१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस र एमालेबीच घोचपेच

काठमाडौं- संविधानसभाबाट रुपान्तरित भई बनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिम बैठकमा प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरे ।

संविधानसाभाबाट संविधान जारी गर्दा प्रमुख दलहरूबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन ।

अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ दलका नेताले सम्बोधन गरे ।
सम्बोधनका क्रममा नेताहरूले विगतको समीक्षाभन्दा वर्तमान राजनीतिक विषयवस्तुमै आफ्नो अभिव्यक्ति केन्द्रित गरे ।
कांग्रेस र एमालेका शीर्ष नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा घोचपेच चल्यो । संविधानसाभाबाट संविधान जारी गर्दा प्रमुख दलहरूबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन ।
सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाबाट चार मन्त्री र चार राज्यमन्त्री सरकारमा नियुक्त गरेको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको कटु आलोचना गरे । ओलीले कटाक्ष गर्दै भने, ‘निर्वाचन गराउने बेलामा थप मन्त्री किन चाहियो, कुस्ती खेल्न ?’ युरोपतिर यस्तो कुरालाई नेपालीमा सरम भन्छन् भन्दै ओलीले मन्त्रिपरिषद् विस्तार कानुनविपरीत भएको जिकिर गरे ।  उनले यसै विषयमा थप प्रश्न गर्दै भने, ‘कानुन मान्नु पर्दैन ? के लोकतन्त्र भनेको कानुन नमान्ने हो ? निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भनेको हो ? निर्वाचन आचारसंहिता कानुन होइन ?’ ओलीले मन्त्रिपरिषद् विस्तार गैरकानुनी भएको जिकिर गर्दै नयाँ थपिएका मन्त्रीलाई कसरी बधाई दिने भन्दै प्रश्न गरे । उनले मन्त्री बन्नेले पनि लाज नमानेको  बताए ।
ओलीले शुक्रबार निर्वाचन आयोगसँगको छलफलमा प्रधानमन्त्रीले आचारसंहिता पूर्ण पालना गर्ने विषयमा हस्ताक्षर गरेलगत्तै सरकारमा आठ मन्त्री थपेको बताए । मन्त्रिपरिषद् विस्तारमा आफ्नो विरोध छ भनेर आफूले राष्ट्रपतिलाई भनेको समेत ओलीले बताए ।
ओलीले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउने खेलस्वरुप आठ मन्त्री थपिएको बताए । राजनीतिक धु्रवीकरणका विषयमा पनि ओलीले बोले । ‘अरु–अरु मिल्दा हुने तर हामी मिल्दा भुइँचालो जानुपर्ने हो ? भुइँचालो त गयो तर केन्द्रबिन्दु कहाँ हो अझै थाहा छैन,’ उनले भने ।
ओलीले एमाले शान्तिपूर्ण निर्वाचन गराउन सरकारलाई सघाउन प्रतिबद्ध रहेको बताए । संसद्को अवधि सकिएसँगै एमाले पहिलो पार्टी हुने पनि ओलीले बताए । स्थानीय तहमा १४ हजार ९८ प्रतिनिधि जितेको एमाले अर्को निर्वाचन परिणाम नआउँदासम्म एमाले पहिलो पार्टी हुने बताए ।
सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीका प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री देउवाले  राष्ट्रपतिलाई जति उचाले पनि उहाँले आफ्नो पदीय मर्यादा कायम गरेको भन्दै धन्यवाद दिए । ‘मन्त्री थप गरेको विषयमा राष्ट्रपतिलाई विवादमा ल्याउने काम गर्न लागिएको थियो । उहाँले त्यस्तो गर्नुभएन’, देउवाले भने ।
देउवाले प्रधानमन्त्रीले कहिले मन्त्री थप्छ, कहिले हटाउँछ भन्ने विषयलाई लिएर प्रतिपक्षले संसद्मा बोल्न नसुहाउने उल्लेख गर्दै भने, ‘पाँचसात दिनमा थाहा पाउनु होला मन्त्रपरिषद्को साइज घट्न पनि सक्छ । त्यसलाई के भन्नु हुन्छ ।’ राजनीतिक विश्लेषकले देउवाको यो अभिव्यक्तिलाई सरकारबाट माओवादी मन्त्री हटाउने संकेतका रुपमा लिएका छन् ।
देउवाले प्रदेश नम्बर २ को निर्वाचनअघि मन्त्रिपरिषद् विस्तार गर्दा एमाले किन नबोलेको भन्दै ओलीलाई प्रश्न तेस्र्याए ? देउवाले भने, ‘मन्त्रिपरिषद् विस्तारले चुनावलाई कुनै असर पर्दैन भनेर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भन्नुभएको छ ।’
प्रधानमन्त्री देउवाले कांग्रेसले प्रजातन्त्रको विरोधमा कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘कांग्रेसले प्रजातन्त्रको खिलापमा कसैसँग सम्झौता गर्दैन, गर्दैन, गर्दैन ।’
उनले संविधानसभाबाट जारी संविधानलाई उत्कृष्ट उपमा दिँदै आवश्यकताअनुसार यसमा संशोधन गर्दै अघि बढ्न सकिने बताए ।
प्रधानमन्त्री देउवाले अब मुलुकको समृद्धि र आर्थिक वृद्धिको अभियानमा जुट्नुपर्ने उल्लेख गर्दै भने,  ‘अब झिनामसिना विषयमा अल्झिने होइन ।’
यसैगरी बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन कसैलाई अप्ठेरो पार्न नभई लोकतान्त्रिक अभ्यास र वैचारिक आदर्श अघि बढाउन भएको बताए । उनले वाम गठवन्धनले तत्कालै कम्युनिजम आइहाल्ने पनि होइन भन्दै शान्तिपूर्ण प्रतिस्प्रर्धामार्फत विचार मिल्ने कम्युनिस्ट एक हुँदा कांग्रेस झस्किनु नपर्ने बताए ।
उनले संविधान असफल भए दलको औचित्य पनि सकिने र निरंकुशता आउने दाबी गरे । उनले संविधान कार्यान्वयन गर्दै  आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।
उनले संविधानसभा र त्यसबाट रुपान्तरित भएर बनेको संसद्को कार्यकालमा आफू कहिले कांग्रेस र कहिले एमालेतिर ढल्किए पनि मुलुकको समृद्धिका लागि काम गरेको दाबी गरे । संविधानको सम्बन्ध शान्ति प्रक्रियासँग भएको उल्लेख गर्दै दाहालले नयाँ संविधानले उत्पीडितको माग सम्बोधन गरेको बताए । संसद्मा बोल्ने साना राजनीतिक दलका प्रनिनिधिले संविधानसभाबाट संविधान निर्माण भई जारी हुनुमा माओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिका राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए ।

प्रकाशित: २९ आश्विन २०७४ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App