१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ज्यान जोखिममा राख्दै चिया मजदुरहरु काममा

सोल्माको चिया बगानमा हरियोपत्ती टिप्दै मजदुर कर्ण पोख्रेल ।

तेह्रथुम- सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा बिगत ३ दशक देखि काम गर्दै आएका मजदुर विष्णु सुवेदीले चिया बगानमा काम गरे यता बिभिन्न रोगले आफुलाई सताएको दुखेसो पोखेकी छिन् । सोल्माको चिया बगानमा काम गर्दै आएकी  सुवेदीलाई अहिले टाउको र हातखुट्टा दुख्ने समस्याले सताएको छ । उनले बगानमा माटो वोक्ने, अर्गानिक विषदी छर्कीने काम समेत गर्दै आएकी छन् । काम गर्ने समयमा स्वास्थ्य सुरक्षाको लागि चाहिने हेलमेट, पञ्जा र बुट जस्ता सामाग्री समेत नलगाई काम गर्नु परेकोले आफ्नो स्वास्थ्यमा समस्या आएको उनले बताएकी छिन्।

यहाँका मजदुरहरु स्वास्थ्य सुरक्षाको चासो नदिई रोजगारीका लागि मात्र काम गर्नु परेको बिगत १५ बर्ष देखि चिया बगानमा काम गर्दै आएका अर्का मजदुर कर्ण प्रसाद पोख्रेलले बताए ।उनले यहाँ निरन्तरकाम गर्ने मजदुरलाई हातमा ठेला उठ्ने, ढाड दुख्ने समस्याले सताउने गरेको बताएका छन्। चिया मजदुरहरु सरकारी हो या अर्धसरकारी मजदुर हो भन्ने बारे समेत अनबिज्ञ रहेको यहाँका मजदुरहरुले बताएका छन् । चिया मजदुरहरुलाई न त पेन्सनको सुविधा । न त वीमा कै सुविधा । सरकारले चिया मजदुरको पहिचानै नगरेको यहाँका  चिया मजदुरहरुले दुखेसो पोखेका छन्।

नेपाल सरकारको मातहतमा संचालित राष्ट्रिय चिया तथा कफि विकास वोर्ड अन्तर्गतमा सोल्मा चिया विस्तार योजनामा सुबेदी र पोख्रेल सहित ७ जना स्थाई मजदुर काम गर्दै आएका छन् । हरियो पत्ती टिप्ने समयमा भने अस्थाई मजदुर समेत यहाँ काम गर्न आउने गरेका छन् । यहाँका चिया उद्योगहरुले वार्षिक २ हजार वढी अस्थाई कामदारलाई रोजागरी दिदै आएको चिया उत्पादक सहकारी संघ तेह्रथुमका अध्यक्ष शंकर खनालले बताए । उनले यहाँ काम गर्ने अस्थाई कामदारको स्वास्थ्य सुरक्षाका लागी यहाँका व्यावसायीहरुलाई चासो नभएको बताएका छन् ।यस अघि उन्नती परियोजनाको सहयोगमा चिया मजदुरहरुका लागि बिभिन्न सचेतनात्मक कार्यक्रम सञ्चालन गरिपछि भने मजदुरहरु आफ्नो सुरक्षाका लागि आवाज उठाउन सक्ने भएका छन्।

चिया मजदुरहरुले वगानमा काम गर्दा बिभिन्न समस्या हुने भए पनि अहिले सम्म यसबारे कसैले चासो नदिएको चिया उत्पादक सहकारी संघ तेह्रथुमका कार्यक्रम संयोजक परास तिम्सिनाले बताए। उनले राष्ट्रिय कफि विकास वोर्ड सोल्मामा अहिले सम्म महिला र पुरुष मजदुरका लागि छुट्टा छुट्टै शौचालय समेत बन्न नसकेको बताएका छन् ।

यता राष्ट्रिय कफि विकास वोर्ड सोल्माका योजना प्रमुख विजय कुमार मिश्रले सरकारी स्वामित्वमा रहेको सोल्मा चिया वगानमा काम गर्ने मजदुरहरुलाई सरकारले तोके बमोजीम आफुहरुले सेवासुबिधा दिने गरेको बताए । उनका अनुसार यहाँका मजदुरहरुले दैनिक २ सय ५३ रुपैयाँ ज्याला पाउने गरेका छन् । यहाँ काम गर्ने अस्थायी मजदुरले ५८ बर्ष सम्म काम गर्न पाउने छन् । त्यसपछी निवृत्त भएर निस्कदा २० हजार रुपैयाँ उपदान र संचायकोष वापत बचत भएको रकम पाउने राष्ट्रिय कफि विकास वोर्ड सोल्माका योजना प्रमुख मिश्रले जानकारी दिए  ।उनका अनुसार जिल्लामा ४ वटा चिया उद्योग संचालनमा रहेको छ भने  करिव ५ हजार रोपनी क्षेत्रफलमा चिया खेती हुदै आएको छ । जिल्लाको साविक २० गाविसमा छिटपुट खेती भएपनि सघन रुपमा भने लालिगुराँस नगरपालिकाको वडा नम्बर ८ र ९ साविका सोल्मा र सुङनाम गाविसमा मात्र खेती विस्तार भएको छ।

जिल्लामा उत्पान हुने हरियोपत्ती चिया गुराँसे टिस्टेटले खरिद गर्ने गरेको छ । चिया उत्पादक सहकारी संघ तेह्रथुमका अध्यक्ष  खनालका अनुसार बिगत चैत्र महिना यतामात्र साबिक सोल्माबाट करिब १ लाख केजी हरियो चिया पत्ती गुराँसे टिस्टेटले खरिद गरेको छ । अहिले यहाँ कार्यरत एक जना मजदुरले दिनमा १२ केजी बढी हरियो पत्ती  टिप्ने गर्दछन् । यहाँको हरियो पत्ती प्रतिकेजी ५६ रुपैयामा ब्रिकी हुदै आएको छ । सोल्मामा उत्पादन भएको अर्थोडक्स चिया भने प्रतिकेजी ६ सय रुपेयाँ देखी बढिमा ७ हजार रुपैया सम्ममा  बिक्री हुँदै आएको छ । यहँ उत्पादित चिया नेपालको काठमाडौ, बिराटनगर, धरान लगायतको बजारमा बिक्री हुने गरेको उद्योगीहरुले बताएका छन् । चिया मजदुरको समस्या समाधान गर्न नेपाल सरकारले चियालाई व्रान्डिङ गर्दै सहज वजारको व्यवस्था गरेर  उद्योगी व्यावसायी तथा मजदुरलाई मजदुरको स्वास्थ्य सुरक्षाका लागि जिम्मेवार बनाउनु पर्ने सरोकारवालले बताएका छन् ।

 

 

प्रकाशित: ११ कार्तिक २०७४ १२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App