१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

उम्मेदवार सूची बनाउँदै संघीय फोरम

काठमाडौं- संघीय समाजवादी फोरमका अधिकांश पदाधिकारी प्रत्यक्ष निर्वाचन लड्न अनिच्छुक देखिएका छन् । उनीहरूले  समानुपातिकबाट सांसद बन्न इच्छा देखाएका छन् । संघीय फोरम अहिले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची बनाउन व्यस्त छ ।
संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादवलाई समानुपातिकतर्फ  सिफारिस गर्ने टुंगो लागेको स्रोतले बतायो । पार्टी नेता अशोक राईकी पत्नी सुशीला श्रेष्ठ र उपाध्यक्ष हेमराज राई पनि समानुपातिकमा जाने भएका छन् । अर्का उपाध्यक्ष रकम चेम्जोङ र महासचिव रणध्वज कंदम्बाले पनि  समानुपातिकमा जाने इच्छा राखेको पार्टीका एक नेताले बताए  । चेम्जोङ र  कंदम्बाबारे  आइतबार टुंगो लाग्ने उनले जनाए । राजनीतिक सदस्य रेखा यादव, केन्द्रीय सदस्य करिमा बेगम र मञ्जु अन्सारीले पनि समानुपातिकतर्फ चासो देखाएका छन् ।
निर्वाचन आयोगको तालिकाअनुसार दलहरूले आइतबार समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची आयोगलाई बुझाउनुपर्छ । पार्टी राजनीतिक सदस्य यादवले भनिन्, ‘हामीले संघीय संसद्का लागि १ सय १० जनाको नाम आयोगमा बुझाउनेछांै ।’
केन्द्रीय नेतामध्ये जनजाति नेताले समानुपातिकमा  जाने इच्छा देखाएको एक नेताले बताए । पार्टीका केही नेताले सहअध्यक्ष  श्रेष्ठलाई गृहजिल्ला काठमाडौंबाट प्रत्यक्षमा चुनाव लड्न सुझाएका थिए तर उनले प्रत्यक्षमा नभई समानुपातिकमा जाने  अडान राखेको एक नेताले बताए ।
पार्टी अध्यक्ष उपेन्द्र यादव र नेता राईले भने प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको स्रोतको भनाइ छ । यादवको सोच सुनसरी २ बाट चुनाव लड्नेछ । राईको गृहजिल्ला खोटाङ भए पनि उनी सुनसरी १ बाट चुनाव लड्ने सम्भावना रहेको स्रोतले बतायो । पार्टीका अर्का उपाध्यक्ष लालबाबु यादव र महासचिव रामसाह यादव पनि प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । यसैगरी प्रमोद गुप्ता (पर्सा), पर्शुराम बस्नेत (सुनसरी), प्रदीप यादव (पर्सा), योगेन्द्र यादव (रौतहट) र बबन सिंह (रौतहट) बाट प्रत्यक्ष चुनाव लड्ने भएका छन् । समानुपातिक  र प्रत्यक्ष चुनाव लड्ने नेताहरूको सूची तयार गर्न फोरम नेपालको बैठक शनिबार पनि बस्यो । आइतबार पनि बैठक बस्नेछ ।
फोरम र राजपाले छुट्टाछुट्टै बन्दसूची बुझाउने  प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष चुनावमा सहकार्य गर्ने घोषणा गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समानुपातिकमा भने सहकार्य नगर्ने भएका छन् । उनीहरूले छुट्टाछुट्टै बन्दसूची बुझाउनेछन् । राजपा प्रवक्ता सन्तोष मेहताले फोरम नेपाल र राजपाबीच चुनावी तालमेल प्रत्यक्षका लागि मात्र भएको बताए । ‘समानुपातिकमा हाम्रो तालमेल र सहकार्य हँुदैन ।’
राजपाले पनि समानुपातिक (संघीय संसद्) तर्फ १ सय १० जनाको बन्दसूची आयोगमा बुझाउने भएको छ । यसैगरी राजपाले प्रदेशसभाको हकमा पनि १, २ र ५ का लागि पूर्ण सूची बुझाउने तयारी गरेको मेहताले बताए ।

प्रकाशित: २९ आश्विन २०७४ ०२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App