१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

उम्मेदवारी र परिणाम आकलन

पहिलो चरणका लागि संघ र प्रदेशको निर्वाचनको मनोनयन दर्ता भएको छ । मुलुकमा नयाँ कायम ७७ मध्ये ३२ जिल्लामा यो निर्वाचन हुँदैछ । जिल्लाको संख्याका आधारमा ४३ प्रतिशत जिल्लामा निर्वाचन हँुदैछ । तर निर्वाचन क्षेत्रको हिसावले १६५ मध्ये केवल ३७ वटामा मात्रै निर्वाचन हुने भएको हो । निर्वाचन संख्याका आधारमा २२ प्रतिशतका लागिमात्रै मनोनयन भएको छ ।

स्थानीय तहमा पाएको विजय प्रदेश वा संघमा हुबहु लागु हुँदैन । यसले ल्याउने परिणामको अन्तर अर्को पनि हुन सक्छ ।

निर्वाचन आयोगले हिमाली र उच्च पहाडी भनी छुट्याएका ३२ जिल्लामध्ये २७ जिल्लामा एक निर्वाचन क्षेत्रमात्रै छ भने बाँकी ५ जिल्लामा दुई निर्वाचन क्षेत्र छन् । मुलुकका सात प्रदेशमा यस चरणमा दुई प्रदेश २ र ५ मा भने निर्वाचन हुने छैन । बाँकी प्रदेश नम्बर १, ३, ४, ६ र ७ मा यो चरणमा निर्वाचन हँुदैछ । निर्वाचन क्षेत्रका हिसावले यो निर्वाचनको परिणाम प्रारम्भिक नमुनामात्र हुने निश्चित छ । यद्यपि, दललाई सानो वा ठूलो बनाउनमा यसको भूमिका हुने निश्चित छ ।
दलगत एकताका आधारमा यो निर्वाचनमा कांग्रेस ३७ मध्ये ३५ स्थानमा आफ्ना उम्मेदवारका साथ चुनाव लड्दैछ । उसले नयाँ शक्तिलाई गोरखामा डा. बाबुराम भट्टराई र सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जवरालाई छाडेको छ । गोरखा कांग्रेसका लागि अनुकूल रहेर पनि डा. भट्टराईलाई समर्थन गरेको छ भने सिन्धुपाल्चोकमा कांग्रेस चौथो स्थानमा रहेको क्षेत्र हो । यी दुवै जिल्लामा एक÷एक सिटमा कांग्रेसकै उम्मेदवारले चुनाव लड्नेछन् । कांग्रेसको गठबन्धनमा यतिबेला कमल थापा नेतृत्वको राप्रपा पनि छ भने मधेसकेन्द्रित दलहरूसँग औपचारिक एकता हुन बाँकी नै छ । यद्यपि, उनीहरूको समर्थन कांग्रेस गठबन्धनलाई हुने सम्भावना बढी छ ।
वाम एकताका नाममा संगठित नेकपा एमाले र माओवादी केन्द्रले यो निर्वाचनमा गठबन्धनको तेस्रो पक्षलाई उम्मेदवार बनाउँदै छैन । ३७ मध्ये एमालेले २१ र माओवादीले १६ ठाउँमा उम्मेदवारी दिने सहमति भएअनुसारको उम्मेदवारी भएको छ । ६० र ४० को भागबण्डामा रहेका यी दुई दलले लगभग सहमति अनुसारकै उम्मेदवारी दिएका छन् । रुकुम, रोल्पा र जाजरकोट जस्ता माओवादी प्रभाव क्षेत्र भनिएका जिल्लामा मात्र नभएर कर्णालीका तीन जिल्ला पनि माओवादीले भाग पाएको छ । यो भागबन्डा गएको स्थानीय तहको चुनावमा पार्टीले जितेको तहका आधारमा गरेको देखिन्छ ।
