१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ठाकुरको नाम समानुपातिकबाट हट्यो

फाइल फोटो

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएका छन् । उनी प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार हुने भएका छन्।

 यसअघि राजपाले ठाकुरको नाम समानुपातिक सूचीमा पहिलो नम्बरमा राखेको थियो । तर आइतबार निर्वाचन आयोगमा बुझाएको संशोधनसहितको अन्तिम सूचीमा ठाकुरको नाम हटाइएको राजपाका नेताले बताएका छन् । ठाकुरलाई राजपाभित्रकै केही शीर्ष नेताले  प्रदेश नम्बर २ को मुख्य मन्त्री प्रस्ताव गरेका छन् ।  यसबारे ठाकुरले भने  केही बोलेका छैनन । तर ठाकुर प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने सम्भावना भएको राजपा नेताहरूले जनाएका छन् । राजापा प्रवक्ता सन्तोष मेहताले ठाकुर अब प्रत्यक्षतर्फ चुनाव लड्ने निश्चित भएको बताए । उनले भने, ‘उहाँ (ठाकुर) को नाम समानुपातिक सूचीबाट  हटाइएको छ । अब उहाँ प्रत्यक्षमा चुनाव लड्ने निश्चित भयो।’

 राजपाले आयोगमा बुझाएको समानुपातिक अन्तिम सूचीमा केही नाम फेरबदल गरिएको छ । सूचीमा दुई  सहिद परिवारका सदस्यको नाम थपिएको छ । ठाकुरकी सम्धिनी  इन्दिरा झाको नाम तेस्रो नम्बरमा राखिएको छ । पहिलो नम्बरमा चन्दा चौधरी र दोस्रोमा अकबाल अहमदको नाम राखिएको छ । विवादमा आएका नरमाया ढकाल र रिमा छिरिङ शेर्पाको नाम कायमै राखिएको छ । राजेन्द्र महतोको सिफारिसमा ढकाल र अनिल झाको सिफारिसमा शेर्पाको नाम राखिएको हो । राजकिशोर यादवको सिफारिसमा राखिएको झापाका लिलाराम भण्डारीको नाम भने सूचीबाट हटाइएको छ । राजकिशोरले  धर्मेन्द्र साह तेलीको नाम सूचीमा थप्न लगाएका छन् । समानुपातिक सूचीको पाँचौ  नम्बरमा महेन्द्र यादवको सिफारिसमा किरणदेवी यादव र छैठौंमा निर्जला राउतको नाम राखिएको स्रोतले बतायो। 

फोरमले जनजाति नेतालाई हटायो 
संघीय समाजवादी फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठबाहेक पार्टीका पदाधिकारी रहेका जनजाति नेताको नाम  समानुपातिक सूचीबाट  हटाएको छ । समानुपातिक सूचीबाट उपाध्यक्ष रकम चेम्जोङ र महासचिव रणध्वज कङदम्बाको नाम पनि हटाइएको एक नेताले बताए । पार्टीका दोस्रो नेता अशोक राई  सुनसरी १ बाट प्रतिनिधिसभामा  चुनाव लडने तयारीमा छन् । अर्का जनजाति नेता अजम्बर राई पनि अब चुनाव लड्ने भएका छन्।

 पदाधिकारीलाई प्रत्यक्ष चुनाव लडाउन पार्टीभित्रैबाट दबाब परेपछि उनीहरूको नाम समानुपातिक सूचीबाट हटाइएको हो  । पार्टी राजनीतिक समिति सदस्य रेखा यादवले सबै पदाधिकारीले प्रत्यक्ष्यमा चुनाव लड्ने आँट गरेको बताइन । अशोक राईकी पत्नी सुशीला श्रेष्ठको नाम भने समानुपातिकमा राखिएको छ। 

प्रकाशित: १३ कार्तिक २०७४ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App