१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

यातायात (अ)व्यवस्था विभाग

गत वैशाख १५ गते सवारी चालक अनुमतिपत्र नवीकरणका लागि आवेदन दिइएकामा असोज १७ गतेसम्म पनि सवारी चालक अनुमतिपत्र पाइएको छैन । असोज १७ गते बिहान १०ः१५ मा सेवाग्राहीको भिड लाग्दा विभागका धेरै कोठा बन्द थिए । अनुमतिपत्र नवीकरण संकलन गर्ने ६ नं. कोठाको ढोका सेवाग्राही आफैँले खोलेर भित्र पस्यौँ । नयाँ आवेदन दिने ठाउँदेखि सबैतिर सेवाग्राहीको भिड थियो तर त्यहाँ कर्मचारी थिएनन् ।
लाइसेन्स बनेर कहिले आउने हो, थाहा पाएको भए आएपछि नै लिन जाने थिएँ । झ्यालबाट चिहाएर कर्मचारीको घन्टौँ प्रतीक्षा गर्दा पनि झ्याल खुलेन । कर्मचारीको अनुहार पनि देखिएन । पर्वको अवसरमा पछिसम्म पनि कर्मचारीको अभाव हुनु, सेवाग्राहीले दुःख पाउनु, यो कस्तो व्यवस्थापन हो ? कार्यालय खुल्ने तर कर्मचारी नभएर सेवाग्राहीले दुःख भोग्नुपर्ने, कमजोरी सेवाग्राहीको हो कि विभागको ? पहिलो पटक तीन महिनापछि आउनुस् भनेपछि गइयो तर छैन । फोन गरेर सोध्यो, कुनै रेस्पोन्स छैन ।
जनवरीमा आवेदन दिएकी एक बहिनी दिक्क हुँदै अरू एक घन्टा पर्खेर हेर्छु भन्दै प्रतीक्षामा थिइन् । एक जनाले सुनाए— मेरो भान्जालाई आर्मी डफ्फाबाट सुडान जानुपरेको थियो, उसले त बबरमहल गएर एक दिनमै लाइसेन्स बनाएर ल्यायो । अर्काले भने— ठूलाबडाहरूका लागि छुट्टै कार्ड छुट्टयाइएको हुन्छ रे, अनि तुरुन्तै पाउँछन् रे । अर्काले भने— हामी भने बिहान ५ बजेदेखि लाइन बस्यो, त्यही पनि सही जानकारी पाइँदैन । पैसा खान खोजेको हो कि के हो, के हो ?
यस पाँच महिनाको अवधिमा मन्त्रीज्यूसमेत साधारण व्यक्तिका रूपमा त्यहाँ गएर साधारण मानिसले पाउने दुःख र कष्ट आँखा अगाडि देखेको कुरा अखबारमा आइसकेको छ । सही कुरा के हो कसले जवाफ दिने ? आजको सूचनाको युगमा पनि सही सूचना र मीठो बोली अनि व्यवहार नपाएर जनताहरू दिक्क हुनुपर्ने अवस्थालाई के जवाफ दिन तयार छ यातायात व्यवस्था विभाग ?
उता उच्च तहको सुरक्षा र सुविधाका निम्ति भन्दै इम्बोस्ड नम्बर प्लेट प्रदान गर्न थालिएको छ । उच्च तहका व्यक्तिको सवारीसाधनबाट सुरु गरिएको यो इम्बोस्ड नम्बर प्लेटबारे अनभिज्ञ हुँदै एकजना वयस्कले आक्रोश पोख्न भ्याए— ठूलाबडालाई सधैँ सुरक्षा र चाकडी, सर्वसाधारणले सधैँ दुःख पाउनुपर्ने ? हामीले समयमा लाइसेन्स नपाउने, कयौँपटक समय र पैसाको बर्बाद गर्नुपर्ने । समयमा लाइसेन्स दिन सक्नेले इम्बोस्ड नम्बर ल्याएर के प्रमाणित गर्न खोजेको हो ? यो दीर्घकालीन र सम्भव छ कि छैन ? यही हो यातायात व्यवस्था विभागको काम–कर्तव्य ? धेरैले यो समस्या भोगेका छन् र दिक्क पनि छन् । सुलभ, छिटो–छरितो र सुरक्षित तरिकाले यातायातसम्बन्धी सेवा प्रदान गर्न, यातायात व्यवस्था ऐनअन्तर्गत रहेर स्थापना भएको यातायात व्यवस्था विभागले जनतालाई सन्तुष्ट पार्न सकेको छैन । कर्मचारीको अभाव, प्रविधिको अभाव, कर्मचारीमा दक्षताको अभावको कारण हो या आफैँमा ज्ञान र सीपको अभावले जनताले दुःख भोगिरहेका छन् ? कसरी छिटो–छरितो र विश्वासिलो तरिकाले सेवा दिन सक्छन् हाम्रा सरकारी कार्यालय ?

प्रकाशित: २३ आश्विन २०७४ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App