स्थानीय तहको निर्वाचनमा पाएको विजयको आधारमा आकलन गर्ने हो भने एकल बहुमत रहेका जिल्लाका आधारमा कांग्रेसले १४ सिट जित्ने देखिन्छ । कांग्रेसको समर्थनका कारण डा. बाबुराम भट्टराई र पशुपतिशमशेर राणाको विजय पनि लगभग निश्चित देखिन्छ । ओखलढुंगा, दार्चुला, पाँचथर, बाजुरा, बैतडी, गोरखा, जुम्ला, नुवाकोट, मनाङ, मुगु, म्याग्दी र मुस्ताङ कांग्रेसको एकल बहुमत रहेका जिल्ला हुन् । यसरी कांग्रेस गठबन्धनले ३७ मा १६ सिट जित्ने देखिन्छ । वाम गठबन्धनमा एमाले ८ र माओवादी ४ निर्वाचन क्षेत्रमा विजयी हुनेछन् भन्न सकिन्छ । एमाले र माओवादी गठबन्धनका कारण अरु पाँच जिल्लाका पाँच निर्वाचन क्षेत्र गठबन्धनका पक्षमा देखिन्छ । यसरी ३७ मध्ये १७ स्थान एमाले–माओवादी केन्द्रको गठबन्धनका पक्षमा देखिन्छ । माओवादीका दुई रुकुम, रोल्पा र हुम्ला विजयी क्षेत्र देखिन्छ ।
एमालेको सुनिश्चित मानिएका निर्वाचन क्षेत्रमा खोटाङ, तेह्रथुम, बझाङ, दोलखा, रामेछाप, लमजुङ र सिन्धुपाल्चोकको एक क्षेत्र मानिएको छ । यद्यपि रामेछाप एमालेले माओवादीलाई छाडेको छ । ताप्लेजुङ, संखुवासभा, रसुवा र बाग्लुङमा भने तीव्र प्रतिस्पर्धा देखिन्छ । यीमध्ये बाग्लुङ दुई निर्वाचन क्षेत्र भएको जिल्ला हो । यी चारमध्ये संखुवासभा र बाग्लुङको एक क्षेत्र कांग्रेसको पक्षमा जाने सम्भावना देखिन्छ । ताप्लेजुङमा एमाले सचिव तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराई पराजित हुन सक्ने दुईमध्ये पहिलो कारण उनी दुइटा चुनाव काठमाडौंंमा लडे र दुर्भाग्यवश दुवै पटक पराजित भए । उनी पहिलो पटक चुनाव लड्न गाउँ फर्केका छन् । चुनाव जिते नै भने पनि उनी फेरि गाउँ फर्कने छैनन् भन्ने निश्चित छ । दोस्रो कारण, ताप्लेजुङमा ९ तहमध्ये ५ मा एमाले र ४ मा कांग्रेस विजयी भएको छ । यो तीव्र प्रतिस्पर्धामा स्थानीय तहमा खटेका कांग्रेसका जुझारु नेता केशव दाहाल उम्मेदवार भएका छन् । यस अर्थमा योगेश राष्ट्रिय नेता बनेर पनि चुनावी सहजतामा छैनन् ।
यसो त चुनावको तीव्र प्रतिस्पर्धामा डा. बाबुराम भट्टराईभन्दा पछि माओवादी बनेर बाबुरामलाई गैरमाओवादी बनाउन सफल नारायणकाजी श्रेष्ठ पनि छन् । माओवादीमा दोस्रो हैसियत नभए पनि दोस्रो गुट खडा गरेर बसेका नारायणकाजीको पराजय माओवादीको इज्जतको सवाल बन्नेछ । वाम एकतामा जोडिएर छुट्टिएका बाबुरामका लागि यो चुनाव इज्जतको कम सवाल पक्कै होइन । कांग्रेसले स्थानीय तहमा अप्रत्याशित बहुमत ल्याएको अवस्थामा कांग्रेसको सहयोगले बाबुरामलाई नै सहयोग पुग्ने अनुमान पक्कै गलत हुने छैन । यस्तो प्रतिस्पर्धामा उत्रेका नेताहरूमा माओवादीका अग्नि सापकोटा, शक्ति बस्नेत र देव गुरुङ छन् । अग्निले पशुपति शमशेरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा एमाले र माओवादी गठबन्धनले विजय पाउनुपर्ने हो किनकि स्थानीय तहमा यी दुई दलले ९ तहमा जित्दा कांग्रेस तीन तहमा मात्र विजयी भएको छ । तर पहिलेका तीन निर्वाचन क्षेत्र यसपटक दुइटामा सीमित हुँदा भएको विभाजनले पशुपतिलाई धेरै राहत दिएको छ ।
