१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एएफसी अध्यक्ष काठमाडौंमा

काठमाडौं – नेपाल भ्रमणमा आएका एसियाली फुटबल महासंघ (एएफसी) अध्यक्ष शेख सलमानसमक्ष नेपालले रंगशाला निर्माण र लिग फुटबलको विकासमा सहयोग गर्न आग्रह गर्ने भएको छ ।
अध्यक्ष सलमान दुईदिने भ्रमणका लागि मंगलबार नेपाल आएका छन् । उनले नेपाल भ्रमणका क्रममा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको भ्रमण गर्नेछन् ।
आफनो निजी विमानबाट आएका सलमानलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवरलगायतका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । बुधबार बिहान ११ बजे अध्यक्ष सलमानले एन्फा अध्यक्ष श्रेष्ठसँग सुरुआतमा बैठक गर्नेछन् ।
 अध्यक्षसँगको बैठकपछि सलमानले एन्फा कार्यसमितिसँग भेटघाट गरेर एन्फा कम्प्लेक्सको अवलोकन गर्ने कार्यक्रम तय भएको एन्फाले बताएको छ । नेपाल र भुटान भ्रमणमा आएका अध्यक्ष सलमान बिहीबार फर्कने कार्यक्रम रहेको छ ।
एएफसी अध्यक्ष सलमानको भ्रमणका अवसरमा नेपालको वास्तविक समस्या फुटबलको उच्च तहमा जानकारी गराउने अवसर मिल्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्द्रमान तुलाधरले बताए । ‘एएफसीको प्रमुख व्यक्तिले नेपाल भ्रमण गर्नु हाम्रा लागि राम्रो अवसर हो । यस बेला हामी नेपालको अहिलेको वास्तविक कुरा बुझाउन सक्छौं,’ तुलाधरले भने, ‘अध्यक्ष सलमान फिफाको विकास कार्यक्रम हेर्ने व्यक्ति हुन् । उनले नेपालको फुटबल विकासमा धेरै सहयोग गर्न सक्छन् । हामीले नेपालमा नयाँ रंगशाला निर्माण, च्यासल फुटबल मैदान र लिग फुटबल विकासका लागि सहयोग गर्न अपिल गर्नेछौं ।’

प्रकाशित: २५ आश्विन २०७४ ०१:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App