकी क्षेत्रमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको बताएका छन् । कांग्रेसका नेता बालकृष्ण खाँणले मधेसमा तीन पार्टीका शीर्ष नेताहरूलाई एकअर्कोले सहयोग गर्ने र बाँकी क्षेत्रमा मैत्रीपूर्ण प्रतिष्पर्धा गर्ने सहमतिमा तीन पार्टी पुगेको बताए । ‘शीर्ष नेताहरूलाई सहयोग गर्छौं । बाँकी क्षेत्रमा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्छौं,’ उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले कांग्रेस, संघीय फोरम र राजपाका शीर्ष नेताहरूबीच तालमेल गर्ने सहमति भएको बताए ।  कांग्रेसले राजपाका अध्यक्ष मण्डलका ६ सदस्य र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव, दोस्रो नेता अशोक राई, महासचिव रामसाह यादवलाई सहयोग गर्ने भएको छ । यसको सट्टा कांग्रेसले दुई नम्बर प्रदेशमा आफ्ना ४ शीर्ष नेतालाई सहयोग गर्न फोरम र राजपासँग प्रस्ताव गरेको छ । धनुषा ३ मा विमलेन्द्र निधि, बारा ३ मा फरमुल्लाह मन्सुर, पर्सा ४ मा रमेश रिजाल र सिरहा १ मा प्रदीप गिरीलाई सहयोग गर्न कांग्रेसले फोरम र राजपाका नेतासँग प्रस्ताव राखेको हो ।

यसैगरी एक नम्बर प्रदेशमा कांग्रेसले मोरङ २ मा मिनेन्द्र रिजाल, मोरङ ४मा महेश आचार्य र सुनसरी ३ मा विजय गच्छदारलाई सहयोग गर्न पनि प्रस्ताव गरेको छ । कांग्रेसले पाँच नम्बर प्रदेशमा राजपाका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ललाई सहयोग गर्ने जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०७४ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App