१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

४ जिल्लामा वाम गठबन्धन बलियो

बाजुरा – ७ नम्बर प्रदेश कांग्रेसको पकड रहेको क्षेत्रका रूपमा चिनिँदै आएको छ । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी प्रभाव विस्तार भए पनि कांग्रेस नै पहिलो पार्टी भएको थियो। 

असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनमाबाहेक यो प्रदेशमा कांग्रेस नै पहिलो शक्ति हो । प्रदेश ७ का ८८ वटा स्थानीय तहमध्ये एमाले ३९ र कांग्रेसले ३८ स्थानमा जित हात पारेका थिए । तर, मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनमा यो प्रदेशका चार जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन निकै बलियो छ। 

बाजुरामा नौ स्थानीय तहमध्ये ६ तहमा कांग्रेस र  ३ तहमा एमालेले जितेका छन् । एक्लाएक्लै निर्वाचन लड्दा बलियो देखिएको कांग्रेसलाई अहिले वाम गठबन्धनले बाजुरामा पनि कमजोर बनाएको छ । जिल्लामा कम्युनिस्ट गठबन्धनका पक्षमा २७ हजार ४८० मत छ। 

स्थानीय तह निर्वाचनमा कांग्रेसले २२ हजार ७९२, एमालेले २२ हजार ५५ र माओवादीले ४ हजार ४२५ मत ल्याएका थिए । दार्चुलामा ९ वटा स्थानीय तहमध्ये कांग्रेसले ५, एमालेले तीन र माओवादी केन्द्रले १ स्थानमा जित हात पारेका थिए। 

स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार दार्चुलामा पनि कांग्रेसभन्दा वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय तहमा प्राप्त मतका आधारमा दार्चुलामा वाम गठबन्धनका पक्षमा २९ हजार ७३८ मत छ । कांग्रेसले स्थानीय तह निर्वाचनमा २२ हजार १६१ मत ल्याउँदा एमालेले २० हजार ६२६ र माओवादीले नौ हजार ११२ मत पाएका थिए।

यस्तै बैतडीका १० स्थानीय तहमध्ये कांग्रेसले ६, एमालेले ३ र माओवादीले १ तहमा जित हासिल गरेका थिए । स्थानीय तह निर्वाचन मतपरिणामअनुसार बैतडीमा पनि वाम गठबन्धन बलियो देखिन्छ । सोही परिणामका आधारमा वाम गठबन्धनका पक्षमा ४६ हजार १०८ मतदाता रहेको देखिन्छ। राप्रपासँग तालमेल गरेको कांग्रेससँग ३३ हजार चार सय ९१ मत रहेको छ । 

स्थानीय तह निर्वाचनमा बैतडीबाट एमालेले सबैभन्दा बढी २७ हजार ३८९ मत, कांग्रेसले २७ हजार ८७ मत, माओवादीले १८ हजार ७१९ मत र राप्रपाले ६ हजार ४०४ मत पाएका थिए। 

यस्तै बझांगमा १२ स्थानीय तह रहेकामा ८ तहमा एमाले र ४ तहमा कांग्रेस विजयी भएका थिए । स्थानीय चुनाव मतपरिणामअनुसार कांग्रेसको तुलनामा एक्लै बलियो देखिएको एमालेलाई गठबन्धनले झनै मजबुत बनाएको छ । 

बझाङमा स्थानीय तहको मतलाई हेर्दा कांग्रेसभन्दा १५ हजारभन्दा बढी मत वाम गठबन्धनको छ । बझाङमा वाम गठबन्धनसँग ४० हजार ७२२ र कांग्रेससँग २५ हजार ५८१ मत छ । स्थानीय तह निर्वाचनमा एमालेले २८ हजार ५८९ र माओवादीले १२ हजार १३३ मत ल्याएका थिए । 

स्थानीय तहको वडास्तरमा चुनाव लड्ने व्यक्तिको प्रभावका कारण मत घटबढ हुने भएकाले कसले बाजी मार्ला भन्ने अनुमान लगाउन भने सहज नभएको जानकार बताउने गरेका छन्। 

७ नम्बर प्रदेशमा राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका तीनजना नेता यसपटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका छन् । दार्चुलाबाट चुनाव लड्दै आएका कांग्रेस नेता दिलेन्द्रप्रसाद बडु, बाजुराबाट राजनीतिक उचाइ लिएका कांग्रेसकै बद्री पाण्डे र एमालेका कर्ण थापा प्रत्यक्ष चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका हुन् । उनीहरू तीनैजनालाई सम्बन्धित पार्टीहरूले समानुपातिकतर्फ सिफारिस भएका छन्। 

प्रकाशित: १२ कार्तिक २०७४ ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App