निर्माण कार्यमा सुरक्षा जिम्मेवारी

बुधबार, ०८ कार्तिक २०७४, १० : ०६ रामराज शर्मा

देश राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तनको संघारबाट गुजँ्रदैछ । धेरै वर्षदेखि साना तथा ठूला निर्माण कार्य निरन्तर भइरहेका छन् । आर्थिक परिवर्तनको पहिलो खुड्किलो नै भौतिक निर्माणको सुरुवात हो । सडक होस् या नयाँ बस्तीको विकास, ठूलाठूला उद्योग हुन् या सिँचाइ नहर र जलविद्युत् आयोजना, खानेपनिका आयोजना हुन् या ढल निकासका परियोजना सबै निर्माण कार्य आर्थिक परिवर्तनका उपज हुन् । अहिले हामी यिनै भौतिक पूर्वाधारको निरन्तर निर्माणका क्रममा छौँ । विकास प्रक्रियालाई समुचित तरिकाबाट सञ्चालन गर्न सकिएन भने निर्माण क्रम र निर्माण सम्पन्नपश्चात पनि निरन्तर विनाश निम्त्याउने कारण बन्न सक्छन् । धेरै वर्षदेखि हाम्रा निर्माण कार्यमा संग्लन जनशक्तिले निर्माण सुरक्षा कमजोरीका कारण विभिन्न दुर्घटनामा परी ज्यान गुमाउनु परिरहेको छ ।

केही महिनापहिले निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवले एक टेलिभिजन अन्तर्वार्तामा धक नमानी भन्नुभयो– सीतापाइलामा रातको समयमा पाइपलाइनका लागि खाल्टो (ट्रेन्च) खनेर पाइप बिछ्याउँदा तीनजना कामदारको उक्त ट्रेन्चमै माटोले पुरिएर मृत्यु भयो र उनीहरूका परिवारलाई एघार लाखका दरले क्षतिपूर्ति दिँदै सामसुम पारियो । उहाँका अनुसार उक्त दुर्घटना हुँदा सचिव सोही काम निरीक्षण गरिरहनुभएको थियो । उहाँले आफू रातभर पनि काममा खटिइरहेको र निकै क्रियाशील रहेको बताउँदै गर्दा उक्त दुर्घटनाको जिम्मेवार आफू पनि रहेको बिर्सिनुभयो ।

उक्त दुर्घटनाको प्रकृति हेर्दा निर्माण कार्यमा आवश्यक सुरक्षा नअपनाउँदा घटना हुन पुगेको प्रस्टै छ । रातको समयमा जमिनमा खाल्टो खन्दा सामान्य आवश्यक सुरक्षा प्रविधि र उपकरण प्रयोग गराउने काम सम्बन्धित निर्माण व्यवसायी, परामर्शदाता र निरीक्षण अधिकारीको हो । निम्नतम सुरक्षा सावधानीबिना कामदारलाई काम गराउन मिल्दैन र आवश्यक सुरक्षा प्रविधि नअपनाइ निर्माण कार्यमा कामदारलाई काम गराइमा संग्लन अधिकारीहरू जवाफदेही हुनुपर्छ । कारबाहीको भागीदारी पनि हुनुपर्छ, कामदारले पनि काम गर्नुहुँदैन । यसर्थ उक्त दिन निरीक्षणमा रहनुभएका सचिवले पनि उक्त दुर्घटनाका जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ, सामान्य सुरक्षाबिहीन निर्माण कार्य उहाँले रोक्न लगाउनुपथ्र्यो ।

