१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘प्रजातन्त्रको रक्षा कांग्रेसले गर्छ’

पोखरामा शनिबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा। तस्बिरः उमेश पुन

पोखरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राणा, पञ्चायत र राजा ज्ञानेन्द्रको डरत्रासबाट मुलुकलाई मुक्त गरेको कांग्रेसको काँधमा अब वामपन्थीहरुको डरत्रासबाट पनि मुक्त गराउने जिम्मा आएको बताए । पोखरामा शनिबार विभिन्न दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा देउवाले भने, ‘कांग्रेसले मात्र डरत्रासबाट मुक्त समाज बनाउन सक्छ । प्रजातन्त्रको रक्षा कांग्रेसले मात्र गर्छ ।’  देउवाले ‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नवाम गठबन्धन भएको’ आरोप पनि लगाए ।  ‘निरंकुश शासन लाद्ने प्रयास भइरहेको बताउँदै देउवाले ‘वाम गठबन्धन कांग्रेसविरुद्ध’रहेको बताए। 

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले लोकतन्त्रलाई घोडा बनाउन  खोजेको आरोप लगाए । उनले अबको लडाइँ लोकतन्त्र र साम्यवादीबीचको रहेको बताए । ‘अब हुने निर्वाचन प्रजातन्त्र र साम्यवादीबीचको हो,’ पौडेलले भने, ‘अहिलेको चुनाव पार्टीबीचभन्दा पनि सिद्धान्तबीचको हो ।’एमाले र माओवादीले राज्य संयन्त्रमा पहुँच पु¥याएर सत्ता कब्जा गर्न खोजेको उनले बताए । ‘वाम गठबन्धन बनाएर मुलुकलाई पछाडि लैजाने प्रयास भइरहेको छ,’ उनले भने,‘सहमतिमा बनाएको संविधानदुईतिहाइ ल्याएर उल्ट्याउँछौं भन्नु आपत्तिजनक हो ।’महामन्त्री शशांक कोइरालाले गरिबीलाई देखाएर वाम दलहरूले राजनीति गरेको आरोप लगाउँदै मुलुकमा समृद्धि कायम गर्न सकेउनीहरूको शक्ति कमजोर हुने बताए ।

अखण्ड नेपाल पार्टी कांग्रेसमा मिसियो

निर्वाचनको तिथि नजिकिँदै गएका बेला अखण्ड नेपाल पार्टी कांग्रेसमा मिसिएको छ । केन्द्रीय अध्यक्ष कुमार खड्कासहितका पदाधिकारीलाई शनिबार कांग्रेस सभापति देउवाले पार्टी सदस्यता दिए । अखण्डका ५७ जिल्ला कार्यसमितिसहित सबै नेता कार्यकर्ता अब कांग्रेसमा मिसिएको अध्यक्ष खड्काले बताए । उनले वाम गठबन्धनले कांग्रेसलाई नभई लोकतन्त्र हार्ने चिन्ता रहेको बताए । उनले लोकतन्त्रको रक्षाका लागि सबै प्रजातन्त्रवादी दलबीच एकता जरुरी रहेको बताए । 
राप्रपा नेता केसी कांग्रेसमा 

राप्रपाका नेता तथा यहाँका उद्यमी र समाजसेवी सूर्यबहादुर केसी पनि शनिबार कांग्रेस प्रवेश गरेका छन् । उनले केही दिनअघि नै पोखरामा पत्रकार सम्मेलन गर्दै प्रजातान्त्रिक गठबन्धनलाई सघाउने घोषणा गरेका थिए । शनिबार कांग्रेस प्रवेश गरेपछि केसीले आफूले प्रजातन्त्रको कित्ता रोजेको  बताए । ‘हजारौं मान्छे मार्नेसँग मेरो सहकार्य हुनै सक्दैन,’ केसीले भने । वाम गठबन्धनले गर्दा मुलुकमा मानवअधिकार हनन्, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार खोसिने चिन्ता रहेको बताए। 

यसैबीच काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व मन्त्री एवं माओवादी केन्द्रका नेता नन्दनकुमार दत्त, डा. अबुल अन्सारीसहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । दल अदलबदलले तीव्रता पाइरहेका बेला दत्तसहितका नेता कांग्रेस प्रवेश गरेका हुन् । उनीहरूलाई कांग्रेस केन्द्रीय सदस्य एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टी प्रवेश गराएका हुन्। 

प्रकाशित: १२ कार्तिक २०७४ ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App