१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पोलियो थोपा खाने घट्दा रोग बल्झिने त्रास

काठमाडौं- दक्षिणपूर्वी एसिया पोलियोमुक्त घोषित भए पनि पोलियोको जोखिम घटेको छैन ।  पोलियो खोप लिनेका संख्या घट्दा जोखिम झन् बढेको छ । कुनै समयमा पोलियो खोपको कभरेज लक्ष्यभन्दा बढी  १ सय १७ प्रतिशत पुगेको थियो अहिले भने ७० प्रतिशत हाराहारीमा झरेको छ ।

कुनै ठाउँमा तीन वर्षसम्म पोलियोका नयाँ रोगी भेटिएनन् भने त्यसलाई पोलियोमुक्त घोषित गरिन्छ । अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी भेटिने क्रम रोकिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० सम्ममा नेपाललगायत आफ्ना सबै सदस्य राष्ट्रमा पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ । अहिले नयाँ बिरामी नभेटिएका देशले विशेष अभियान सञ्चालन नगरी नियमित खोप कार्यक्रममार्फत नै पोलियो थोपा (खोप) दिने गरेका छन् ।

नेपालमा सन् २०१० देखि पोलियोका नयाँ बिरामी भेटिएका छैनन् । विश्व स्वास्थ्य संगठनले नेपाललगायत दक्षिणपूर्वी एसियालाई सन् २०१४ मा पोलियोमुक्त क्षेत्र घोषणा गरेको थियो । पोलियो निर्मूल नहुँदासम्म मानिस आवतजावतका कारण एक ठाउँबाट अर्को ठाउँमा रोग पुग्नसक्ने जोखिम कायमै रहन्छ । कतिपय देशले अझै संक्रमण भएका देशमा जाँदा र फर्किंदासमेत खोप दिने गरे पनि नेपालले त्यस्तो कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

राष्ट्रिय पोलियो उन्मूलन प्रमाणीकरण समितिका सदस्य डा. बद्रीराज पाण्डेका अनुसार नेपालमा पोलियो रोग छैन भन्ने धारणा बढ्दै जाँदा पोलियो थोपा खुवाउने प्रचलन घट्दै गएको छ । ‘अब पोलियो रोग सकियो, थोपा खुवाउनुपर्दैन भन्ने धारणा छ, जुन गलत हो,’ डा. पाण्डेले भने ।

नेपालमा सन् २००० देखि २००४ सम्म पोलियोका नयाँ बिरामी भेटिएका थिएनन् तर त्यसपछिका तीन वर्ष बिरामी भेटिए । सन् २००९ मा बिरामी भेटिएनन् तर २०१० मा रौतहटमा ६ जनामा पोलियो भेटिएको थियो । त्यसपछि नेपालमा पोलियोका नयाँ बिरामी भेटिएका छैनन् ।

एउटामात्रै पोलियो रोगी भेटिए पनि ठूलो जनस्वास्थ्य अजेन्डा बन्ने र त्यसले पर्यटनमा समेत ठूलो असर पार्छ ।

विश्वभर अक्टोबर २४ मा मनाइँदै आएको पोलियो दिवसका अवसरमा पोलियो उन्मूलन अभियानका सदस्य एवं सरकारी अधिकारीले समेत खोप कभरेज घट्दा जोखिम बढ्न सक्ने चेतावनी दिएका छन् । नेपालमा पोलियो खोप अभियानमा विश्व स्वास्थ्य संगठन, युनिसेफ, रोटरी, गाभीलगायतका संस्थाले नियमित सहयोग गर्दै आएका छन् ।

विश्वभर पोलियो उन्मूलन अभियानमा सहयोग गर्दै आएको संस्था रोटरीका तर्फबाट नेपाल नेसनल पोलियो प्लस कमिटीका अध्यक्ष रत्नमान शाक्यले नियमित खोप अभियानमा दुई थोपा पोलियो खुवाएर रोग फर्किन सक्ने जोखिम घटाउन आवश्यक भएको बताए । ‘रोगको भाइरसले आक्रमण गरेपछि उपचार सम्भव छैन, बालबालिकालाई रोगबाट जोगाउने विकल्प भनेको खोप खुवाउनुमात्रै हो,’ शाक्यले भने ।

शाक्यका अनुसार यो वर्ष रोटरीले काठमाडौंलगायत १८ जिल्लामा पोलियो खोपबारे जनचेतना बढाउन कार्यक्रम  आयोजना गरेको छ ।

पोलियो रोग दिसाका माध्यमले सहजै सर्छ । यो रोग लागेमा सुरुमा ज्वरो आउने, टाउको हातखुट्टा दुख्ने, थकाइ लाग्ने, केही दिनपछि एक्कासि लुलोपन बढ्दै जान्छ । यसले बच्चालाई मृत्यु गराउनेदेखि जीवनभर अपांग बनाउन सक्छ । पोलियो लागिसकेपछि यसको उपचार छैन ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार पछिल्लो अवस्थामा खोप लगाउनुपर्ने उमेरका १३ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छैनन् । तीन प्रतिशतले कुनै पनि खोप पाएका छैनन् ।

प्रकाशित: ८ कार्तिक २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App