१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

फेसन बन्दै हाकुपटासी

रेणु त्वानाबासु
भक्तपुरकी १७ वर्षीया मीना सुवाललाई नयाँ डिजाइनका लुगाभन्दा पुरानो नेवारी पहिरन हाकुपटासी लाउने सोख पलाएको छ । अचेल विभिन्न डिजाइनका मनोहर लुगा आए पनि भोज र मन्दिर जाने बेला हाकुपटासी नै लगाउन मन लाग्ने उनी बताउँछिन् । त्यसैले त उनले यस पटकको दसैँमा आफ्ना लागि नयाँ हाकुपटासी किनेकी छन् । धेरैजसो नेवारी चार्डपर्वका बेला उनले हाकुपटासी नै लगाउने गरेको उनी बताउँछिन् ।
भक्तपुरकै रमिता दुवाल पनि आफू वर्षैपिच्छे हुने साँस्कृतिक कार्यक्रममा भाग लिने गरेकी छन् । कार्यक्रममा उनी हाकुपटासी छुटाउँदिनन् । उनी भन्छिन्, ‘नेवार समुदायको पहिचान भन्नु नै महिलाले लगाउने हाकुपटासी हो । त्यसैले हाकुपटासीको एक जोर मेरो दराजमा सम्हालेर राख्ने गरेकी छु ।’
हाकुपटासी लाउने बेला बेग्लै गर्व लाने गरेको उनको भनाइ छ । ‘साथै हामीले लगाएको पहिरनबाट नै हामी कुन समुदायका हौँ भन्ने चिनिन्छ, दुवाल भन्छिन्, ‘अनि आफूलाई चिनाउने पहिरनको माया लाग्दैन त ?’  
हाकुपटासीसँगै नेवार समुदायलाई चिनाउने अर्को पनि पहिरन छ । नेवारी धागोबाटै बनेको त्यस पहिरनलाई भान्ताङ भनिन्छ । यो खासगरी केटीहरुका लागि हो । यो पहिला बिहे नभएका युवतीले लाउने चलन थियो । पछि विविहयोग्य उमेर भएका युवती वा बिहे भएकाले समेत लगाउने चलन बस्यो । यो पहिरन पनि अहिले निकै चलेको छ ।
भक्तपुरकी नेवारी कपडा बुन्ने र बुनाउदै गरकी हिरा दनेखु
भक्तपुरको स्थानीयबासी हिरा दनेखु आफू १२ वर्षदेखि हाकुपटासी बुन्न थालेको बताउँछिन् । उनले सुरुताका ७ हातको सारी २५ पैसामा बुनेको सम्झन्छिन् । दिनभरिमा  ५ ओटासम्म उनले बनाउन सक्थिन् । पछि उनले सबै किसिमका नेवारी कपडाहरु बुनेको उनले सुनाइन् । बजारमा १६ सयदेखि पाँच हजारसम्म पर्ने यस्ता सारी बुनेबापत उनले एक सय रुपैयाँँ लिने गरेको बताउँछिन् ।
हिराले खेतबारीको काम सकेपछि फुर्सदको समय सदुपयोग गर्न तानमा कपडा बुन्ने गर्थिन् । उनी भन्छिन्, ‘पहिला केटी मान्छेलाई अरु काम गर्न दिइँदैनथ्यो । पढाउने चलन पनि थिएन । त्यतिबेला केटीहरु बाहिर काम गर्न जाने तथा पठाउने चलन थिएन । त्यस बेला हाम्रालागि फुर्मासी गर्ने पैसा हुँदैनथ्यो । यही हाकुपटासी बुनेर आएको पैसाले आफ्नो खर्च टार्ने, मेला भर्ने काम गथ्र्यौं ।’
त्यसबेला आफ्ना साना इच्छा पूरा गर्न गरेको कामले अहिले जीवन गुजार्ने पेसा नै बनेकामा हिरा खुसी छिन् ।
हाकुपटासीको महत्व
हिराको पालामा तान्न बुन्न जान्ने युवती सबैभन्दा गुनिली मान्ने चलन थियो । त्यसैले युवतीहरुले सकेसम्म तान चलाउन, हाकुपटासी बुन्न सिक्ने चलन थियो । केटी माग्न आउने बेला पनि केटापट्टिको लमीले तान बुन्न आउँछ कि आउँदैन भनी सोध्ने चलन थियो । पहिला घरपरिवार सबैले तानबाट बुनिने पहिरन नै लगाउँथे । त्यसैले भक्तपुरका अधिकांश युवतीलाई हाकुपटासी बुन्न आउने लक्ष्मीदेवी बखद्यो बताउँछिन् । ‘बरु पछिल्लो पुस्ताले रेडिमेड लुगा लगाउनाका कारण यस्ता पारम्परिक पहिरन र त्यो बुन्ने कला हराउँदै जान थालेको छ,’ उनको चिन्ता छ ।
हाकुपटासीको व्यापार बढ्नुको कारण
