१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई देशको समहति बिना दशगजामा कसैले केही गर्न पाउँदैनःमहतो

सप्तरी–सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आइतबार सप्तरीको तिलाठी स्थित दशगजा क्षेत्रको अवलोकन गरेका छन्। गत बिहीबार उक्त क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध बनाउन खोज्दा दुई देशका स्थानीयबीच झडप भएको थियो।

विवादित बाँधको अबलोकन पश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महतोले दुई देशको सहमति बिना सीमा क्षेत्रमा कसैले पनि केही गर्न नपाउने अन्तर्राष्ट्रिय मान्यता विपरित भारतीयले काम गरेको बताए। ‘स्थानीय स्तरमा गाउँलेहरुले गरेका छन् भने मलाई केही भन्नु छैन’, भारतीय बाँधबारे प्रतिक्रिया जनाउँदै महतोले भने, ‘यदि सरकारी स्तरमा भारतीय पक्षवाट यस्तो कार्य भएको छ भने यो पक्कै पनि राम्रो होइन।’

केही राजनीतिक दल तथा मिडियाहरुले यस मुद्दामा मधेसी दललाई अनावश्यक रुपमा आलोचित गरेको बताउँदै महतोले सीमा क्षेत्रको विवाद मिलाउने काम कुनै राजनीतिक दल वा गाउँलेको नभई राज्य पक्षको भएको टिप्पणी गरे। ‘सीमाको विवाद हामीले मिलाउने हैन, तिलाठीवासीले समेत मिलाउने हैन’, महतोले भने, ‘यो विवाद मिलाउने भनेको राज्यले हो, राज्यको मौनताका कारण यस्तो समस्या आएको हो ।’

तिलाठी स्थित दशगजा क्षेत्रको समस्या निकै पुरानो रहेको बताउँदै उनले भने, ‘यहाँको समस्याबारे सरकारलाई अवगत थियो, विभिन्न सञ्चार माध्यममा समाचार मात्रै आएको हैन, सरकारका विभागीय मन्त्रीसमेतले अनुगमन गरेका गएका थिए।’ यद्यपी राज्य पक्षको निरिहताले मात्र झडपको अवस्था सृजना भएको महतोको भनाइ छ।

राज्यले षड्यन्त्र तहत मधेसका सीमानाहरुमा जानी जानी विवाद जन्माउने काम गर्दै आएको आरोप लगाउँदै महतोले भारतसँग रहेको मधेसीहरुको निकटस्थ सम्बन्धलाई धरापमा पार्न योजनाबद्ध रुपमा यस्ता कामहरु भइरहेको समेत जनाए।

तिलाठीको समस्या तत्काल समाधानकालागि नेपाल तथा भारतका कुटनीतिज्ञहरुले पहल थाल्नुपर्ने उनको भनाइ थियो । महतोलाई स्थानीयले ज्ञापनपत्र समेत बुझाएका छन्। दशगजा संरक्षण समितिका सह–संयोजक निरज मुक्तिले बुझाएको ज्ञापन पत्रमा सन् १९७४ देखिनै भारतीयहरुले सीमा क्षेत्रमा एकतर्फी बाँध बनाउँदै आएपनि नेपाल तर्फका सांसद, सभासद तथा मधेशी नेताहरु समेतले मौन साधेका कारण समस्या बल्झिँदै गएको उल्लेख छ ।
    

 

प्रकाशित: १६ श्रावण २०७३ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App