१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह पुनःसंरचनाको मापदण्ड अब्यवहारिक: कोइराला

नेपालगन्ज- नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले स्थानीय तह पुनःसंरचनाको मापदण्ड अत्यन्त अव्यवहारिक भएको बताएका छन्। नेपाली काँग्रेस बाँकेले आइतबार गरेका अन्तरक्रियालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य कोईरालाले भने, ‘स्थानीय तहको क्षेत्र निर्धारण प्राविधिक हिसाबले बनाएको छ, त्यसकारण अव्यबहारिक छ, यसलाई मिलाउनुपर्छ ।’ हिमाल, पहाड र तराईका जिल्लाका लागि एउटै प्रकारको मापदण्ड हुन नसक्ने उनको भनाई छ।

संविधानले गाउँपालिकालाई धेरै अधिकार दिएको उल्लेख गर्दै अब गाविसले गर्ने काम वडाले गर्ने भएकाले विकासमा टेवा पुग्ने विश्वास गरे। स्थानीय तहको निर्वाचनलाई कसैले रोक्न नसक्ने भन्दै अहिले देखि नै तयारी गर्न र जनतासँग आफ्नो सम्वन्ध बढाउन कार्यकर्तालाई निर्देशन दिए। संविधान कार्यान्वयन नै मुलुकको पहिलो काम भएको नेता कोईरालाले बताए। नेपाली काँग्रेस मुलुकको एक मात्र लोकतान्त्रिक, त्यसमा पनि सबैभन्दा ठूलो पार्टी भएकाले संविधान कार्यान्वयन र विकासमा नेतृत्व गरिरहेको दाबी गरे। ‘काँग्रेस एक ढिक्का नभए लोकतन्त्र र राष्ट्रियतामाथि खतरा हुन्छ, त्यसकारण काँग्रेस बलियो हुन आवश्यक छ,’ उनले भने।

अर्को प्रसंगमा केन्द्रिय सदस्य कोईरालाले पार्टीको साधारण सदस्यता नबाँड्ने तर अधिवेशनको अन्तिम समयमा एकैचोटी क्रियाशिल सदस्यता आफ्ना आफन्त, नातागोतालाई बाँड्ने प्रवृत्ती बढेको भन्दै त्यसलाई पार्टीले रोक्नुपर्ने बताए । ‘एकले अर्कोलाई हराउनको लागि क्रियाशिल सदस्यता बाँड्ने होईन, पार्टीलाई बलियो बनाउनका लागि बाँड्ने हो,’ उनले भने । क्रियाशिल सदस्यता विवादका कारण मुलुकका ९/१० वटा जिल्लाको अधिवेशन रोकिएको र कयौं क्षेत्रीय समितिको अधिवेशन हुन नसकेको औल्याए।

सो अवसरमा बोल्ने जिल्लास्थित नेता, कार्यकर्ताले विपी कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको सिद्धान्त पार्टी नेतृत्वले विर्सन नहुनेमा जोड दिए । नेतृत्व पार्टीमुखी भन्दापनि व्यक्तिमुखी हुने गरेको नेता, कार्यकर्ताको गुनासो छ । कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईराला, पूर्व सभापति युवराज शर्मा, पूर्व सांसद कृष्णसिंह परियार लगायतले सुझाव दिए।

 

प्रकाशित: १६ श्रावण २०७३ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App