पछिल्लो समय भने मेला, चाडपर्व तथा भोजका बेला नेवारी समुदायमा हाकुपटासी लगाउने चलन ह्वात्तै बढेपछि यसको माग पनि बढ्दै गएको छ । अहिले बच्चादेखि बूढासम्मले हाकुपटासी लगाउने चलन ब्युँतिएको छ । पहिला मजबुरीमा लाउने गरेको हाकुपटासी अहिले भने सोखमा परिणत भएको छ । पहिला नेवार समुदायका किसानले मात्र लगाउने गरेकाले यस किसिमको पहिरनलाई ‘पाखे’ ठानेर लगाउन छाडेको र प्रायः यो पहिरन लगाउनेलाई हेयको दृष्टिले हेरिन्थ्यो । दौरा सुरुवालजस्तै नेवारको पारम्परिक पोसाक हाकुपटासी हो भनेर चिनाउने नारा उर्लिएकाले पनि यसको लोकप्रियता बढेको हो । त्यसैले अहिले नेवारी समुदायका विभिन्न संस्थामा कार्र्यरत महिलाले हाकुपटासी लगाउनु अनिवार्य बनाइएको छ । संस्थाको भोज होस् वा कुनै सांस्कृतिक कार्यक्रम,  नेवारी महिला अनिवार्य रुपमा हाकुपटासी लगाएर जाने गरेका छन् । पहिला हाकुपटासीको व्यापार महिनामा २० देखि ३० हजारसम्म हुने गथ्र्यो भने अहिले १ देखि २ लाखको हाराहारीमा हुने गरेको दनेखु बताउँछिन् ।
नेवारी कपडाहरु
नेवारी कपडा पनि धेरै किसिमका छन् । सिपु दगु गा, हाकुपटासी, कालो पटासी, चार खनागु जनी अर्थात पटुका, सिपु दगु जनी, बेल विवाह सारी, मलेगचा काप, हलेग काप, श्रीपछेलु काप, चारखना काप भने चल्तीमा छन् । यी सबै हातले बुन्ने गरिन्छ । हिजोआज कल मेसिनले पनि बुन्ने गरिएको छ ।
हाकुपटासी नै लोकप्रिय
पछिल्लो समय हाकुपटासी सेट र भान्ताङ (नेवारी ड्रेस) बढी रुचाइएको विक्रेताहरु बताउँछन् । नेवारी ड्रेस बच्चादेखि वयस्क सम्मले लगाउने गर्छन् । कतिपयसँग यस्ता पहिरन नभएको अवस्थामा भाडामा समेत लैजाने गरेको हिरा दनेखुको भनाइ छ ।
भक्तपुरमा बुनिने नेवारी पहिरनको माग निकै बढेको छ । यहाँ उत्पादित पहिरनहरु उपत्यकाका थेचो, थाइवा, टोखा, ललितपुर र कीर्तिपुरसम्म पुग्ने गरेको दनेखु बताउँछिन् । त्यसो त कहिलेकाहीँ विदेशबाट समेत त्यहाँका गैरआवासीय नेपालीले माग गर्ने गरेको दनेखुको भनाइ छ ।
थरीथरीका हाकुपटासी  
हाकुपटासी तीन थरिका छन् । ठाउँ अनुसार यसको प्रकार फरक भएको हो । भक्तपुरेले लाउने हाकुपटासी र अन्य नेवार समुदायले लाउने हाकुपटासी फरक हुन्छ । भक्तपुरका महिलाले लगाउने हाकुपटासीको तलको रातो बोर्डर ठिक्कको हुन्छ र सेतो कपडामा रातो बोर्डर भएको खास्तो लगाइन्छ । त्यस्तै चोलो धेरै जसो श्रीपछेलुको लगाइन्छ । यस्तो हाकुपटासी लगाएको व्यक्ति भक्तपुरे रहेछ भन्ने चिनिन्छ । त्यस्तै भक्तपुरकै थिमिका महिलाले लागाउने हाकुपटासीमा कालो कपडामा रातो बोर्डर कुलीकुली अर्थात कर्ली भएको हुन्छ । कालो खास्टोमा हरियो बोर्डर हुन्छ । यस्तो हाकुपटासी लगाउनेलाई थिमिबासी नेवार रहेछ भनेर चिनिन्छ ।
त्यस्तै ललितपुरमा भने कालो कपडामा ठूलो रातो बोर्डर हुन्छ । कालो खास्तोमा हरियो ऊनीको बोर्डर हुन्छ । हाकुपटासीका यी मिहिन डिजाइनले पनि कुन ठाउँको नेवार रहेछ भनेर चिन्न सजिलो हुने दनेखु बताउँछिन् ।
हाकुपटासी मूलतः कृषिसँग सम्बन्धित महिला पहिरन भएको संस्कृतिविद् ओम धौभडेल बताउँछन् । खेती किसानी गर्दा निस्कने पसिना सोस्ने र जाडो याममा यो न्यानो हुने भएकाले नेवारी महिलामाझ यो लोकप्रिय भएको हो ।
धौभडेलका अनुसार हाकुपटासी नेवारी महिलाको सुहागको चिह्न पनि हो । यसमा हुने कालो कपडासँगै रातो बोर्डरले ती महिलाको पति ज्यूँदै छन् भन्ने चिनिन्छ । त्यस्तै  हाकुपटासीमा कालो भाग मात्र छ, रातो छैन भने उसको लोग्ने बितिसकेको बुझिन्छ । लिच्छवि कालदेखि नै हाकुपटासी लोकप्रिय भएको हुनसक्ने धौभडेलको आँकलन छ ।

प्रेमकृष्ण खर्बुजा
सचिव
भक्तपुर घरेलु तथा साना उद्योग संघ

हाकुपटासीको माग पहिलाभन्दा धेरै बढेको छ तर व्यावसायिक रुपमा भने होइन । सांस्कृतिक कार्यक्रम, बाजागाजाको समूह, सहकारी संघसंस्थाका व्यक्ति तथा विदेशमा रहेका नेवारी समुदायले यसलाई महत्व दिन थालेपछि यसको माग बढेको हो । हामीकहाँ अहिलेसम्म हाकुपटासीको तालिम दिएको छैन किनभने यसको प्रशिक्षक नै छैनन् । तालिमका लागि माग पनि कहीँकतैबाट आएको छैन ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १२ कार्तिक २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App