२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वाम गठबन्धन २२ स्थानमा अगाडि

सुरेन्द्र पौडेल/भाषा शर्मा
काठमाडौं – आगामी मंसिर १० गते प्रदेश नम्बर ३ का छ वटा  जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । यी छ जिल्लाबाट प्रतिनिधिसभामा नौं जना र प्रदेशसभामा १८ गरी कुल २७ जना निर्वाचित हुनेछन् । यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखको प्राप्त मतलाई आधार मान्दा यी २७ मध्ये २२ स्थानमा वाम गठबन्धन बलियो देखिएको छ । बाँकी पाँच स्थानमा लोकतान्त्रिक गठबन्धनको पकड बलियो छ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरे भावर, जनजागरण पार्टी नेपाल र  समाजवादी जनता पार्टी वाम गठबन्धनमा छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल रहेका छन्। 

पहिलो चरणमा मंसिर १० गते प्रदेश नम्बर ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धाुपाल्चोक, दोलखा र रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि एकसाथ निर्वाचन हुनेछ । यी जिल्लामा वाम र लोकतान्त्रिक गठबन्धनले आ–आफ्ना तर्फबाट साझा उम्मेदवार खडा गरेका छन्। 

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकमा प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार सीट रहेको छ । यहाँ तीनवटा नगरपालिका र नौंवटा गाउँपालिका छन् । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकका तीन नगरपालिकामध्ये दुईमा एमाले र एकमा माओवादी उम्मेदवार विजयी बनेका थिए । यस्तै नौं गाउँपालिकामध्ये पाँचमा एमाले, तीनमा कांग्रेस र एकमा माओवादीले जितेका थिए । यसरी हेर्दा नौं वटामा वाम गठबन्धन र तीनवटामा लोकतान्त्रिक गठबन्धनले जित हात पारेको थिए । स्थानीय निर्वाचनमा सिन्धुपाल्चोकबाट वाम गठबन्धनले ८२ हजार नौं सय ८८ र लोकतान्त्रिक गठबन्धनले ५७ हजार सात सय ३६ मत प्राप्त गरेका थिए। 

सिन्धुपाल्चोकमा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार गरी सबै छ स्थानमा वाम गठबन्धन बलियो देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नं. १ मा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनले ३८ हजार सात सय ५७ र लोकतान्त्रिक गठबन्धनले २३ हजार नौं सय ९१ मत प्राप्त गरेको थियो । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनको १४ हजार सात सय ६६ मत बढी रहेको छ। 

सिन्धुपाल्चोक क्षेत्र नं. २ मा पनि वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार चार सय ८६ मतले अघि छ । स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा वाम गठबन्धनले ४४ हजार दुई सय ३१ र लोकतान्त्रिक गठबन्धनले ३३ हजार  सात सय ४५ मत प्राप्त गरेका थिए । 
यस्तै, सिन्धुपाल्चोक प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा वाम गठबन्धनले २१ हजार छ सय २७ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १३ हजार आठ सय ३७ । यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा सात हजार सात सय ९० मत बढी थियो । प्रदेशसभा निर्वाचान क्षेत्र नं. १ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनको भन्दा छ हजार आठ सय ७१ मत बढी ल्याएको थियो । यो क्षेत्रमा वाम गठबन्धनले १७ हजार २५ र लोकतान्त्रिक गठबन्धनले १० हजार एक सय ५४ मत प्राप्त गरेका थिए। 

सिन्धुपाल्चोक प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) मा स्थानीय तहको मत परिणामअनुसार वाम गठबन्धनले २१ हजार दुई सय ९९ मत छ भने लोकतान्त्रिक गठबन्धनले १२ हजार तीन सय २७ मत ल्याएको थियो । लोकतान्त्रिकको भन्दा आठ हजार नौं सय ७२ मत बढी हो । सिन्धुपाल्चोक प्रदेशसभा क्षेत्र नं. २ (ख) मा पनि वाम गठबन्धन नै बलियो देखिन्छ । यहाँ वाम गठबन्धनले २२ हजार नौं सय ३२ र लोकतान्त्रिक गठबन्धनले २१ हजार चार सय १८ मत प्राप्त गरेका थिए। 

रामेछाप
रामेछापबाट प्रतिनिधिसभाका लागि एकजना र प्रदेशसभाका लागि दुईजना निर्वाचित हुनेछन् । रामेछापमा दुई नगरपालिका र छ गाउँपालिका छन् । स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि कूल ८५ हजार आठ सय ९० मत खसेको थियो, जसमध्ये वाम गठबन्धनले ५३ हजार चार सय ८९ र लोकतान्त्रिक गठबन्धनले २८ हजार नौं सय ३६ मत प्राप्त गरेका थिए । आठ स्थानीय तहमध्ये पाँचमा एमाले, दुईमा माओवादी र एकमा कांगे्रसले जितेको थियो । रामेछापका कुल आठ स्थानीय तहमध्ये सातमा वाम गठबन्धन र एकमा लोकतान्त्रिक गठबन्धन विजयी बनेको थियो। 