देशको राजधानीभित्रै त्यो पनि अहिलेको सबैभन्दा चर्चित र ठूलो आयोजना मेलम्चीको निर्माण कार्यमा सामान्य ट्रेन्चमा (सचिवका अनुसार २.५ मिटर गहिरो) पाइप बिछ्याउँदा तीनजना मजदुरको मृत्यु हुनु लापरबाहीको उच्चतम नमुना हो । माटोको प्रकृति हेरेर निश्चित गहिराइभन्दा तल खन्नुपरेमा दुवैतर्फ टेका लगाएर कामदारले आवश्यक सुरक्षाका पहिरन प्रयोग गरेरमात्र काम गर्नु÷गराउनुपर्नेमा त्यो सावधानी गरेको देखिन्न । यस्तो लापरबाही कार्य गराउने निर्माण सुरक्षा अधिकृतदेखि माथिल्ला अधिकारीहरूलाई कारबाहीको दायरामा ल्याउने कडा कानुन नबनेसम्म यस्ता दुर्घटना दोहोरिरहने छन् । अरु कैयौंले ज्यान गुमाउनुपर्नेछ ।

साधारणतया कुनै पनि निर्माण कार्यको ठेक्का दिँदा स्वास्थ्य र सुरक्षा अधिकृत नियुक्ति गर्नुपर्ने सामान्य नियम छ । ठेकेदारले एकजनाको नाम राखेर उक्त पदमा भर्ती त गरेको हुन्छ तर वास्ताविकतामा त्यो कागजी प्रक्रियामै सीमित हुन्छ । त्यस्तो अधिकृतलाई स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य नियम पनि थाहा हुँदैन । कम्तीमा निर्माण कार्यमा संलग्न कामदार, कर्मचारी, बटुवा र प्रभावित सर्वसाधारणको न्यूनतम सुरक्षा निर्माण अबवधिभर के÷कसरी गर्न सकिन्छ, सम्भावित दुर्घटनास्थलकुन कुन हुन्, दुर्घटना भइहालेमा कसरी समाधान गर्ने भन्ने कार्यविधि तयार पारेर उक्त त्यसलाई निर्माण अवधिभर स्वास्थ्य सुरक्षा अधिकृतको निरन्तर निगरानीमा कार्यान्वयन नगर्ने हो भने निर्माणस्थल दुर्घटनाको मुहान बन्न सक्छ ।

निर्माण कार्यमा संग्लन कामदारले कामको प्रकृतिअनुसार आवश्यक पिपिइ अर्थात व्यक्तिगत सुरक्षा उपकरणहरूको प्रयोग अनिवार्यरूपमा गर्नुपर्छ । कामदारले आवश्यक उपकरण प्रयोग गरे÷नगरेको निरीक्षण स्वास्थ्य सुरक्षा अधिकारीले गर्नुपर्छ । सेफ्टी हेल्मेट, निर्माणपन्जा, बुट, निर्माण चश्मा, मास्क, ध्वनि नियन्त्रक हेड्फोन, रातमा टल्किने ज्याकेट वा बस्त्र, जस्ता सुरक्षाका न्यूनतम उपकरण निर्माण कम्पनीले कामदारलाई अनिवार्य उपलब्ध गराउनुपर्छ । कामको प्रकृतिअनुसार आवश्यक उपकरण पहिरिन अनिवार्य गराउनु उक्त अधिकृतको जिम्मेवारी हो । केही प्रतिष्ठित र ठूला निर्माण कम्पनीले सुरक्षा अधिकृत राखेर कामदारलाई पिपिइ उपकरण उपलब्ध गराउँदै काम गराइरहेका पनि छन् तर अधिकांश निर्माण कम्पनीले यो प्रक्रियालाई बेवास्ता गरिरहेका देखिन्छ । निश्चित मापदण्ड बनाएर स्वास्थ्य सुरक्षा अधिकृतको निगरानीमा प्रत्येक कामदारले पिपिइ उपकरण प्रयोग नगरी कार्यक्षेत्रमा प्रवेश गर्न नपाउने कडा प्रावधान नराख्ने हो भने अहिलेको अवस्थामा सुधार हुने देखिन्न ।

