१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अमेरिकामा निर्यात व्यापार बढाउने अवसर

काठमाडौं- नेपाली वस्तु निर्यातमा अमेरिकी सरकारले दिएको सहुलियतको उच्चतम सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पेभिलियन ग्रुप र नेपालस्थित अमेरिकी राजदूतावासले मंगलबार संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सहुलियतबाट ठूलो फाइदा लिने अवसर रहेको बताए ।
उद्योगमन्त्री सुनिलबहादुर थापाले अमेरिकी सरकारले नेपालबाट निर्यात हुने ७७ प्रकारका वस्तुमा भन्सार निःशुल्क गर्नु नेपालका लागि राम्रो अवसर भएको बताए । अमेरिकी बजारमा नेपाली उत्पादनको निर्यात बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए । मागबमोजिमको उत्पादन गरी निर्यात बढाउनेतर्फ ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै मन्त्री थापाले यसका लागि सहज वातावरण निर्माण गरिदिने प्रतिबद्धता जनाए ।
‘अमेरिकामा लेदरको वस्तु निर्यात गर्ने कम विकसित मुलुकहरुमध्ये कम्बोडियापछि नेपाल दोस्रोमा पर्छ,’ मन्त्री थापाले भने, ‘७७ क्याटेगोरीभित्र पर्ने सामग्रीको उत्पादनमा लाग्नुस् । आवश्यक कानुनी व्यवस्था र सहजीकरणका लागि मन्त्रालय तयार छ ।’ उनले मुलुकमा औद्योगीकरण वृद्धि गर्न मात्र नभई रोजगारीको अवसर सिर्जना गर्न पनि निर्यात व्यापार बढाउन आवश्यक रहेको बताए ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले अमेरिकाले सहुलियत प्रदान गरेका ७७ वस्तु सजिलै उत्पादन गर्ने खालका भएको बताए । ‘हामीले यो सहुलियत लिनका लागि धेरै संघर्ष गर्नुप¥यो,’ राजदूत कार्कीले भने, ‘यसबाट हामीले फाइदा लिन सक्नुपर्छ । तर हाम्रो तयारी अझै पुगेको छैन ।’ अमेरिकी सरकारले नेपाली वस्तुको व्यापार प्रवद्र्धनका साथै व्यवसायीको क्षमता अभिवृद्धिमा पनि सहयोग गर्ने उनले बताए ।
नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलिजले अमेरिकामा नेपाली वस्तुको निर्यात बढाउने राम्रो अवसर रहेको बताइन् । ‘नेपाली उत्पादनको प्रवद्र्धन गरी नेपालको दिगो आर्थिक विकासमा सहयोग पु¥याउनु हाम्रो मुख्य उद्देश्य हो,’ उनले भनिन्, ‘भन्सार निःशुल्क गरी अमेरिकी सरकारले प्रदान गरेको सहुलियतबाट नेपालले लाभ लिनेमा हामी विश्वस्त छौं ।’ पछिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर बढे पनि निर्यात व्यापार घटिरहेको सन्दर्भमा यसले महŒवपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।
वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले अमेरिकाले सहुलियत प्रदान गरेका ७७ वस्तुमध्ये १९ वटालाई प्राथमिकतामा राख्न सकिने बताए । ‘टेरिफ रेट बढी भएका वस्तु निर्यात बढाउन सकेमात्र मुलुकलाई फाइदा हुन्छ,’ सचिव घिमिरेले भने, ‘अमेरिकी सरकारले विश्व व्यापार संगठनलाई बुझाएको सूचीमा १५ प्रतिशतभन्दा बढी टेरिफ रेट भएका वस्तु १९ वटा छन् । ती वस्तुहरुको निर्यातमा प्राथमिकता दिनुपर्छ ।’
पेभिलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले अमेरिकाले भूकम्पपछि प्रदान गरेको सहुलियत १० वर्षका लागि मात्र भएको बताए । सहुलियत प्राप्त वस्तुको निर्यात डेढ वर्ष बितिसक्दा पनि अपेक्षाकृत नभएको उनको भनाइ छ । ‘सन् २०२५ सम्मका लागि प्राप्त यो सहुलियतबाट फाइदा लिन हामीले ठोस योजना बनाएर जानुपर्छ,’ उनले भने । सहुलियत प्राप्त ७७ वस्तुका बारेमा व्यवसायीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरिएको उनले बताए । ‘व्यवसायीलाई यसबारे जानकारी दिनु र यसका चुनौतीहरु पत्ता लगाउनु यो कार्यक्रमको मूख्य उद्देश्य हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रो उत्पादन जस्ताको तस्तै निर्यात गर्ने हैन, त्यहाँको ग्राहकले माग गरेबमोजिमको वस्तु उत्पादन गर्न हामीले ध्यान दिनुपर्छ ।’ अमेरिकी बजारमा लेदरका सामग्रीको माग उच्च रहेको उनले बताए ।
अमेरिकाले सन् २०१६ को फेब्रुअरीमा एक ऐनमार्फत नेपाललगायत कम विकसित मुलुकहरुबाट आयात हुने विभिन्न वस्तुमा भन्सार छुट दिने व्यवस्था गरेको थियो । यो व्यवस्था आगामी सन् २०२५ सम्म लागू हुनेछ । नेपालबाट अमेरिका निर्यात हुने हाते ब्याग, ट्राभल ब्याग, कार्पेट, सल, लगेजलगायत ७७ वस्तुमा यो सहुलियत प्रदान गरिएको छ । नेपालको निर्यात व्यापार बढी हुने मुलुकमा भारतपछि अमेरिका दोस्रोमा पर्छ । अमेरिकामा नेपालबाट सबैभन्दा बढी कार्पेट निर्यात हुने गरेको छ । अमेरिकामा निर्यात व्यापार गर्ने मुलुकहरुको सूचीमा नेपाल १५७औं स्थानमा पर्छ । सन् २०१६ मा नेपाल र अमेरिकाबीच एक सय २९ मिलियन डलरको व्यापार भएको तथ्यांक छ ।

प्रकाशित: २५ आश्विन २०७४ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App