१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलिया र सिरियाबीच रस्साकस्सी

सिड्नी- गृहयुद्धका बावजुद पनि प्लेअफमा स्थान सुरक्षित गर्दै छनोट चरणमा अविस्मरणीय स्थान बनाएको सिरिया मंगलबार दोस्रो लेगमा एसियन च्याम्पियन अस्ट्रेलियाको चुनौती पाखा लगाउँदै पहिलो पटक विश्वकपमा छनोट हुने सपना साकार पार्ने लक्ष्यमा हुनेछ ।
यी दुई टोलीबीच हुने दोस्रो लेगको विजेताले पुनः एक पटक अन्तरमहादेशीय प्लेअफमार्फत रूस विश्वकप २०१८ को ढोका ढकढकाउने अवसर पाउनेछ । एसियाली प्लेअफको विजेताले कन्काकाफ छनोटको चौथो स्थानको टोलीसँग दुई लेगको प्लेअफ खेल्नेछ । यो खेलले नै कुनै एक टोलीको विश्वकप यात्रालाई पूर्णता प्रदान गर्नेछ ।
यसअघि गत बिहीबार सम्पन्न पहिलो लेगमा सिरिया र अस्ट्रेलियाले १–१ को बराबरी खेलेका थिए । १–० ले पछि परेको स्थितिमा स्ट्राइकर ओमर अल सोमाले अन्तिम समयमा गरेको गोलमा सिरियाले विश्वकप छनोट सम्भावना जीवित राखेको थियो ।
सिरियाका प्रशिक्षक ऐमान अल हाकिमले आफ्नो टोली अस्ट्रेलियाको चुनौती पन्छाउन तयार भएको बताए ।
‘म समर्थकलाई आजसम्म हामीले निर्धारण गरेको यात्रा नै एक अद्भुत उपलब्धि  भएको भन्दै नआत्तिन आग्रह गर्छु,’ हाकिमले भने, ‘हामी आफ्नो विश्वकप सपना साकार पार्न सिड्नीमा पूरा शक्ति प्रयोग गर्नेछांै । टोलीले अस्ट्रेलियाको चुनौती पार गर्नेमा  म आशावादी छु ।’
सिरिया समूह ‘ए’ को छनोट चरणमा तेस्रो स्थान कब्जा गर्दै प्लेअफका लागि छनोट भएको थियो भने अस्ट्रेलिया समूह ‘बी’ को तेस्रो स्थानमा रहँदै प्लेअफका लागि छनोट भएको थियो ।
यता पहिलो लेगमा अग्रता लिए पनि अन्त्यमा अंक बाँड्न बाध्य भएको अस्ट्रेलिया सिरियालाई पराजित गर्दै लगातार चौथो पटक विश्वकप यात्रा पक्का गर्ने लक्ष्यमा हुनेछ ।
अस्ट्रेलियाका प्रशिक्षक एन्जे पोस्टकोग्गलोउले सिरियाविरुद्धको खेलमा जित हात पार्दै अन्तरमहादेशीय प्लेअफबाट छनोट हुनेमा आशावादी भएको बताए ।
‘हाम्रो लक्ष्य स्पष्ट छ,’ पोस्टकोग्गलोउले भने, ‘हामीलाई घरेलु मैदान र दर्शकको फाइदा भए पनि सिरियालाई कमजोर सोच्ने गल्ती गर्नेछैनौं। हामी आक्रामक रणनीतिका साथ खेल्छौं । पहिलो लेगमा गरेको गल्ती सुधार गर्दै अघिल्लो चरणमा प्रवेश गर्नेमा हामी विश्वस्त छौं ।’

प्रकाशित: २४ आश्विन २०७४ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App