१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसलाई बिरासत जोगाउने चुनौती

बागलुङ – जिल्लामा पहिलोपटक यहाँका प्रमुख वाम दलहरू एक चुनावी एकता गरेपछि बागलुङको चुनावी प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । विगतमा वाम शक्ति छिन्नभिन्न हुँदा जिल्लामा कांग्रेसले हालीमुहाली गरेको भन्दै अहिले एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरेका छन्। 

कांग्रेस खासै ठूलो जनाधार नभएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर निर्वाचनमा होमिएको छ । कम्युनिस्ट आस्था राख्नेहरू धेरै हुँदाहुँदै पनि २०७० को दोस्रो संविधानभसा निर्वाचनमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेर कांग्रेसले क्लिन स्विप गरेको थियो । तर अहिले यहाँको निर्वाचन क्षेत्रको भौगोलिक अवस्था र राजनीतिक समीकरणसमेत बदलिएको छ। 

वाम गठबन्धन स्थानीय तह निर्वाचनमा वामपन्थी उम्मेदवारलाई परेको मत जोडेर विजयी हुने विश्वासमा छ । कांग्रेस भने पार्टीपंक्ति एकढिक्का भएर जाँदा सबै कम्युनिस्ट शक्तिलाई परास्त गर्ने प्रयासमा छ ।

वाम गठबन्धन स्थानीय तह निर्वाचनमा वामपन्थी उम्मेदवारलाई परेको मत जोडेर विजयी हुने विश्वासमा छ । कांग्रेस भने पार्टीपंक्ति एकढिक्का भएर जाँदा सबै कम्युनिस्ट शक्तिलाई परास्त गर्ने प्रयासमा छ।

जिल्लामा ‘हाई प्रोफाइल’ का नेताहरू चुनावी प्रतिस्पर्धामा नभए पनि निर्वाचन रोचक र प्रतिस्पर्धात्मक हुने आकलन छ । स्थानीय निर्वाचनमा वाम उम्मेदवारलाई परेको मत र नेपाली कांग्रेसका उम्मेदवारलाई परेको मत जोड्दा बागलुङ क्षेत्र नम्बर १ मा पाँच हजार बढी र क्षेत्र नम्बर २ मा आठ हजार हाराहारीमा बढी मत रहेको हिसाब वामशक्तिको छ । त्यही चुनावको परिणामलाई आधार मान्दा प्रदेश सदस्य निर्वाचन क्षेत्रमा पनि वामशक्ति नै अगाडि देखिन्छ। 

तर स्थानीय निर्वाचनको परिणाम जस्ताको त्यस्तै अबको निर्वाचनमा नआउने भएकाले प्रतिस्पर्धा तवब्र हुने स्वयं वामशक्तिका नेताहरू बताउँछन् । ‘स्थानीय निर्वाचनको नतिजामा त हामी अगाडि छौं,’ माओवादी केन्द्रका नेता कृष्ण केसी भन्छन्, ‘तर जनताको मत सधैं एक ठाउँमा खस्छ भन्ने छैन । त्यसका लागि हामी सतर्क छौं ।’ स्थानीय निर्वाचनको मनमुटाव मेटेर निर्वाचनमा जाँदा कांग्रेस विजयी बन्ने कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापाको भर्ना छ । ‘हामी यसै पनि ठूलो शक्ति हौं र हाम्रो डरले नै गठबन्धन बनेको छ,’ उनले भने, ‘हामी आफैँमा एक ढिक्का भएमा सबै शक्ति लागे पनि परास्त गर्न सक्छौं । स्थानीय निर्वाचनमा भएको गल्ती कमजोरी अब दोहोर्‍याउने छुट छैन।’