निर्माण क्षेत्रमा धेरै दुर्घटना हुन सक्ने सम्भावित ठाँउहरूमध्ये अग्लो उचाइमा काम गर्दा जस्तै अग्ला अग्ला भवनमा,चलायमान उपकरण जस्तै एक्साभेटर, डोजर र क्रेन तथा तिनस्हरूकोआसपासमा, गहिरो खाल्टो वा ट्रेन्च खन्ने काम गर्दा, बिजुलीसम्बन्धी वा बिजुली लाइन नजिक आदि हुन् । कामदारको स्वास्थमा प्रतिकूल असर पार्न सक्ने काममा जस्तै एस्बेस्टसको काम, गह«ौँ वस्तु उचाल्नुपर्ने काम, चर्को आवाज तथा थर्कावट आउने काम र रासायनिक वस्तुसम्बन्धी आदि हुन् । यी फरकफरक कामका लागि कामदारले फरकफरक सुरक्षा उपकरण पहिरनु पर्ने हुन्छ ।आवश्यक सावधानी अपनाउने हो भने दुर्घटना रोक्न सकिन्छ ।

अग्लो ठाउँमा काम गर्दा अनिवार्यरूपमा हेल्मेट र सेफ्टी हुकको प्रयोग गर्ने तथा सम्भावित निर्माण सामग्री खस्ने ठाउँहरूमा जालीहरूको प्रयोग गर्ने गर्नुपर्छ । खाल्टो वा ट्रेन्च खन्ने काम गर्दा निश्चित गहिराइभन्दा तल खन्नुपरेमा दुवैतिर बलियो टेको राख्ने, पानी तान्ने पम्पको व्यवस्था गर्ने, कतिपय ठाउँमा गहिराइअनुसार अक्सिजन सिलिन्डर र टर्चलाइटको व्यवस्था गर्ने र कामदारले आवश्यक पिपिइ पहिरिने गर्नुपर्छ । कुनै गह«ौँ वस्तु उचाल्नु र सार्नुपरेमा उपयुक्त उपकरण प्रयोग गर्ने, चर्को ध्वनिबाट बच्न ध्वनि रोक्ने हेडफोन प्रयोग गर्ने, आवश्यकताअनुसार मास्क प्रयोग गर्ने, बेल्डिङ जस्ता कार्यमा उपयुक्त चश्मा पहिरिने जस्ता आधारभूत प्रयोगले धेरै दुर्घटना रोक्न सकिन्छ । सुरुङ्ग र साँगुरा ( कन्फाइन्डस्पेस) स्थानमा काम गर्दा कामदारलाई विशेष तालिम दिनु आवश्यक छ । सुरक्षाका उपकरणहरू पनि अन्य सामान्य निर्माणभन्दा भिन्न हुने हुँदा विशेष निगरानीका साथ प्रयोग र अनुगमन हुनु जरुरी छ । यसैगरी विद्युत्सम्बन्धी कामका लागि पनि विशेष ध्यान राख्नुपर्छ ।

प्रत्येक निर्माणस्थलमा आधारभूत प्राथमिक स्वास्थ्यका समान अनिवार्यरूपले राख्नुपर्ने, कामदारहरूलाई सुविधा हुनेगरी चर्पीको व्यवथा गर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने, निर्माण कार्यमा संग्लन सबैलाई सामान्य निर्माण सुरक्षा र स्वास्थ्यको तालिम अनिवार्य गर्ने, आवश्यक पिपिइ पहिरन नगर्नेलाई निर्माण क्षेत्रमा प्रवेश निषेध गर्नेजस्ता आधारभूत नियमलाई कडाइका साथ लागु गराउनुपर्छ ।

विद्युत् आयोजनाहरूको डाइभर्सन ड्यामको संरचनागत बनावट र पहाडी क्षेत्रमा सडक निर्माण गर्दा छेउ र भित्तापट्टिको भूगोलको गहिरो अध्ययन गर्नु जरुरी छ कुनै कारणबस डाइभर्सन ड्याम फेल हुने वा सडकमा पहिरो खस्ने हो भने धेरै ठूलो खती हुनसक्छ । ब्लास्टिङ्ग, ड्रिलिङ्ग , पुराना संरचना भत्काउने कामर बेल्डिङ तथा विद्युत्का काम सम्बन्धित क्षेत्रका दक्ष कामदारलाई पूर्ण पिपिइ प्रयोग गरेरमात्र गराउने गर्नुपर्छ । निर्माणको अवधि, निर्माण कम्पनीको, परामर्शदाता र अन्य सरोकारवालाको प्रस्ट जानकारी सर्वसाधारणले देख्नेगरी राख्ने, विशेष सतर्क अपनाउनुपर्ने स्थान, जस्तै– बिस्फोटक पदार्थ भण्डारण, विद्युतीय लाइन अन्य खतराजन्य स्थान र वस्तुहरूका लागि अतिरिक्त साइनबोर्ड राख्दै सबैलाई सचेत गराइरहनुपर्छ ।

