१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसका अधिकांश केन्द्रीय नेता प्रत्यक्षमा

काठमाडौं – नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्य संघीय प्रनितिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार बन्ने भएका छन् । अघिल्लो पटक समानुपातिक सूचीमा परेका नेताहरूलाई यसपटक नदोहोर्‍याउने नीति पार्टीले लिएपछि आधा दर्जन केन्द्रीय सदस्यमात्र समानुपातिकतर्फको सूचीमा समेटिएको कांग्रेस स्रोतको दाबी छ। 

आइतबार मध्यरातसम्म पनि समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिइनसकेको कांग्रेसले यो सूचीमा पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, कृष्णप्रसाद सिटौला, सुजाता कोइराला, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, सुरेन्द्रराज पाण्डे, पुष्पा भुसाल, सुजाता परियार, लक्ष्मी परियारसहित नेताहरुको नाम राखेको छ । अन्य केन्द्रीय सदस्य प्रदेश र केन्द्रमा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने नेताले बताएका छन्। 

पूर्वमहामन्त्री सिटौलाले भने समानुपातिकतर्फको सूचीमा आफूलाई राखिएकोमा सभापति शेरबहादुर देउवासँग असन्तुष्टि जनाउँदै प्रत्यक्षतर्फ उम्मेदवार बनाउन आग्रह गरेको सहयोगी श्रीप्रसाद सिटौलाले जानकारी दिए । ‘समानुपातिकमा होइन उहाँ (सिटौला) ले प्रत्यक्षमै प्रतिस्पर्धा गर्ने सभापतिलाई भनिरहनुभएको छ,’ श्रीप्रसादले आइतबार राती भने । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले नेता सिटौलासहित आधा दर्जन केन्द्रीय सदस्यको नाम समानुपातिक सूचीमा राखिएको जानकारी दिए । ‘समानुपातिक सूचीलाई नेताहरूले अन्तिम रुप दिने काम गरिइहनु भएको छ,’ उनले भने, ‘उहाँहरूको नामचाहिँ टुंगो लागिसक्यो।’

केन्द्रीय सदस्य खाँणले निर्वाचन परिचालन जिम्मेवारी लिन समानुपातिकतर्फको उम्मेदवार बनेको दाबी गरे । ‘तरुण दलको अध्यक्ष रहेर २०५६ को निर्वाचन हाँकेको थिएँ,’ उनले भने, ‘पार्टीलाई संकट परेका बेला अहिले समानुपातिकमा बसेर निर्वाचन परिचालन गर्छु र चुनाव जिताउन देशभरि घुम्छु।’  

प्रकाशित: ३० आश्विन २०७४ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App