स्थानीय निर्वाचनको मत विश्लेषण गर्दा रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तह निर्वाचनमा रामेछापमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २४ हजार नौं सय ३६ मत बढी प्राप्त गरेको थियो । रामेछापमा वाम गठबन्धनले ५३ हजार चार सय र लोकतान्त्रिक गठबन्धनले २८ हजार नौं सय ३६ मत पाएका थिए। 

रामेछाप प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले १८ हजार सात सय ३३ मत ल्याएको थियो भने लोकतान्त्रिक गठबन्धनले १२ हजार नौं सय ६५ । यहाँ वाम गठबन्धन पाँच हजार सात सय ६८ मतले अघि रहेको थियो । यस्तै, क्षेत्र नं. १ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १७ हजार नौं सय ७१ मत बढी ल्याएको थियो। वाम गठबन्धनले ३३ हजार आठ सय ५३ मत ल्याउँदा लोकतान्त्रिक गठबन्धनको १५ हजार नौं सय ७१ मत रहेको थियो। 

दोलखा 
दोलखाबाट प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा दुई जना निर्वाचित हुनेछन् । दुई नगरपालिका र सात गाउँपालिका गरी कूल नौं स्थानीय तह छन् । गत स्थानीय निर्वाचनमा दुई नगरपालिकासहित सात तहमा  एमालेले जितेको थियो भने बाँकी दुई गाउँपालिकामा कांग्रेस । स्थानीय तहका दोलखामा ८२ हजार आठ सय ९० मत खसेको थियो।

प्रतिनिधिसभाका लागि एक मात्र सीट रहेको दोलखामा स्थानीय निर्वाचनमा वाम गठबन्धनले ५१ हजार छ सय ४८ मत र लोकतान्त्रिक गठबन्धनले ३० हजार चार सय २२ मत प्राप्त गरेको थियो । लोकतान्त्रिकको तुलनाम वाम गठबन्धनले २१ हजार चार सय २२ मत बढी ल्याएको थियो। 

स्थानीय निर्वाचनमा प्राप्त गरेको मतका आधारमा दोलखाको प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन बलियो देखिएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) मा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले २७ हजार एक सय २६ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १७ हजार ९६ । वाम गठबन्धनले पाएको मत लोकतान्त्रिकको भन्दा १० हजार ३० मत बढी हो । यस्तै, प्रदेशसभा क्षेत्र नं. १ (ख) मा वाम गठबन्धनले २४ हजार पाँच सय २२ मत र लोकतान्त्रिक गठबन्धनले १३ हजार तीन सय २६ मत ल्याएको थियो । लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनले ११ हजार एक सय ९६ मत बढी प्राप्त गरेको थियो।

धादिङ 
मंसिर १० को निर्वाचनमा धादिङबाट प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । दुई नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह रहेको यस जिल्लामा स्थानीय तह निर्वाचनमा एक नगरपालिका र आठ गाउँपालिकामा एमाले, एक नगरपालिका र दुई गाउँपालिकामा कांग्रेसले जतेका थिए । माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक गाउँपालिकामा जितेका थिए । स्थानीय निर्वाचनमा नौं तहमा वाम गठबन्धन र चार तहमा लोकतान्त्रिक गठबन्धनले जित हात पारेका थिए । धादिङमा गाउँपालिका र नगरपालिका प्रमुखका लागि खसेको कुल मतमध्ये वाम गठबन्धनले ९० हजार सात सय ७० र लोकतान्त्रिक गठबन्धनले ४८ हजार सात सय २१ मत प्राप्त गरेका थिए। 

धादिङमा प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार सीट रहेको छ । यीमध्ये एउटा प्रतिनिधिसभा र तीनवटा प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन बलियो देखिएको भने एक प्रतिनिधिसभा र एक प्रदेशसभा निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धन । धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले ५९ हजार आठ सय ६८ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १४ हजार पाँच सय ६५ । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ४५ हजार एक सय १८ मत बढी ल्याएको थियो । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले ३४ हजार एक सय ५६ मत ल्याएको थियो । यहााँ वाम गठबन्धनले ३० हजार नौं सय दुई मत ल्याएको थियो । धादिङ क्षेत्र नं. २ मा वाम गठबन्धनको भन्दा लोकतान्त्रिकले तीन हजार दुई सय ५४ मत बढी थियो। 

प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (क) गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २२ हजार तीन सय ८४ बढी मत प्राप्त गरेको देखिन्छ । यो क्षेत्रमा वाम गठबन्धनले ३२ हजार एक सय ८४ र लोकतान्त्रिक गठबन्धनले नौं हजार आठ सय मत पाएका थिए । प्रदेशसभा क्षेत्र नं. १ (ख) मा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले २७ हजार छ सय ८४ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले चार हजार सात सय १८ । यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको तुलनामा २२ हजार नौं सय ६६ बढी मत ल्याएको थियो। 

