१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तोकिएकै मितिमा निर्वाचन : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन हुने बताएका छन् । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले निर्वाचन हुने कुरामा आशंका नगर्न आग्रह गरेका हुन् ।
पूर्वनिर्धारित मिति मंसिर १० र २१ गतेका लागि तोकिएकोे निर्वाचन सार्न लागिएको हल्ला सत्य नभएको दाबी गर्दै देउवाले निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार नै चुनावी प्रक्रिया अघि बढ्नेमा शंका नगर्न आग्रह गरे । ‘निर्वाचन सार्ने तयारीमा सरकार रहेको भन्ने कुरा निराधार हो । कुनै हालतमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनुभयो,’ तीन दलीय बैठकपछि एमाले नेता माधवकुमार नेपालले पत्रकारसँग भने ।
बैठकमा एमाले र माओवादी नेताले निर्वाचन प्रभावित हुनेगरी कुनै निर्णय नलिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । जबाफमा प्रधानमन्त्री देउवाले निर्वाचनलाई प्रभावित गर्ने र आचारसंहिताविपरीत कुनै पनि काम सरकारले नगर्ने भन्दै अनावश्यक शंका नगर्न पनि आग्रह गरे ।
प्रधानमन्त्रीले निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेको बताउँदै माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘तोकिएकै मितिमा प्रदेश र केन्द्रको निर्वाचन गराउनेमा तीनै दल एकमत देखिएका छन् ।’
बैठकमा एमाले नेता नेपालले प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि मात्र समानुपातिकतर्फको सूची बुझाउने गरी कार्यतालिका हेरफेरको प्रस्ताव गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । समानुपातिकतर्फको सूची असोज २९ गतेबाट सारेर कात्तिक ७ वा ८ गते पु¥याउन बैठकमा प्रस्ताव गरेको जानकारी दिँदै परियारले भने, ‘प्रधानमन्त्रीले निर्वाचन कार्यतालिका कुनै हेरफेर नहुने र तोकिएकै मितिमा चुनाव गराउने तीन दलको बैठकमा प्रस्टसँग राख्नु भएको छ ।’
राष्ट्रिय सभा निर्वाचन ऐनका विषयमा प्रमुख तीन दलको मत बाजिएपछि बैठकमा सहमतिको प्रयास भएको थियो तर सफल नभएपछि तीनै दलका शीर्ष नेता शुक्रबार पुनः बसेर सहमतिमा पुग्ने समझदारी बनेको छ ।
राष्ट्रिय सभा निर्वाचन ऐनमा दलीय सहमतिको प्रयास भएको जानकारी दिँदै कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा समानुपातिक र समावेशी संस्था भएकाले जसको बहुमत आयो त्यसैले एकलौटी गर्ने संस्था नभएको बताए । ‘प्रतिनिधिसभामा बहुमत आएको आधारमा सरकारले गरेका गलत कामकारबाही सच्याउने अवसर दिने संस्था राष्ट्रिय सभा हो,’ पौडेलले भने, ‘यसमा सबै पार्टीकोसहभागिता आवश्यक छ ।’
कांग्रेस र माओवादी एकल संक्रमणीय मतप्रणालीका आधारमा राष्ट्रिय सभा सदस्य निर्वाचन गर्नुपर्ने पक्षमा छन् भने एमाले बहुमतीय आधारमा राष्ट्रिय सभा गठन गर्नुपर्ने पक्षमा उभिएको छ ।

प्रकाशित: २७ आश्विन २०७४ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App