१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘गौचनले एक वर्षअघि नै सुरक्षा मागेका थिए’

काठमाडौं- दुई साताअघि गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले एक वर्षअघि नै ‘थ्रेट’ महसुस गरी सुरक्षा निकायसँग सुरक्षा मागेको खुलेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा बुधबार आयोजित ‘नेपालमा निजी क्षेत्र र निर्माण व्यवसायीले भोग्नुपरेका जबर्जस्ती चन्दा, हिंसा र सुरक्षा चुनौतीहरु’ विषयक अन्तरक्रियामा व्यवसायीहरुले यो खुलासा गरेका हुन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष सुकन्तलाल हिराचनले थ्रेट महसुस गरी गौचनले एक वर्षअघि नै प्रहरीसमक्ष लिखित निवेदन दिई सुरक्षा माग गरेको पाइएको बताए ।
सरकारले आधारभूत सुरक्षा व्यवस्था दिन नसकेका कारण व्यवसायी गौचनको हत्या भएको उनले बताए । ‘एक वर्षअघि नै लिखित रुपमा नेपाल प्रहरीसमक्ष सुरक्षा माग गरे पनि सम्बन्धित निकायले पर्याप्त ध्यान दिन नसक्दा यो दुर्घटना भएको देखियो,’ पूर्वाध्यक्ष हिराचनले भने । गौचनले एक वर्षअघि लिखित निवेदन दिएको विषय आफूहरुले तीन दिनअघि मात्र जानकारी पाएको उनले बताए । ‘निवेदनमा के लेखिएको थियो भन्ने हामीसँग पनि जानकारी छैन,’ हिराचनले भने, ‘तर उनले भौतिक सुरक्षामा नै थ्रेट आएकोले आवश्यक सुरक्षा माग गरेको बुझेका छौं ।’
गौचनको हत्या योजनाबद्ध र सिलसिलेवार तरिकाले भएको उल्लेख गर्दै उनले यसमा पेसेवर हत्यारा प्रयोग भएको दाबी गरे । जबर्जस्ती चन्दा र धम्कीपूर्ण व्यवहारसामु नझुकेर सामना गर्न खोज्दा उनको हत्या भएको हिराचनले बताए । हत्या भएको दुई हप्ता बितिसक्दा पनि अपराधी पक्राउ गर्न नसकेकोप्रति उनले आक्रोश व्यक्त गरे ।  
निर्माण व्यवसायलाई सुरक्षाको हिसाबले विश्वमा नै संवेदनशील क्षेत्रका रुपमा लिइने उनको भनाइ छ । ‘आपराधिक गतिविधिहरु अन्य क्षेत्रमा भन्दा बढी हुन सक्ने क्षेत्रको रुपमा लिइन्छ । भ्रष्टाचार, चन्दा आतंक, गुन्डागर्दी, श्रमलगायत थुप्रै समस्याबाट यो क्षेत्र ग्रसित छ,’ हिराचनले भने । राजनीतिक दलका प्रभावशाली व्यक्तिहरु पनि यस क्षेत्रमा प्रवेश गर्दा समस्या बढेको उनले बताए । ‘छोटो समयमा धेरै धन कमाउने  आकांक्षासहित आपराधिक गतिविधिमा संलग्न व्यक्ति पनि यो क्षेत्रमा लागेका छन्,’ उनले आफ्नो कार्यपत्रमा लेखेका छन्, ‘राजनीति, अपराध र व्यवसाय एकै ठाउँमा मिसिँदा सुरक्षा संवेदनशीलता बढेको छ ।’
सरकारले एक वर्षअघि औद्योगिक सुरक्षा बल गठन गरे पनि प्रभावकारी बन्न नसकेको उनले बताए । ‘यो व्यवसायलाई मर्यादित बनाउन महासंघले पहल गर्दै आएको छ । व्यवसायीका लागि आचारसंहिता बनाई लागू गरिएको छ तर व्यवसायीहरु नै यसको पालना गर्दैनन्,’ उनले भने । आचारसंहिता पालना नगर्ने व्यवसायीलाई मुलुकको कानुनभन्दा माथि गएर कारबाही गर्ने अधिकार महासंघसँग नभएको उल्लेख गर्दै उनले यो क्षेत्रलाई मर्यादित बनाउन व्यवसायी स्वयं सचेत हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेश श्रेष्ठले व्यवसायीका लागि निर्धक्कसँग व्यवसाय गर्ने वातावरण बनाउन सरकार असफल भएको बताए । राजधानीको मुटुमै दिनदहाडै व्यवसायीको हत्या हुनुले मुलुकको सुरक्षा व्यवस्थाको अवस्था उदांगो पारेको उनको भनाइ छ ।
