१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

डुंगा दुर्घटनामा १० रोहिङ्गा बालबालिकासहित १२ को मृत्यु

ढाका - म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोडेर जाने क्रम जारी नै रहेको छ । यस क्रममा उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन् ।

उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पार गर्ने क्रममा ज्यान पनि जाने गरेको छ । सो क्रममा सोमबार मात्र पनि कम्तीमा १२ जना रोहिङ्गाको ज्यान गएको छ । सोही नदी तरेर पार गर्ने क्रममा नै उनीहरु मारिएका हुनसक्ने अनुमान गरिएको छ ।आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ ।

बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ । सो नदी किनारमा गएको महिनादिन भन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन् ।

सोही शिवीरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ । गएको अगष्ट २५ देखि रोहिङ्गाको बाहुल्यता रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन् । त्यस समयदेखि आजसम्ममा ती समुदायका १०० जनाभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

 

 

प्रकाशित: २३ आश्विन २०७४ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App