स्थानीय तह निर्वाचनमा प्रदेशसभा क्षेत्र नं.२ (क)मा लोकतान्त्रिक गठबन्धनले वामको भन्दा पाँच हजार पाँच सय ५८ बढी मत पाएको थियो । लोकतान्त्रिक गठबन्धनले २१ हजार छ सय ३४ र वाम गठबन्धनले १६ हजार ७६ मत प्राप्त गरेको थिए । यस्तै, धादिङ निर्वाचन क्षेत्र नं.२ (ख)मा वाम गठबन्धनले १४ हजार आठ सय २६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले १२ हजार पाँच सय तीन । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले दुई हजार तीन सय २३ बढी मत ल्याएको थियो। 

रसुवा 
रसुवाबाट प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईजना निर्वाचित हुनेछन् । यहाँ पाँच गाउँपालिका रहेका छन् । स्थानीय निर्वाचनमा पाँच गाउँपालिकामध्ये एमाले दुई, कांग्रेस दुई र नयाँ शक्ति पार्टी एकमा विजयी बनेका थिए । स्थानीय निर्वाचनलाई आधार मान्दा रसुवाको प्रतिनिधिसभा र प्रदेशसभाका सबै सीटमा लोकतान्त्रिक गठबन्धन बलियो देखिएको छ । स्थानीय निर्वाचनमा रसुवमा १९ हजार चार सय ६६ मत गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखका लागि झरेको थियो । योमध्ये लोकतान्त्रिक गठबन्धनले ११ हजार दुई सय ७२ मत र वाम गठबन्धनले आठ हजार एक सय ५८ मत पाएको थियो। 

रसुवा प्रदेससभा निर्वाचन क्षेत्र नं १ (क) मा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनको भन्दा लोकतान्त्रिकले एक हजार आठ सय ७१ मत बढी छ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले पाँच हजार चार सय १६ मत र वाम गठबन्धनले तीन हजार पाँच सय ४५ मत पाएका थिए । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. (ख)मा गत स्थानीय निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले पाँच हजार सात सय ९९ मत ल्याएको थियो भने वाम गठबन्धनले चार हजार छ सय १३ । यो क्षेत्रमा वाम गठबन्धनकोभन्दा लोकतान्त्रिकको एक हजार एक सय ८६ मत बढी रहेको थियो । 

नुवाकोट
आगामी निर्वाचनमा नुवाकोटबाट प्रतिनिधिसभामा दुईजना र प्रदेशसभामा चारजना निर्वाचित हुनेछन् । नुवाकोटमा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । गत स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, एमालेले तीन र माओवादीले दुई तहमा जितेका थिए । गत चुनावमा कुल एक लाख २५ हजार छ सय ६९ मत खसेको थियो । यसमध्ये वाम गठबन्धनले ७६ हजार दुई सय ८७ र लोकतान्त्रिक गठबन्धनले ४८ हजार दुई सय ५१ मत प्राप्त गरेका थिए। 

स्थानीय निर्वाचनमा पार्टीहरूले प्राप्त गरेको मतलाई आधार मान्दा नुवाकोटको प्रतिनिधिसभाका दुई सीट र प्रदेससभाका चार सीट सबैमा वामपन्थी गठबन्धन बलियो देखिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा गत स्थानीय निर्वाचमा वामपन्थी गठबन्धनको ३६ हजार नौं सय ६२ मत र लोकतान्त्रिक गठबन्धनको २५ हजार पाँच सय ८९ मत रहेको छ । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनको ११ हजार तीन सय ७३ मत बढी छ । यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १६ हजार छ सय ७१ बढी मत पाएको थियो । यो क्षेत्रमा वाम गठबन्धनले ३९ हजार तीन सय २५ र लोकतान्त्रिक गठबन्धनले १६ हजार छ सय ७१ मत प्राप्त गरेको थियो। 

नुवाकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (क) मा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । स्थानीय निर्वाचनमा वाम गठबन्धनले १६ हजार पाँच सय ८९ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले ११ हजार पाँच सय ७१ । यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनको भन्दा वामले पाँच हजार १८ मत बढी ल्याएको थियो । यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा नौं हजार दुई सय ७३ मत बढी ल्याएको थियो । यो क्षेत्रमा वाम गठबन्धनले २० हजार तीन सय ८४ र लोकतान्त्रिक गठबन्धनले ११ हजार एक सय ११ मत पाएका थिए। 

स्थानीय तहमा नुवाकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) मा वाम गठबन्धनले १२ हजार नौं सय ९४ र लोकतान्त्रिक गठबन्धनले पाँच हजार तीन सय ४७ मत पाएका थिए । यो क्षेत्रमा वाम गठबन्धनको  लोकतान्त्रिकको भन्दा सात हजार छ सय ४७ बढी मत थियो । प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (ख)मा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । यस क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनको नौं हजार १६ मत बढी प्राप्त गरेको छ । त्यस्तै नुवाकोट प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (ख) मा स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको २६ हजार तीन सय ३१ र लोकतान्त्रिक गठबन्धनको १७ हजार तीन सय १५ मत रहेको थियो। 

प्रकाशित: १३ कार्तिक २०७४ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App