१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भूकम्पपीडितलाई अग्रिम तेस्रो किस्ता

काठमाडौं- सरकारले घर निर्माण सुरु गरी दोस्रो किस्ताका लागि योग्य भएका भूकम्पपीडितलाई तेस्रो किस्ताको अनुदान अग्रिम वितरण गर्ने भएको छ । निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन सरकारले यस्तो योजना ल्याएको हो ।
दोस्रो किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका वा नगरपालिकाको सिफारिसमा तेस्रो किस्ता अग्रिम लिन सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । स्थानीय तहको जिम्मामा लाभग्राहीलाई पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ताको अनुदान अग्रिम रुपमा वितरण गर्न लागिएको उनले बताए । प्राधिकरणको उक्त प्रस्तावलाई अर्थ मन्त्रालयबाट स्वीकृत भएको जानकारी दिँदै प्रवक्ता भुसालले यसलाई तत्काल कार्यान्वयनमा लगिने बताए ।
यो व्यवस्थाले निजी आवास पुनर्निर्माणमा तीव्रता दिन ठूलो सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि सरकारबाट तीन लाख रुपैयाँ अनुदान पाउने व्यवस्था छ । पहिलो किस्ताको अनुदान लिएका लाभग्राहीले घरको जग उठाएपछि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ पाउँछन् । घर निर्माण सम्पन्न गरेपछि तेस्रो किस्ताबापतको एक लाख पाउने व्यवस्था निजी आवास पुनर्निर्माण सम्बन्धी कार्यविधिमा गरिएको छ ।
प्राधिकरणको तथ्यांक अनुसार हालसम्म ६ लाख नौ हजार नौ सय ४० लाभग्राहीले पहिलो किस्ताको अनुदान लिएका छन् । दोस्रो र तेस्रो किस्ता लिने लाभग्राही संख्या क्रमशः ७९ हजार एक सय १४ र सात हजार नौ सय ९४ छ । सरकारसँग अनुदान सम्झौता गरेका कुल लाभग्रही ६ लाख ४० हजार दुई सय ७४ छन् ।

प्रकाशित: २६ आश्विन २०७४ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App