निर्माणस्थल र वरपर सर्वसाधारण तथा बटुवाको सुरक्षाको जिम्मा पनि निर्माण व्यवस्थापकको जिम्मेवारीभित्र पर्छ । निर्माणस्थललाई चारैतिरबाट घेरेर सर्वसाधारण सजिलै जान नसक्ने बनाउनुपर्छ । बटुवालाई वैकल्पिक र सुरक्षित मार्गको व्यवस्था गर्नुपर्छ । ठाउँठाउँमा आवश्यक जानकारीमूलक साइनबोर्डहरू राख्नुपर्छ । रातको समयमा चम्किने किसिमका बारअथवा चम्किने टेपहरू लगाउनुपर्छ । सडकमा विशेष ट्राफिक चिह्न राख्ने, कतै खाल्टा छन् भने चारैतिरबाट खाल्टालाई छेक्ने,उक्त छेकबारमा रातमा टल्किने टेपहरू टाँस्ने जस्ता साधारण साबधानीका उपाय अपनाउँदा धेरै दुर्घटना टार्न सकिन्छ ।

निर्माण कार्यमा सुरक्षा अधिकृतको लापरबाही र कामदारलाई न्यूनतम आवश्यक सुरक्षा उपकरण र वातावरण उपलब्ध गराउन नसक्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कार्बाही हुने प्रावधान राख्दै निर्माण कार्यसम्बन्धी अदालत गठन हुनु जरुरी छ । सबैलाई आफ्नो जिम्मेवारी बहन गर्न कानुनीरूपमै बाध्य पार्नुपर्छ । यसो गर्नाले हाम्रा निर्माण कम्पनी पनि विश्व सुरक्षा गुणका दृष्टिकोणबाट गुणस्तरीय हुनेछन् र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अगाडि आउनेछन् ।

संसारका ठूलाठूला प्रोजेक्टहरू न्यून जनशक्तिको क्षतिबाट सम्पन्न गरेका उदाहरण प्रशस्तै छन् । संसारकै अग्लो भवन बुर्जखालिफा निर्माणका क्रममा एकजनाले मात्रै ज्यान गुमाएको,अघिल्लो वर्ष सम्पन्न अद्भूत पनामा नहर बिस्तार आयोजनामा नौ वर्षको अवधिमा सातजनाको मृत्यु, स्विजरल्यान्डद्वारा निर्मित विश्वकै लामो र गहिरो रेल सुरुङ (जसको लम्बाइ ५७ किलोमिटर छ) को निर्माण क्रममा नौजनाको मृत्यु भएको थियो । हामी पनि अब ठूलाठूला आयोजना काठमाडौं–निजगढ द्रुतमार्ग, भेरी–बबई डाइभर्सन, बूढीगण्डकी, पश्चिमसेती र कर्णाली जलविद्युत् जस्ता आयोजना निर्माण गर्ने क्रममा छौँ । निर्माण कार्यका लागि निश्चित मापदण्डसहितको स्वास्थ्य सुरक्षा नियम बनाएर कडाइका साथ लागु गर्ने हो भने निर्माण अवधिमा हुने दुर्घटना न्यून गर्न सकिन्छ र निर्माण कार्यलाई सुरक्षित उद्योगका रूपमा विस्तार गर्न सकिन्छ ।

जलविद्युत् विशेषज्ञका रूपमा बेलायतमा कार्यरत

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad