१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

छठः मिथिलाञ्चल निष्ठा

रामभरोस कापडि भ्रमर
छठ पर्वको चहलपहल बढेको छ । परम्परागत हुने ठाउँहरुमा साता पहिलादेखि नै छठको तयारी सुरु भइसकेको छ । गहुँ, चामलको व्यवस्था सुरुमै गरिन्छ । यो सामान्य रुपमा नभई पूर्ण चोखोपनाले सतर्कतापूर्वक केलाएर, धोएर, सुकाएर, पिँघेर राखिन्छ । वास्तवमा यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वलाई अन्य पर्वभन्दा फरक  बनाउँछ ।
यस पछिका सबै सामग्री संकलनमा यही शुद्धता नै यसको मूलमा हुन्छ । यो पर्व सोखले वा रहरले गर्ने पर्व होइन । यसका प्रत्येक सामग्री बडो जतनले केटाकेटीको पहुँचबाहिर राखिनुको अर्थ पनि यही हो । सोह्र किसिमका अन्न फलफूल अर्घमा राखिने चलनअनुसार ती सबै सामग्री चोखो राख्नुपर्ने दायित्व घरका सबै पाका सदस्यको हुन्छ । खास गरी ब्रत बस्नेको अभिभारा अरुभन्दा बढी नै हुन्छ । फलफूलमा केरा सबैभन्दा बढी महत्व राख्ने फल हो । केराको घेरामा सुगा नबसोस्, त्यसको फललाई नटोकोस् भनेर परिवारका सदस्यहरु कति सतर्क रहन्छन् भन्ने मार्मिक प्रसंग छठको यस लोकप्रिय गीतमा पाइन्छ ।
केरबा जे फरल घओंदसे, ओइ पर सुगा मरराय ।
मारबौ रे सुगबा घनुख से,सुगा गीरे मुरछाए ।

मानिस त के, पशुपक्षीसमेत वर्जित छन् । यस्तो कडा नियम र व्यवहारले मनाइने छठ पर्वप्रति बढ्दै गइरहेको जनविश्वास पर्वको महत्तालाई दर्शाउँछ । तर प्रश्न उठ्छ के सबै व्रतालु नियमबद्ध हुन सकेका छन् त ? किन आज जनकपुरको छठ देशमा मात्रै हैन विदेशसम्म चर्चित हुन पुगेको छ ? यही निष्ठाले, यसको विशिष्टता बढाएको छ । विहारको पटनामा गरिने छठको पनि निकै ख्याति छ । त्यसको कारण पनि यही निष्ठा नै हो । त्यहाँ त साँझपख लगिएका अर्घ सामग्री (ठेकुवा, भुसबा आदि) घाटमै फेरि नयाँ तयार गरी बिहानको अर्घ दिने चलन छ । चोखोपनाको यस्तो सतर्क दृष्टि विरलै पाइन्छ ।
अचेल त काठमाडौँमा पनि छठ खुब धूमधामका साथ मनाइन्छ । काठमाडौँमा मैथिलहरुको बढ्दै गएको बसोबासले पनि यो भएको होइन, यहाँका स्थानीय बासिन्दाहरुले पनि आस्था र निष्ठाको यस पर्वप्रति रुचि देखाउन थालेकाले पनि व्रत गर्नेहरु संख्या बढेको हो । र, यो अत्यन्त सकारात्मक संकेत हो तर यहाँ के विचार गर्नुपर्छ भने छठ पर्वको जुन चोखोपनाको वैशिष्ठ्यता हो, त्यसलाई नवआगन्तुक ब्रतालुमाझ राम्ररी जानकार गराइएको छ त ?
मिथिलाञ्चलका गाउँगाउँमा गरिने छठ पर्वको पृष्ठभूमिमा परिवारमा गरिने भाकलले नै प्रमुखता पाइरहेको हुन्छ । यो मानिसको अदभूत विश्वासको परिणाम हो । भाकल पूरा हुनु नै पर्व प्रतिको अटूट आस्था हो । र, त्यसले पनि कठोर साधना गरेर चार दिन सम्मको समयावधि बिताएर ब्रत पूरा गर्नु आफैँमा अद्भूत परम्परा हो ।
छठ पर्वको विधि विधान
छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास रही राति ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ । त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलश सहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । छठपर्व नै यस्तो पर्व हो, जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानपख उदाउँदै सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ । करोडौँ हात अघ्र्यको लागि एकै चोटी सूर्यतिर फर्काएर नमन गर्दाको अद्भूत दृश्य विश्वमै विरलै होला । आस्थाको यही लोक परम्परा आज सर्वजनीन भएको छ, एकान्त आस्थाको प्रतीक भएको छ । विहानीको अध्र्य दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन्, जसलाई ‘पारन’ भनिन्छ ।
घाट क्षेत्रमा केटाकेटीहरू पटाका पड्काइरहेका हुन्छन् । त्यसको आवाज टाढ़ाटाढ़ासम्म गएर वातावरणलाई उल्लासपूर्ण बनाइरहेको हुन्छ । व्रतालु महिलाहरूले नाकदेखि कपालसम्म सिन्दुर लगाएका हुन्छन् । अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै मनमनै प्रार्थना गरिरहेकी हुन्छन्, हे सूर्य, सन्तानलाई सुखशान्ति देऊ, पतिको दीर्घायु देऊ !
प्राचीन ग्रन्थ ऋग्वेदमा भनिएको छ— हे, आकाशकी छोरी उषा मलाई अन्न, धन, छोराछोरी देऊ ! वरदान देऊ कि म सधैँ बिहान ओछ्यानबाट उठेर बलिष्ठ छोराहरूको मुख देख्न सकौँ । (४—११)
सूर्यलाई आदि देउता पनि भनिन्छ । मानव मात्रको उदय भएपछि उसलाई सर्वप्रथम उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने, रोगब्याधिबाट जोगाउने सूर्य नै थिए । स्वभावतः उनी सूर्यप्रति आकर्षित भए र सूर्य अराधनाको क्रम शुरू भयो । छठ पूजामा ‘छठिमाई’ को पूजा गर्ने चलन पनि वैदिक अनुष्ठानमा तान्त्रिक (र स्मात्र्त) अनुष्ठानको सम्मिश्रण रूप नै हो । यो पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले पनि यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूपमा लोकमानसमा ठाउँ पाएको हुन सक्तछ ।

छठी गीतमा सामाजिक सन्दर्भ

छठगीतमा पर्वको विशिष्टता, पवित्रता र भक्तिभाव प्रदर्शित गरिएको हुन्छ भने अर्कोतिर पर्व गर्न नपाउने बाँझीहरूको पीडा पनि अभिव्यक्त भएको हुन्छ ।
गीत गाउने महिलाहरूको टोली गाइरहेका हुन्छन् । गीत प्रस्ट हुँदै जान्छ—
    “उ जे केरबा फरल घओंद से
    ओइ पर सुगा मरड़ाए
    उजे मारबौ रे सुगबा धनुख से
    सुगा गीरे मुरिछाए,
    उजे सुगनी जे रोअले वियोग से
    आदित होखे न सहाय
    उजे नेमुआ जे फरल घओद से
    ओइ पर सुगा मरड़ाए
    मारबौ रे सुगा धनुख से
    सुगा गीरे मुरछाए
    सुगनी जे रोअले वियोग से
    आदित होख ने सहाय

केराको घरीमाथि उडिरहेका सुगालाई हकार्दै यस गीतमा भनिएको छ— न छोऊ है, जुठो नबनाऊ । नत्र धनुषबाणले मार्नेछौँ, तिम्री सुगिनी वियोगले छटपटिन थाल्नेछिन् । फेरि सूर्यलाई नै गुहार्नेछिन्— हे सूर्य, सहायता गर !
अर्को टोलीको पनि गीतको रससिञ्चित बोल उडेर कानमा टक्र्याउँछ—
    “...उजे कांच जे बांसके वहंगिया
    रेशम लागल डोर
    भरिया होएताह फलां भैया
    भार घाटे पहुंचाए
    बाट जे पुछे बटोहिया
    ई भार किनकर जाए
    आन्हर होइहे रे बटोहिया
    ई भार छठी माइके जाए
    हे अरघ देबेला
    हे बांगी लंचकैत जाए... ।

पर्वको अवसरमा अघ्र्य दिन सामग्रीहरूको भारी बोकेर भाइ घाटतिर जाँदै गर्दा कुनै बटुवाले ‘यो भार कहाँ जाँदै छ ?’ सोध्दा व्रतालुहरू आक्रोशित हुँदै भन्छन्— तिमी अन्धो छौ, देख्दैनौ— यो छठी माईको अघ्र्य दिन घाटतिर जाँदै छ ! पूजाप्रतिको एकाग्रतामा कुनै अवरोध सहन सकिँदैन... । अगाध भक्ति र श्रद्धासाथ मनाइन्छ छठ पर्व ।
परालको मुठो बनाएर त्यसमाथि दिओ हाली पानीमा बगाउने क्रम शुरू भइसकेको छ । नदीमा बग्दै गरेको दीयोको झिलिमिली प्रकाशले अद्भुत आनन्द दिन्छ ।
दर्शालुहरु करुण रसमा डुबेको छठ गीतको दोस्रो पाटोमा भिज्न थाल्छन्—
    “छोटी–मोटी तुलसी हो दीनानाथ
    भुइयां लोटे डारि
    सभक दुअरिया हो दीनानाथ
    वजल बधाईं
    बांझीके दुअरिया हो दीनानाथ
    बजर केबार
    सभक अरघबा हो दीनानाथ
    लेल समुझाय
    बांझके अरघबा हो दीनानाथ
    ठाढेÞ रहि जाए...।
पीडाबोध अझ बढ्छ—
    “सासु मारे हुथीका हो दीनानाथ
    ननद लुलुआए
    निरघन पुरुषबा हो दीनानाथ
    बहिया धए निकाल... ।”

