१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘ब्याक’ भए बागी

नेपालगन्ज – टिकट वितरणमा असन्तुष्टि पोख्दै दर्ता भएका अधिकांश स्वतन्त्र उम्मेदवारी फिर्ता भएका छन् । स्वतन्त्र उम्मेदवारहरूले वाम वा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् । यसले गर्दा प्रायः सबै जिल्लामा द्विपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले नेता गोविन्दविक्रम शाहको उम्मेदवारी फिर्ताले जाजरकोटमा माओवादी नेता शक्तिबहादुर बस्नेतलाई ठूलो राहत मिलेको छ । जिल्लाको प्रतिनिधिसभा सदस्यमा शाहले उम्मेदवारी दिएका थिए । गठबन्धनको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै पार्टीका तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशको क्षेत्र ‘क’ मा एमालेका निरज आचार्य र ‘ख’ मा माओवादी केन्द्रका नरबहादुर कार्कीले उम्मेदवारी दिएका थिए । गठबन्धनको कार्यदलले गरेको पछिल्लो निर्णयअनुसार दवैले उम्मेदवारी फिर्ता लिएको बताइएको छ । सुरुमा जाजरकोटका प्रदेशसभाका दुईटै सिट एमालेलाई दिने भनिए पनि पछि ‘क’ माओवादीलाई दिने निर्णय भएको थियो।

जाजरकोटमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका वीरबहादुर मल्लले कांग्रेसका राजीवविक्रम शाहलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै प्रदेश ‘क’ मा उम्मेदवारी दिएका कृष्णविक्रम मल्ल र ‘ख’ मा उम्मेदवारी दिएका लालबहादुर रावतले पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएका छन् । अब जाजरकोटका तीनै क्षेत्रमा वाम र लोकतान्त्रिक गठबन्धनबीच द्विपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

मुगुका तीनै सिट गठबन्धनले एमालेलाई दिएपछि माओवादी केन्द्रका तर्पmबाट परेका उम्मेदवारी पनि फिर्ता भएका छन् । प्रतिनिधिसभामा आफ्नै पार्टीका गोपाल बमविरुद्ध बागी हालेका कार्मा नोर्बेल तामाङले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब मुगुमा मुख्यतः दुई दलका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुनेछ।

हुम्लामा प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता एवं पूर्वसहायकमन्त्री छक्कबहादुर लामाले उम्मेदवारी फिर्ता लिएनन् । पार्टी अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरी राष्ट्रियसभाका लागि सिट सुरक्षित गरिदिने आश्वासन दिए पनि उनी ‘ब्याक’ भएनन् । निर्वाचन आयोगले उनलाई कलम चुनाव चिह्न प्रदान गरेको छ।

प्रदेशको ‘क’ मा स्वतन्त्र उम्मेदवारी दिएका माओवादीका लालकेश जैशीले भने वाम गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका छिमी दोर्जेले गठबन्धनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए। 

प्रतिनिधिसभामै उम्मेदवारी दिएका राप्रपा प्रजातान्त्रिकका लालबहादुर शाहीले भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मंगलबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए । प्रदेशसभामा उम्मेदवारी दिएका जय बोहोरा, कालीबहादुर शाही र भ्याल्ली भण्डारीले पनि आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

पूर्वी रुकुममा आप्mनै दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएका माओवादी केन्द्रका उम्मेदवारले पनि मनोनयन फिर्ता लिएका छन् । तेजेन्द्र खाममगर र पुनिराज घर्तीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सूचीमा समावेश गर्ने आश्वासनपछि उम्मेदवारी फिर्ता लिएको बताइएको छ।

(जनक केसी– जाजरकोट, जनक शाही– हुम्ला, सुमन मल्ल– मुगु र गणेश बिक– रुकुम)

प्रकाशित: ९ कार्तिक २०७४ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App