 विगतमा तीन निर्वाचन क्षेत्र भएको बागलुङमा अहिले दुई संंघीय र चार प्रदेश निर्वाचन क्षेत्र कायम गरिएको छ । यस पटकको निर्वाचन बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वामशक्तिबाट नेकपा एमालेका नेता सूर्य पाठक चुनावी प्रतिस्पर्धामा छन् । पाठक संविधानसभा दोस्रो निर्वाचनमा बागलुङ २ बाट कांग्रेसका प्रकाश पौडेलले जित्दा प्रतिस्पर्धामा चौथो स्थानमा आएका थिए । चम्पादेवी भने दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका पति हरिबहादुर खड्काको सडक दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा बागलुङ १ बाट विजयी भएकी थिइन् । उनले एमाले नेत्री मनकुमारी केसीलाई दुई हजार बढी मतले पराजित गरेकी थिइन्।

आफू एक मात्र प्रतिस्पर्धी महिला भएकाले पनि निर्वाचिन हुने खड्काको विश्वास छ । वाम एकता भएकाले आफूलाई विजयीको मत आउने पाठकको विश्लेषण छ । बागलुङ नगरपालिकामा एमाले नेता जनक पौडेललाई मेयर बनाउन ‘किङ मेकर’ को भूमिका खेलेका उपमेयर तथा राप्रपा जिल्ला अध्यक्ष सुरेन्द्र खड्काले अहिले कांग्रेसलाई साथ दिएका छन् । त्यस कारण पनि बागलुङ नगरपालिकाबाट कांग्रेसलाई मत बढ्ने कांग्रेसजनको विश्वास छ । क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा एमालेले, जैमिनी नगरमा कांग्रेस र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले प्रमुख पद जितेका छन्। यसपटक बागलुङमा एक लाख ६७ हजार दुई सय ६२ मतदाता छन् । स्थानीय निर्वाचनपछि जिल्लाभर १० हजार बढी मतदाता थपिएकाले त्यो मत पनि महत्त्वपूर्ण हुने देखिन्छ। 

प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र १ मा ४५ हजार आठ सय ४३ महिला र ४० हजार ९ सय १३ पुरुष गरी ८६ हजार सात सय ५६ जना मतदाताले मतदान गर्नेछन् । बागलुङ क्षेत्र नम्बर १ प्रदेश सदस्य १ (क) का लागि दुई जिल्ला नेताको प्रतिस्पर्धा छ। 

नेपाली कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर थापा र एमाले जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा यहाँबाट मुख्य प्रतिस्पर्धीको रुपमा देखिएका छन् । दुवै जना आन्तरिक पार्टी प्रतिस्पर्धामा चुनावबाट पार्टी नेतृत्वमा पुगे पनि अन्तरपार्टी चुनावी प्रतिस्पर्धामा भने पहिलोपटक भिड्दैछन् । प्रदेश निर्वाचनका लागि बागलुङ नगरपालिका १ देखि ११ वडा काठेखोला गाउँपालिकालाई एक निर्वाचन क्षेत्र बनाइएको छ । यहाँ  ४५ हजार चार सय २९ मतदाता छन् । 
प्रदेशतर्फ क्षेत्र नम्बर १ (ख) मा कांग्रेसबाट पूर्वसांसद प्रकाश शर्मा पौडेल र वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा उम्मेदवार बनेका छन्।

 पौडेल संविधानसभा निर्वाचन २०७० मा बागलुङ २ बाट निर्वाचित भएका थिए । संविधान निर्माणसँगसँगै क्षेत्रको विकासका लागि पनि पहल गरेकाले आफूलाई मतदाताले पुनः मतदान गर्ने पौडेलको दाबी छ । चुनावी प्रतिस्पर्धामा पहिलोपटक उत्रिएका थापा भने जनमोर्चाको राम्रो जनाधार भएको र अहिले सबै वामशक्ति एक भएकाले आफूले निर्वाचन जित्नेमा विश्वस्त छन् । बानपा १२, १३, १४, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका समेटेर प्रदेश १ (ख) निर्धारण गरिएको छ । उक्त निर्वाचन क्षेत्रमा ४१ हजार तीन सय २७ मतदाता छन्। 

बागलुङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल उम्मेदवार बनेका छन् । उनलाई कांग्रेसका पूर्वसभासद् नरबहादुर पुन ‘निरज’ ले टक्कर दिँदैछन् । राजनीतिको केन्द्रमा रहेर पनि जिल्लामा जनतासँग अपरिचित भएकाले पौडेललाई निर्वाचन जित्न चुनौती रहेको वाम गठबन्धनभित्रै चर्चा हुने गरेको छ । जिल्लामा जनतासँग नभिजेका व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै यहाँ माओवादी स्थानीय नेता धनबहादुर विक ‘हिमाल’ ले दिएको बागी उम्मेदवारी फिर्ता भए पनि क्षेत्र नम्बर १ का नेता २ बाट उम्मेदवार बनेकाले जितका लागि सहज नहुने अनुमान छ। 

बाबुराम भट्टराई सरकारको पालामा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुँदा पनि जिल्लाको विकासका लागि कुनै पहल नगरेको आरोप पौडेलमाथि छ । मिजासिलो स्वभावका नरबहादुर पुन पौडेलका लागि कडा चुनौती रहेको बताइन्छ।

स्थानीय तह चुनावमा क्षेत्र नम्बर २ अन्तर्गत पर्ने गल्कोट नगरपालिका, निसिखोला गाउँपालिका र तमान खोला गाउँपालिकामा कांग्रेस, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा एमाले र ताराखोला गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख पद जितेको छ । बागलुङ क्षेत्र नम्बर २ बाट ४१ हजार पाँच सय ६० महिला र ३८ हजार ९ सय ६६ पुरुष गरी ८० हजार पाँच सय २६ मतदाता निर्वाचनमा सहभागी हुनेछन्। 

प्रदेशसभ तर्फ बागलुङ २ (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज चन्द्रबहादुर बुढा र कांग्रेसबाट युवा नेता मन्जेश बम मल्ल प्रतिस्पर्धामा छन् । बुढा संविधानसभा निर्वाचन २०६४ मा उम्मेदवार बनेर एमाले नेता रामजीप्रसाद शर्मासँग झिनो मतअन्तरले पराजित भएका थिए । मल्ल चुनावी प्रतिस्पर्धामा नयाँ हुन्। 

बुढाको ताराखोला र मल्लको गल्कोटमा राम्रो जनाधार भएकाले बडिगाड गाउँपालिकाको मत निर्णायक हुने बताइन्छ । प्रदेशसभा निर्वाचनका लागि गलकोट नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिका समेटेर निर्वाचन क्षेत्र १ (क) बनाइएको छ ।  यहाँ ४७ हजार दुई सय ८६ मतदाता छन्। 

तमानखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकालाई समेटेर क्षेत्र नम्बर २ (ख) बनाइएको छ । यहाँबाट वाम गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्ती र कांग्रेसका जीत शेरचन उम्मेदवार बनेका छन् । घर्ती संविधानसभा निर्वाचन २०६४ मा कांग्रेस उम्मेदवार नरबहादर पुनसँग पराजित भएका थिए । विद्यार्थी राजनीतिबाट आएका शेरचन पहिलोपटक चुनाव लड्न लागेका हुन् । उनीहरूबीच पनि कडा प्रतिस्पर्धा हुने बताइन्छ। 

यस क्षेत्रमा पर्ने तमानखोला र निसीखोलामा कांग्रेस र ढोरपाटन नगरपालिकामा एमालेले स्थानीय तह प्रमुख जितेको छ । उक्त क्षेत्रबाट ३३ हजार दुई सय ४० मतदाता निर्वाचनमा सहभागी हुने जिल्ला निर्वाचन कार्यालय जनाएको छ । वाम दलहरूबीच गठबन्धन भएकाले कांग्रेसलाई विगतको बिरासत जोगाउन निकै ठूलो चुनौती रहेको छ । यद्यपि पार्टीभित्रका सबै कमजोरीको ‘नट बोल्ट’ कसेर जाँदा सफलता हातपर्ने विश्वासमा कांग्रेस छ। 

 

प्रकाशित: १४ कार्तिक २०७४ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App