बाँझीको घरमा खुसी छैन । सबैको अघ्र्य स्वीकार हुन्छ तर बाँझीको हुँदैन । घरमा सासू कुट्छिन्, नन्द मजाक उडाउँछिन् भने मूर्ख पति घरबाट निक्ल भन्छन् ।
छठ पर्व मनाउने धोको राखेकी महिला सन्तानविहीन छन् भने त्यसले सन्तानको कामना गर्न पर्व गर्छिन् । तर जति चोटि पर्व गरे पनि सन्तान पाउन नसक्ने, महिला अन्ततः बाँझीको रूपमा समाजमा तिरस्कृत हुन पुग्छिन् । उसको पीडा त्यही हो ।
अत्यन्त श्रद्धापूर्वक पूजा गरेँ, नित्य लिपपोत गरी गहबरलाई सफासुग्घर पारेँ, धूप–आरती गरेँ तर पनि बाँझी भनिन छुटिनँ !
    “— गहबर नीपाइते हो दीनानाथ
    तरहत्थिया गेल खिआए
    तैयो न छोड़ल हो दीनानाथ
    बझनियां परधान
    धूपबो जे दैत हो दीनानाथ
    चुटकिया गेल कटाए
    तैयो ने छोड़ल हो दीनानाथ
   बझनियां परधान... ।”

(सबै गीतहरू लेखकको निजी सङ्ग्रहबाट ।)
उपसंहार
छठपर्वमा दुई वटा वस्तुको प्रधानता हुने गर्दछ । एक हाम्रो कृषि प्रधान देश भएकोले यसमा प्रयोग हुने सामग्री खेतीबारीमा उत्पादन हुने बस्तुजातमा आधारित हुन्छन् । यसले धनीदेखि गरिबसम्म पनि सहजै यो पर्व गर्न सक्ने हुन्छन् । अन्य धार्मिक अनुष्ठानजस्तै कसैको आर्थिक दम्भको पीडा खप्नु पर्ने अवस्था यसमा आउँदैन । सबै एकनासले उही गहुँको ठेकुवा, चामलको भुसबा, केरा मुख्य प्रसादको रुपमा चढाउने गर्दछन् । कुनै अतिरिक्त देखावटी गर्न पाइँदैन । त्यसैले एउटा प्रत्यक्ष देउताको सबैले अराधना गर्न पाऊन् भन्ने हाम्रा पुर्खा मनिषीहरुको दीर्घ सोचप्रति नतमस्तक हुनै पर्दछ ।
दोस्रो हो, पर्व प्रतिको अटुट आस्था । जसले यसलाई जीवनको प्रारम्भदेखि नै जनमानसको विश्वाससँग जोडेर राखेको छ । सम्भवतः यही कारण पनि हो आज यस पर्वसँग मिथिलाञ्चलबाहेक पनि प्रशस्त श्रद्धालु जोडिदै गएका छन् ।
हाम्रै नेपालमा अन्य समुदाय पनि यो पर्वप्रति आकर्षित हुँदै गएका छन् । काठमाडौँ, पोखरालगायत अन्य अमैथिल बसोबास भएका ठाउँहरुमा पनि सबै धर्म सम्प्रदायका श्रद्धालुहरुले यो पर्व मनाउन सुरु गरेका छन् । यस पर्वले अहिले पर्यटकीय महत्वसमेत पाउन थालेको छ । देश विदेशका पर्यटकहरु जनकपुरमा पनि पर्वको रौनकताप्रति आकर्षित हुँदै आउने गर्दछन । नेपाल सरकारले छठ पर्वमा एकदिन बिदा दिनुको सट्टा दुई दिन दिनु उपयुक्त देखिन्छ । साँझ र विहानीको अध्र्यको महत्वलाई गम्भीरतापूर्वक लिनु पर्छ । साँझको अध्र्य अस्ताचल सूर्यको अध्र्य हो । डुब्दै गरेको सूर्य अर्थात बूढापाका प्रति सम्मानको भावनाको अभिवृद्धि पनि यसमा निहित भावलाई आत्मसात गर्नु पर्दछ । उदाउनेलाई त सबैले नमन गर्दै आएकै हो ।
यस प्रकार यो पर्व हजारौं वर्षको आस्था र विश्वासको रक्षा गर्दै लोकजीवनको अभिन्न अंगको रुपमा रहँदै आएकोछ ।
जनकपुरधाम 

प्रकाशित: १२ कार्तिक २०७४ ०७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App