१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई मन्त्री तेस्रोपटक प्रतिस्पर्धामा

तेस्रो पटक आमनेसामने भएका गोपालजीजंग शाह र जनार्दन शर्मा उम्मेदवारी दर्तापछि अंकमाल गर्दै । तस्बिर : नागरिक

देवेन्द्र बस्नेत/गणेश विक
दाङ/ रूकुम – एकजना पूर्वमन्त्री अर्का एकजना बहालवाला बिनाविभागीय । सरकारमा प्रतिनिधित्व गरिसकेका यी दुई ‘पात्र’ जनार्दन शर्मा र गोपालजीजंग शाहको चुनावी ‘आमनेसामने’ पश्चिम रुकुममा निकै चासोको विषय बनेको छ। 

रोचक प्रसंग त के छ भने यी दुई अनुहार अहिले तेस्रोपटक आमनेसामने हुँदैछन् । एकले अर्कोलाई हराउँदै एकएक पटक जित निकालेका यी दुवै नेता यसपटक जसरी पनि जित्ने रणनीतिमा छन् । यी दुई नेताहरु २०४८ देखि एकअर्कासँग भिड्दै आएका छन् । ‘अहिले तेस्रो भिडन्त हो,’ कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोपाल भन्छन्, ‘मैले सहजै बाजी मार्नेछु ।’ यी दुवै नेताहरुले यो प्रतिस्पर्धालाई ‘फाइनल गेम’ भनेका छन् । उम्मेदवारी दर्तापछि जनार्दनलाई अंकमाल गर्दै गोपालले भनेका थिए ‘भाइ (जनार्दन) ले जित्नुभयो, एक पटक मैले जितें, यो हामी दुवैका लागि फाइनल गेम हो ।’ जनार्दनले पनि ठट्यौली पारामा जबाफ दिएका थिए, ‘दाईसँग पनि मेरो के को प्रतिस्पर्धा, दाइले आशीर्वाद दिने हो, भाइले चुनाव जित्ने हो।’ 

२०४८ मा शाह नेपाली कांग्रेसबाट रुकुम २ मा उम्मेदवार चुनिए । उतिबेलाका संयुक्त जनमोर्चाका नेता जनार्दन उनका बलिया प्रतिस्पर्धी थिए । झन्डै १ हजार ३ सय मतले जनार्दनलाई गोपालले हराइदिए । ‘त्यस बेला १३ सय मतको अन्तर परेको थियो,’ गोपाल सम्झन्छन् । २०५१ मा पुनः चुनावमा भिडेका गोपालले त्यस बेला भने जनार्दनलाई प्रतिस्पर्धी पाएनन् । जनार्दन माओवादी युद्ध मोर्चामा थिए । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जनार्दन माओवादीबाट प्रतिनिधित्व गर्दै निर्वाचनमा होमिए । तर त्यस बेला कांग्रेसबाट गोपाल उम्मेदवार थिएनन् । जनार्दनले त्यस बेला बाजी मारे भने समानुपातिक उम्मेदवार सूचीमा परेका गोपाल सभासद् बन्नबाट चुके। 

संविधानसभा २०७० मा यी दुवै नेता आमनेसामने भए । जनार्दनलाई २०४८ मा व्यहोर्नुपरेको हारको बदला लिनु थियो भने गोपाललाई जित दोहो¥याउनु थियो । तर जनार्दनले २०४८ मा व्यहोरेको हारको ‘सट्टा’ फेरे । त्यो पनि निकै फराकिलो मतान्तरसहित । ‘२०७० मा उहाँले मलाई पराजित गर्नुभयो,’ गोपाल भन्छन्, ‘त्यो बेलाको हारको कारण धङधङीले पनि प्रभाव पारेको हो ।’ उनीहरु अहिले तेस्रो पटक पुनः एकले अर्कालाई हराउने रणनीतिका साथ आमनेसामने बनेका छन् । उनीहरु दुवैजना एकले अर्कोलाई हराएर जित दोहो¥याउने कसरतमा छन्।  

