१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अस्पताल र चिकित्सकविरुद्ध ११ करोड क्षतिपूर्तिको माग

काठमाडौं -चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित परिवारले नर्भिक अस्पताल तथा चार चिकित्सकविरुद्ध क्षतिपूर्ति मुद्दा दायर गरेको छ । गत भदौ १३ मा काठमाडौं मैतीदेवीकी १६ महिने बालिका भिक्टोरिया आचार्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

पीडितका तर्फबाट उपभोक्ता मञ्चले अस्पताल तथा चिकित्सकले दिनुपर्ने गरी  ११ करोड २४ हजार ३ सय ४२ रुपैयाँ क्षतिपूर्ति माग गरिएको छ  । मंगलबार बालिकाका पिता रमेश आचार्यका तर्फबाट मञ्चका अधिवक्तामार्फत मुद्दा दायर गरेका हुन् ।

बालिकाका पिता आचार्य क्षतिपूर्ति दिलाइदिने प्रक्रियाका लागि घटनाको विस्तृत विवरणसहित निवेदन दिएपछि मञ्चले क्षतिपूर्ति ऐनअनुसार कानुनी उपचारका लागि सहयोग गरेको मञ्चले जनाएको छ । ‘कुनै पनि पीडितले आफूमाथि अंगगत , मानसिक , शारीरिक तथा व्यावसायिक क्षति भयो भनेर निवेदन दिएपछि मञ्चले आवाज उठाइदिन्छ,’ मञ्चका अध्यक्ष ज्योति बानियाँले भने । नर्भिक अस्पताल तथा बालिकाको उपचारमा संलग्न चारजना चिकित्सक डा. बिनिता जोशी , डा. सुरेश लामिछाने , ऋतु लामिछाने र सुनिला शाक्यविरुद्ध मुद्दा दायर गरिएको हो । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसहित विभिन्न विज्ञ सदस्यको सहभागितामा छानबिन अनुसन्धान समितिले घटनाको अध्ययन गरी फैसला गर्ने  कानुनी व्यवस्था छ ।

मञ्चले उपभोक्ता संरक्षण ऐनअनुसार पीडितका तर्फबाट मुद्दा दायर गरेको जनाएको छ ।  २०५४ को दफा (२२) मा पीडित उपभोक्ता सेवा वा वस्तु दिँदा कुनै उपभोक्तालाई अर्थिक, मानसिक, शारीरिक  र भौतिक हानी नोक्सानी पुगेमा पीडित आफैं वा पीडितका तर्फबाट उपभोक्ता संस्थाले मुद्दा दर्ता गर्न सक्ने व्यवस्था छ ।

गत भदौ १३ गते बिहान साढे दस बजे रुघाखोकी तथा ज्वरोले ग्रस्त भिक्टोरियालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । त्यहाँ पुगेको दुई घन्टाभित्रै बालिकाको मृत्यु भएको घोषणा गरिएको थियो । छोरीको मृत्युलगत्तै पिता आचार्यले लापरबाहीका कारण मृत्यु भएको भन्दै विभिन्न निकायमा धाएका थिए । यही क्रममा उनले गत भदौ १५ मा महानगरीय प्रहरी परिसर, टेकुमा चार चिकित्सकविरुद्ध किटानी जाहेरी दिन पुगेका थिए ।

मृतक बालिका अमेरिकी नागरिक भएको , पिता आचार्य पनि अमेरिकामै कार्यरत भएको र छोरीको मृत्युपछि मानसिक तथा व्यावसायिक असर परेको बताएपछि क्षति विश्लेषण गरी ११ करोडभन्दा बढी रकम क्षतिपूर्ति माग गरिएको बानियाँले बताए । ‘पीडितलाई घटनाले कहाँकहाँ क्षति पुग्यो भन्ने विषय हेरी ११ करोड रुपैयाँभन्दा बढी माग गर्नुपरेको हो,’ उनले भने ।

अमेरिकी नागरिकको हैसियत भएकी बालिका भिक्टोरियालाई प्रतिमहिना एक लाख नेपाली रुपैयाँबराबर पाउने गरेको, पिता आचार्यले अमेरिकामा मासिक ४ लाख नेपाली रुपैयाँ कमाउने गरेको, विभिन्न विश्वविद्यालयमा सल्लाहाकारको भूमिका निर्वाह गर्दै आएको लगायतका सामाजिक हैसियत रहेकाले करोडमा क्षतिपूर्ति माग गर्नुपरेको बानियाँको भनाइ छ । ‘छोरीको मृत्युका कारण यी सबै पेसामा बाधा पुगेको दाबी पिताले गरेका छन्,’ उनले भने ।

छोरीको मृत्यु लापरबाहीकै कारणले भएको भन्दै पिता आचार्यले अस्पतालको लापरबाहीका कारण आफूले जस्तो पीडा अरू नेपालीले भोग्न नपरोस् भन्नका लागि यी मुद्दा दायर गरेको बताए । ‘पचास वर्ष लगाएर पनि छोरीको न्यायका लागि लड्छु,’ उनले भने । यही विषयमा गत भदौ १५ मा महानगरीय प्रहरी परिसर, टेकुले किटानी जाहेरी दर्ता गर्न नमानेपछि उनले अब सिधै अदालती प्रक्रियामै अघि बढ्ने बताए । ‘पहिला छलफल गर्छौं भन्नेहरू अहिले सम्पर्कमा आउँदैनन्,’ उनले भने ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २० आश्विन २०७४ ०९:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App