सशस्त्र प्रहरीका पूर्वएआइजी रविराज थापाले राजनीतिक संरक्षणका कारण अपराध बढेको बताए । ‘राजनीति, व्यवसाय र अपराध एक अर्कामा अति सम्बन्धित छन् । अक्टोपसको हातजस्तै जेलिएको छ,’ उनले भने, ‘यसले सिन्डिकेट क्राइम (सबै मिलेर गरिने अपराध) बढाएको छ ।’ यस्तै सिन्डिकेटका कारण अहिलेसम्मका आपराधिक घटनाहरुमा अपाराधीको मुख्य टाउको पक्रन नसकिएको थापाको भनाइ छ । परम्परागत सुरक्षा प्रणालीकै भरपर्दा अपराधको शृंखला बढेको उनले बताए । ‘सामाजिक परिवर्तनसँगै अपराधको प्रविधि र प्रकृति बदलिएको छ तर हामी परिवर्तन हुन सकेका छैनौं,’ उनले भने । सरकारले नेपाल प्रहरीलाई आवश्यक हतियार र प्रविधि उपलब्ध गराउन नसकेका कारण अपराध नियन्त्रणमा प्रभावकारी बन्न नसकेको उनले बताए । ‘अहिलेका अपराधीहरु आधुनिक हतियारले सुसज्जित हुन्छन्,’ उनले भने, ‘नेपाल प्रहरी भनेको ठूलो ह्वेल मार्न सानो हुक लिएर जानु जस्तै भएको छ ।’ व्यवसायीले आफ्नो सुरक्षाका लागि आफैं सचेत हुनुपर्नेमा उनले जोड दिए ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वडिआइजी हेमन्त मल्लले गौचन हत्यामा संलग्न अपराधीको कनेक्सन अन्तर्राष्ट्रियस्तरसम्म हुन सक्ने बताए । ‘दिनदहाडै गोली प्रहार गर्नु भनेको हामी जुनसुकै बेला आक्रमण गर्न सक्छौं भन्ने सन्देश दिनु हो,’ मल्लले भने, ‘यिनीहरुको कनेक्सन नेपालमा मात्र हो कि नेपालबाहिर पनि छ त्यो पत्ता लगाउन आवश्यक छ ।’ अन्तर्राष्ट्रिय आपराधिक समूहको टार्गेट व्यवसायीमात्र नभई लागूपदार्थ, सुनलगायत बहुमूल्य वस्तु हुने गरेको उनले बताए ।
अपराधी पहिचान गर्न सिसिटिभी प्रभावकारी बन्ने उल्लेख गर्दै मल्लले भने, ‘अहिले टोलटोलमा सिसिटिभी जडान गरिएको छ । यसलाई केन्द्रीकृत सुरक्षा प्रणालीमा जोडेर प्रभावकारी बनाउन सकिन्छ ।’ औद्योगिक सुरक्षाका लागि सुरक्षा बलमात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘विद्युतलगायत उद्योगहरुमा ठूलो लगानी भए पनि यस क्षेत्रको सुरक्षामा लगानी भएको देखिँदैन,’ मल्लले भने, ‘व्यवसायमा लगानीसँगै सुरक्षामा पनि ध्यान दिन जरुरी छ ।’ यस्ता उद्योगहरुमा ‘सेक्युरिटी एडभाइजर टिम’ आवश्यक हुने उनले बताए । यसमा औद्योगिक सुरक्षा विषय बुझेका र सुरक्षा चुनौतीबारे ज्ञान भएका व्यक्तिहरु समेटिनुपर्ने मल्लले बताए ।
स्टाफ कलेजका गणेश थापामगरले राजनीति र व्यवसायमा डनहरुको प्रवेशले सुरक्षा संवेदनशीलता बढाएको बताए । ‘व्यवसायीले नै गुन्डगर्दीमा संलग्नलाई पालनपोषण गरेको हुन्छ,’ उनले भने, ‘ठेक्कापट्टामा हुने अनैतिक र गैरकानुनी कार्य रोकिए अपराध कम हुन सक्छ ।’ कार्यक्रमका सहभागीहरुले सुरक्षामा लगानी गर्न कन्जुस्याइँ गर्न नहुनेमा जोड दिएका थिए ।
व्यवसायी गौचनको गत असोज २३ गते बानेश्वरमा गोली प्रहार गरी हत्या गरिएको थियो । हत्याबारे अनुसन्धान गर्न सरकारले डिआइजी गणेश केसीको संयोजकत्वमा समिति गठन गरे पनि हालसम्म अपराधी पत्ता लगाउन सकेको छैन । डिआइजी केसीले घटनाको अनुसन्धान भइरहेको बताए । तर उनले एक वर्षअघि नै गौचनले सुरक्षा माग गरी निवेदन दिएको विषय जानकारी नभएको बताए । ‘हामीसँग त्यो जानकारी आएको छैन,’ बुधबार नागरिकसँग कुरा गर्दै केसीले भने, ‘यदि त्यस्तो हो भने निजलाई पर्याप्त सुरक्षा दिने र पिसिओसमेत उपलब्ध गराउने व्यवस्था हाम्रो सुरक्षा प्रणालीमा छ ।’

प्रकाशित: २ कार्तिक २०७४ ०६:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App