यसैगरी दोस्रो संविधानसभा चुनाव बहिष्कार गरेर हिँडेका देव गुरुङ पहिलो संविधानसभा निर्वाचनमा मनाङबाट उम्मेदवार भएका थिए । तर यसपटक उनी लमजुङ ओर्लेका छन् । कांग्रेसको एकछत्र रहेको लमजुङमा पछिल्लो समय कांग्रेसभित्रको गुटका कारण ऊ कमजोर भएकै हो । यही आंकलन र स्थानीय तहमा आठमध्ये दुई तहमा सीमित भएको कांग्रेसको अवस्था हेरेर नै गुरुङले यो क्षेत्र रोजेको हुनुपर्छ । तर कांग्रेसका दिलबहादुर घर्तीसँगको प्रतिस्पर्धा देव गुरुङका लागि चुनाव लड्नु र बहिष्कार गर्नुबीचको सहजता पहिल्याउन सहयोगी हुन सक्छ । प्रचण्डका खास मान्छे मानिने शक्ति बस्नेत जाजरकोटमा दुई निर्वाचन क्षेत्र हँुदा जितेका सभासद् हुन् । तर उनले अर्को क्षेत्रका विजेता कांग्रेसका राजीवविक्रम शाहीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । अचानक कांग्रेस सभासद्का रूपमा उदाएका शाहीको लोकप्रियतासँग शक्ति बस्नेतको शक्ति प्रदर्शन निकै कठीन हुने देखिन्छ ।
यद्यपि, कांग्रेस स्थानीय तह निर्वाचनमा भने निकै कमजोर देखिएको छ । दीपकजंग शाहलाई प्रदेशको टिकट दिएर कांग्रेसको एकतालाई बलियो बनाउने प्रयत्न भएकाले पनि शक्ति बस्नेत ‘डेन्जर जोन’ मा परेका हुन् । ओखलढुंगामा एमालेका यज्ञराज सुनुवार र कांग्रेसका रामहरि खतिवडा दुवै सांसद थिए । एमालेका युवा नेता भएर पनि ओझेलमा परेका सुनुवार पनि रामहरिसँग पराजीत हुन तयार भएको देखिन्छ । संसद्मा भूमिकाका हिसावले पनि खतिवडा जति चर्चामा थिए, त्यो भूमिका सुनुवारले देखाउन सकेनन् । दोस्रो कारण, ओखलढुंगामा स्थानीय तहमा कांग्रेस एकल बहुमत ल्याएको पार्टी हो ।
कांग्रेसका केन्द्रीय सदस्य तथा पुराना नेताहरूले चुनाव लड्ने तयारी गरिरहँदा एमालेका कुनै चर्चित नेता यो चरणको चुनावी मैदानमा छैनन् । अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, मोहनबहादुर बस्नेत, भीष्मराज आङदेम्बे, चीनकाजी श्रेष्ठ जस्ता संसद् र पार्टीमा हैसियत बनाएका कांग्रेस नेता चुनावी मैदानमा छन् । यीमध्ये बलबहादुर केसी सबैभन्दा खतरामा छन् । तर एमालेका कर्णबहादुर थापा बाजुरामा कांग्रेसलाई मैदान खाली गरेर प्रदेशमा ओर्लिएका छन् । राजेन्द्र गौतमले संखुवासभामा कांग्रेसका दीपक खड्कासँग हार्ने चुनौती स्वीकार गरेका देखिन्छन् । त्यसो त हुम्लामा जीवनबहादुर शाहीले माओवादीलाई मैदान छाडेर प्रदेशसभा स्वीकार गरेका छन् ।
स्थानीय तह र प्रदेश वा संघीय निर्वाचनमा हुने भिन्नता भनेको स्थानीय तहमा उम्मेदवारले पनि धेरै अर्थ राख्छ भने प्रदेश वा संघमा राष्ट्रिय व्यक्तित्वको प्रभाव देखिन्छ । स्थानीय तहमा आएको मत कसैको व्यक्तिगत प्रभाव हुन सक्छ । अर्को, स्थानीय तहमा पराजीत हुनेहरूबीच ठूलो मतको अन्तर हुँदैन । त्यसैले स्थानीय तहमा पाएको विजय प्रदेश वा संघमा हुबहु लागु हँुदैन । यसले ल्याउने परिणामको अन्तर अर्को पनि हुन सक्छ । गठबन्धनको मत एउटै चुनाव चिह्नमा पर्छ भनेर ग्यारेन्टी गर्नु अर्को मूर्खता हुन सक्छ । यद्यपि गठबन्धनको स्वरूप, स्थानीय तहको पछिल्लो परिणाम र केही नेताको व्यक्तित्वका आधारमा गरिएको यो विश्लेषणमा केही अन्तर देखियो भने अन्यथा मान्नुपर्ने छैन ।

प्रकाशित: ६ कार्तिक २०७४ ०३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App