१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

एनआरएन सम्मेलनमा आएका थापा ठगी आरोपमा पक्राउ

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौं सम्मेलनमा भाग लिन जापानबाट काठमाडौं आएका अनुज थापा ७ करोड रुपैयाँ ठगी अभियोगमा पक्राउ परेका छन् ।
एनआरएनको आइसीसी सदस्य र जापान शाखाको पूर्वमहासचिव रहेका थापा जापानी नागरिकलाई ठगेको अभियोगमा बिहीबार पक्राउ परेका हुन् ।
पक्राउ थापा नेपाल पर्यटन बोर्डका जापानस्थित पर्यटन प्रतिनिधि पनि हुन् । जापानको एक विद्यालयको शाखा नेपालमा खोल्ने प्रलोभन दिएर ७ करोड रुपैयाँ ठगी गरेको जापानी प्रोफेसरको उजुरी आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले थापालाई पक्राउ गरेको हो । परिसरका एसएसपी रवीन्द्र धानुकका अनुसार उनलाई ठगी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भइरहेको छ ।
उजुरी अनुसार थापाले जापानमा रहेको एक विद्यालयको शाखा नेपालमा खोल्छु भनेर एक प्रोफेसरसँग ७ करोड नेपाली रुपैयाँ लिएका थिए । सो रकम नेपालमा विद्यालयको शाखा नखोली उनले निजी घर र गाडी किन्न प्रयोग गरेका थिए ।
त्यही घर धितो राखेर थापाले बैंकबाट ऋण निकालेका थिए । २०७२ को भूकम्पले उनको घर चर्किएपछि फेरि मर्मतका लागि भन्दै बैंकबाट अर्को किस्ता ऋण झिकेका थिए ।
नेपालमा विद्यालयको शाखा खोल्न पैसा दिएको वर्षौं बितिसक्दा पनि कुनै प्रगति भएको नेदेखेपछि उनलाई पैसा उपलब्ध गराउने जापानी प्राध्यापकले पैसा फिर्ता मागेका थिए । त्यसपछि उनी केही समय नेपाल बसेर जापान गएका थिए ।
एनआरएन सम्मेलनका लागि थापा नेपाल आएको जानकारी पाएपछि जापानी प्रोफेसर काठमाडौं आएर प्रहरीमा ठगी उजुरी दर्ता गराएका थिए । ‘ठगी अभियोगमा बिहीबार पक्राउ परेका थापालाई अदालतबाट म्याद लिएर थुनामा राखिएको छ । ठगीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ’, एसएसपी धानुकले भने ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार थापाले अनुसन्धानमा असहयोग गरिरहेका छन् । आफू नेपाली सेनाका कर्नेलको छोरा भएको र माथिसम्मै पहुँच भएको बताउँदै उनले प्रहरीलाई धम्क्याउने गरेका ती अधिकृतले बताए ।

प्रकाशित: २९ आश्विन २०७४ ०३:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App