१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मनोनयन फिर्ता गर्न निर्धारित समयमा नपुग्दा...

खोटाङ– निर्धारित समयमा नपुग्दा खोटाङमा राप्रपा प्रजातान्त्रिकका उम्मेद्वारले मनोनयन फिर्ता गर्न पाएनन्। निर्वाचनमा काँग्रेसलाई सघाउने केन्द्रीय सहमतिअनुसार मनोनयन फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार १ बजेपछि पुग्दा राप्रपा प्रजातान्त्रिककातर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका धर्मराज पोखरेल मनोनयन फिर्ता गर्नबाट बञ्चित भएका हुन्।

१० बजेदेखि दिउँसो १ बजेभित्रमा मनोनयन फिर्ता लिन सकिने निर्वाचन आयोगको कार्य तालिका भए पनि उम्मेद्वार पोखरेल झण्डै ४ बजेमात्र पुगेकाले मनोनयन फिर्ता नभएको सहायक निर्वाचन अधिकृत प्रदीपकुमार उपाध्ययले बताए। कतिपयले भने नोमिनेसन फिर्ता नगर्ने मनोस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढिलो पुगेको अर्थ लगाइरहेका छन्। समयमा नपुग्दा अर्का एक उम्मेद्वार समेत मनोनयन फिर्ता गर्नबाट बञ्चित बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नयाँ शक्तिका दुई उम्मेद्वारको मनोनयन फिर्ता 
खोटाङमा नयाँ शक्ति नेपालका दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएको छ। प्रतिनिधिसभा सदस्यमा उठेका कृषिविज्ञ मदन राईलाई जिताउनका लागि अन्य दलसँग छलफल चलिरहँदा प्रदेशसभामा उठेका दुई उम्मेद्वारले मनोनयन फिर्ता गरेका हुन्। तालमेल गर्दै संघमा राईको सुनिश्चितताका लागि क्षेत्र नम्बर १ बाट प्रदेशसभामा उठेका मोहन गुरुङ र क्षेत्र नम्बर २ बाट उठेका मनी राईलाई ‘व्याक’ गरिएको नयाँ शक्तिका नेता सुर्यबहादुर राईले बताए। निर्वाचन आयोगले निर्धाण गरेको मनोनयन फिर्ता गर्ने समय बुधबार बिहान १० बजेदेखि १ बजेभित्रमा उम्मेद्वारद्वयले मनोनयन फिर्ता लिएका हुन्।

‘संघमा मदन राईलाई जिताउनका लागि अन्य दलसँग तालमेल गरेर जानका लागि छलफल चलाइरहेका छौँ,’ राईले भने, ‘छलफल टुंगिएपछि मनोनयन फिर्ता लिन सम्भव नहुने भएकाले छलफलकैक्रममा प्रदेशसभाका उम्मेद्वारको मनोनयन फिर्ता गरिएको हो।’ 

आगामी मंसिर १० गते हुने प्रदेशसभामा चुनिने दुई जना र प्रतिनिधिसभा सदस्यमा चुनिने एक जना सदस्यका लागि खोटाङमा कांग्रेस, एमाले–माओबादी गठबन्धन, संघीय समाजबादी फोरम, नयाँ शक्ती, नेकपा माले, राष्ट्रिय जनता पार्टी नेपाल, राप्रपा प्रजातान्त्रिक, नेशनल मंगोल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ती, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका पार्टीका २१ उम्मेद्वारले मनोनयन दर्ता गराएका थिए। 

प्रकाशित: ८ कार्तिक २०७४ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App