१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पदाधिकारी पनि समानुपातिकमा

काठमाडौं – राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको उम्मेदवार सूचीमा केन्द्रीय पदाधिकारी पनि रहेका छन् । केही नेता भने प्रत्यक्षमा चुनाव लड्न डराएर समानुपातिकमा गएका छन् । समानुपातिकमा सिफारिस भएकामध्ये केही पार्टीका नेताका नातेदार पनि छन्। 

राप्रपाबाट लोकेन्द्रबहादुर चन्द, उनका पुत्र जयन्त चन्द, बुद्धिमान तामाङ, बालाराम घर्तीमगर, भुवन पाठक र उद्धव पौडेललाई समानुपातिक सूचीमा समावेश गरिएको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसैगरी सो पार्टीबाट रोशन कार्की, मोहन श्रेष्ठलगायतको नाम पनि समानुपातिकमा राखिएको छ । अध्यक्ष कमल थापा भने यसपटक प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । अघिल्लो पटक थापा समानुपातिकबाट सांसद भएका थिए। 

प्रत्यक्षतर्फ चुनाव लड्न हिचकिचाएका कारण विभिन्न पार्टीका कतिपय उच्च पदाधिकारी समानुपातिकतर्फ लागेका छन् भने कपितय नेताका पत्नी र छोरालाई पनि समानुपातिकमा समावेश गरिएको छ।

यसैगरी राप्रपा (प्रजातान्त्रिक) बाट उपाध्यक्ष रामचन्द्र राय, महामन्त्री ध्रुवबहादुर प्रधानलगायतका नेताको नाम समानुपातिकमा राखिएको स्रोतको भनाइ छ । सो दलका अध्यक्ष पशुपतिशमसेर राणा भने  प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेको राप्रपा प्रजातान्त्रिकका नेता ठाकुर शर्माले बताए।

यसैगरी संघीय फोरमबाट सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रेणु यादव, केन्द्रीय सदस्य सुशीला श्रेष्ठलगायतका नेता समानुपातिकतर्फ उम्मेदवार बनेको सो पार्टीका महासचिव रणध्वज कंदम्बाले जानकारी गराए । सुशीला पार्टीका दोस्रो वरियताका नेता अशोक राईकी पत्नी हुन् । पार्टीका अध्यक्ष उपेन्द्र यादव र राईले प्रत्यक्षमा चुनाव लड्ने तयारी गरेको कंदम्बाले बताए । महासचिव कंदम्बाको नाम पनि समानुपातिकमै राखिएको छ । यस्तै रेखा यादव, करिमा बेगम र मञ्जु अन्सारी पनि समानुपातिक सूचीमा परेका छन्। 

यस्तै राजपाबाट पनि केही वरिष्ठ नेता समानुपातिकमा परेका छन् । उपाध्यक्ष विश्वनाथ सिंह राजवंशी, महासचिव केशव झा, दिनेश अग्रवाल, कविन खानलगायतका नेता समानुपातिक सूचीमा परेको पार्टीका एक नेताले बताए । पार्टीका प्रवक्ता सन्तोष मेहताले यसपटक शीर्ष नेताका परिवारका सदस्यलाई समानुपातिकमा समावेश नगर्ने नीति राजपाले लिएको बताए । अघिल्लो पटक पार्टीका अध्यक्षका पत्नीहरूलाई समानुपातिकमा समावेश गरिएको थियो।

 

प्रकाशित: ३० आश्विन २०७४ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App