१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

राइला ओडिङ्गाले पुनः निर्वाचन नलड्ने

नैरोबी – केन्यामा अक्टोबर महिनाका लागि तय गरिएको पुनः निर्वाचनबाट विपक्षी दलका नेता राइला ओडिङ्गाले हात झिकेका छन् । निर्वाचनबाट हात झिक्ने निर्णयले देशको निर्वाचन आयोगलाई विश्वसनीय निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने निर्वाचनसम्बन्धी सुधार गर्नका लागि समय मिल्ने ओडिङ्गाले बताएका छन् ।


अगस्ट ८ मा सम्पन्न भएको वास्तविक निर्वाचनलाई धाँधली भएको र नतिजा स्वच्छ र प्रमाणित नभएको भन्दै केन्याको सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्वाचन आयोगले सेप्टेम्बर महिनाको २६ गतेका लागि पुनः निर्वाचनको मिति तय गरेको थियो । अगस्ट महिनमा सम्पन्न भएको निर्वाचनमा बहालवाला राष्ट्रपति उहुरु केन्याटाको जित भएको निर्वाचन आयोगले घोषणा गरेको थियो । निर्वाचन आयोगले केन्याटाले १४ लाख मतान्तरले राष्ट्रपति पदमा विजय हासिल गरेको बताएको थियो । सेप्टेम्बर २६ का लागि तय भएको पुनः निर्वाचनमा सहभागी नहुने बताउँदै विपक्षी नेता ओडिङ्गाले मंगलबार भने,‘निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्नका लागि कुनैपनि सुधारको योजना नल्याएको अनुभव गरेकाले हामी २६ अक्टोबरमा हुने निर्वाचन पहिलेको भन्दा पनि खराब हुने निष्कर्षमा पुगेका छौं ।’ त्यसकारण केन्याली जनताका इच्छा र विश्व समुदायको पनि सरोकारलाई सम्मान गर्दै राष्ट्रपतीय दौडबाट बाहिरिने निर्णय गरेको उनले बताए । केन्याको विपक्षी दलले निर्वाचन गराउन निर्वाचन आयोगले यस अघि गर्दै आएका काम कारबाहीमा व्यापक सुधार नआए सहभागी नहुने प्रष्ट पारेको थियो ।
विपक्षी नेता ओडिङ्गाले निर्वाचनलाई संविधानअनुसार स्वच्छ रुपमा सम्पन्न गर्नका लागि आवश्यक पर्ने सुधारका लागि समय दिन निर्वाचनमा सहभागी नहुने निर्णय गरेपछि केन्यामा निर्वाचन स्थगित हुनसक्ने बताइएको छ । यस अघि सरकारले विगत जस्तै निर्वाचन हुने र राष्ट्रपतिले सत्तारोहण गर्ने बताएको थियो । राष्ट्रपति पदको दौडबाट बाहिरिने निर्णय गर्दै विपक्षी नेता ओडिङ्गाले ‘नो रिफर्म, नो इलेक्सन’ को नारा लगाउँदै आज बुधबार प्रदर्शनमा उत्रन पनि सर्वसाधारणलाई अपिल गरेका छन् । सेप्टेम्बर महिनामा केन्याका सार्वजनिक अभियोजनका निर्देशक केरिआको तोबिकोले निर्वाचन आयोगका सदस्यले कुनैपनि प्रकारको निर्वाचनजन्य वा आपराधिक गतिविधि गरेको विषयमा छानबिन गर्न प्रहरी र भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायलाई निर्देशन दिएका थिए ।

प्रकाशित: २५ आश्विन २०७४ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App