१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

डायस्पोरिक कवितामा गुणस्तरको चिन्तन

काठमाडौं – पछिल्लो समय नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई विश्व सामु चिनाउन डायस्पोरिक साहित्य एउटा माध्यम बन्दै गएको छ । राजधानीमा यतिबेला विदेशमा बस्ने नेपालीहरूको विश्वसम्मेलनको माहोल छ । यही माहोलकै बीच नेपाली डायस्पोराका कवितामाथि राजधानीमा बहस गरिएको छ।

राजधानीमा जारी गैरआवासिय नेपाली संघको विश्व सम्मेलनको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र गैर–आवासिय नेपाली संघको आयोजनामा ‘नेपाली डायस्पोरिक कविताको वर्तमान अवस्था’ विषयमा काव्य विमर्श तथा विशेष कवि गोष्ठिका अवसरमा कविहरूले डायस्पोरिक कवितालाई अझै गुणस्तरिय बनाउनुपर्ने जोड दिए।

विश्वसामु चर्चाको विषय बन्दै गएको डायस्पोरा साहित्यमा कविताले झनै महत्वपूर्ण स्थान ओगटेको वक्ताहरूले बताए । विदेशी भूमिमा संघर्ष गरिरहेका नेपालीले लेखेका डायस्पोरिक कविताले देशप्रेमसँगै समसामयिक विश्वचित्रलाई पस्केको दाबी सहभागी वक्ताहरूले गरे । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व–कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले डायस्पोरिक कविताले नेपाली भाषा, साहित्यलाई विश्व अझ फराकिलो पारेको बताए । देशसँगको तादाम्यता गर्दै राष्ट्रप्रेम दर्शाउन साहित्य ठूलो माध्यम भइरहेको उनले बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, गंगाप्रसाद उप्रेतीले नेपाली भाषा, कला र संस्कृतिको प्रबद्र्धन गर्न गैरआवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले विगत ६ वर्षदेखि सहकार्य गरिरहेको जानकारी दिँदै साहित्यको विस्तारमा प्रभावकारी कामहरू भइरहेको जनाए।

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले नेपाली डायस्पोराको इतिहास नवीन भए पनि आफ्नो छोटो इतिहासमा ठूला र प्रभावकारी काम भएको उल्लेख गरे । नेपाली भाषा साहित्यलाई अझ विस्तार गर्ने, नेपाली रचनालाई अन्तराष्ट्रियकरण गर्ने, देश र विदेश दुवै ठाउँबाट लेखिएका सािहत्यलाई ग्रन्थका रूपमा प्रकाशित गर्ने र अन्य भाषामा अनुवाद गर्ने आदि उद्देश्यले गैरआवासिय नेपाली संघसँग सहकार्य गरिएको गिरीले बताए।

सो समारोहमा साहित्यानुरागी तथा गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष जिवा लामिछानेले कार्यदल नै बनाएर साहित्यको प्रबद्र्धन गर्ने कामहरू भइरहेको जनाए । गैरआवासिय नेपाली संघ पूर्व अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ बसे पनि गौरवका साथ नेपाली भन्न सक्ने गरी बसेको उल्लेख गरे । ‘साहित्य भाषा संस्कृति संस्कार सबै दृष्टिले अरूदेश भन्दा नेपाल धेरै राम्रो छ,’ उनले भने, ‘आर्थिक कमजोरी भएकाले जनताको मनोविज्ञान मात्रै कमजोर भएको हो।’

अन्तराष्ट्रिय साहित्य समाजका केन्द«ीय अध्यक्ष पदम विश्वकर्माले गैरआवासिय नेपाली संघको सम्मेलनमा मात्र नभइ डायस्पोरिक कवितालाई अरु बेला पनि मन्थन गर्न जरुरी रहेको बताउँदै यसले नेपाली भाषा साहित्यलाई विश्वमा चिनाउन कोशेढुंगा हुने उनको तर्क थियो । सो कार्यक्रममा समालोचक रामजी तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गर्दै डायस्पोरिक कवितामा गुणस्तरियताको विकास गर्नु अवाश्यक रहेको टिप्पणी गरे । प्रकाशित भएको ९९ डायस्पोरिक कविता समेटिएको कृतिमा वास्तविक डायस्पोरिक कविताको संख्या न्यून रहनु कमजोरी रहेको उनको तर्क थियो।

गैर आवासीय नेपाली संघ भाषा तथा साहित्य कार्यदलका संयोजक  साहित्यकार विश्वदीप तिगेलाले देश बाहिर रहँदा नेपालीको शिर उच्च कसरी राख्न सकिन्छ त्यो एनआरएनएको सोच छ । उनले प्रवासमा अग्र्यानिक र यथार्य कथाहरू आइरहेको दाबी गरे । विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष सागर श्रेष्ठले नेपाली भाषालाई अन्य विभिन्न भाषामा पनि प्रकाशित गरेर नेपाली भाषा, साहित्यको उत्थानमा योगदान दिएको सुनाए।

साहित्यकार रामजी तिमिल्सिनाको कार्यपत्रमाथि साहित्यकार डा. अमर गिरी, सिर्जना शर्मा, विना थिंंग, भद्रकुमारी घले, शम्भुकुमार मिलन, शर्मिला पन्त पाण्डे लगायतले टिप्पणी गरेका थिए भने कवि विमल निभा, श्यामल, सुलोचना मानन्धर लगायतले कविता वाचन गरेका थिए ।

प्रकाशित: ३० आश्विन २०७४ ०६:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App