रुकुम माओवादीको उद्गमथलोकै रुपमा चिनिन्छ । रोल्पासँगै उसको आधार इलाका भनेर जोडिने दोस्रो जिल्लामा रुकुम पर्दछ । स्थानीय तहमा देखिएको फराकिलो जित, त्यसमापनि माओवादीका प्रभावशाली नेता नै उम्मेवार बनेका कारण माओवादीले आफ्नो जित ‘पक्का’ जस्तै देखिसकेको छ । अझ वाम गठबन्धन बनाएर चुनावमा होमिएको एमाले समेतको साथ माओवादीलाई हुने भएपछि माओवादीले आफूलाई हार भन्दा धेरै टाढा देखिसकेको छ। 

स्थानीय तहको निर्वाचनको पश्चिम रुकुमको मत परिणामलाई हेर्ने हो भने पनि कांग्रेसभन्दा माओवादी ८ हजार मतले बढी देखिन्छ । माओवादीको कुल मत २७ हजार हो भने कांग्रेसको १९ हजार । गठबन्धनको निर्देशन पालना भएमा तेस्रो स्थानमा रहेको एमालेको कुल १० हजार मत माओवादीमा गाभिनेछ । यसरी कांग्रेसभन्दा माओवादी धेरै अगाडि आउने आकलन गरिएको छ । तर कांग्रेसका गोपाल भन्छन्, ‘रोचक प्रतिस्पर्धामा मेरो उपस्थिति रहनेछ।’ 

उनका अनुसार २०७० मा भएजस्तो सहज जित माओवादीका लागि अहिले हुने छैन । उनले भने, ‘त्यो बेला माओवादीको धङधङीले ठूलो काम गरेको हो, तर अहिले त्यो अवस्था छैन ।’ यसैगरी एमालेको मत पूरै माओवादीमा नजाने दाबी उनले गरे । यसको कारण अहिलेको निर्वाचनमा पश्चिम रुकुममा माओवादी एक्लै हाबी हुनुलाई बताए । ‘एमालेले न प्रतिनिधिसभामा उम्मेदवारी पायो न त प्रदेशमा,’ उनी भन्छन्, ‘यसले पनि एमालेको मत आधा जाँदैन भन्नेमा म ढुक्क छु ।’ यस्तै नयाँ शक्ति पार्टीका रुकुम केन्द्रीय सदस्य निर्वाचनमा होमिएका कारण माओवादीको भोट काट्ने आकलन गरिएको छ । २०७० को निर्वाचनमा माओवादीका जिल्ला संयोजक रहेका सरुण बाठा अहिले नयाँ शक्तिबाट उम्मेदवार बनेकाले उनको आफ्नो पुरानो प्रभावले माओवादीको भोट काट्न सक्ने आकलन गरिएको छ। 

माओवादी आधार क्षेत्र रुकुममा दोस्रो स्थानमा रहेको कांग्रेसले चुनाव जित्न सक्ने मुख्य आधार यिनै कारणलाई बनाएको छ । ‘हाम्रो यो आकलनअनुसार अहिले माओवादीलाई सजिलो पक्कै छैन,’ गोपाल भन्छन्, ‘हामी जितको लक्ष्यमा छौं ।’ त्यसो त, पञ्चायतकाल २०३८ मा श्रम सहायकमन्त्री भइसकेका गोपालको प्रभाव रुकुममा राम्रो मानिन्छ । २०५२ मा पुनः सहायक मन्त्री दोहोरिएका उनी २०५३ मा वाणिज्य राज्यमन्त्री भएका थिए। 

जनार्दन पनि तीन कार्यकाल मन्त्रिमण्डलमा प्रतिनिधित्व गरिसकेका छन् । उनी २०६४ मा शान्तिमन्त्री बनेका थिए भने २०७३ मा ऊर्जा र २०७४ मा गृहमन्त्री बनेका थिए । 

 

 

प्रकाशित: ९ कार्तिक २०७४ ०२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App