१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

ताजकिस्तानमा राम्रो नतिजाको अपेक्षा

काठमाडौं- नेपाली फुटबल टोली एसिया कप छनोट खेलअन्तर्गत ताजकिस्तानविरुद्ध खेल्न शुक्रबार त्यसतर्फ जाँदै छ । एसिया कप नेपालले पछिल्लो समय खेलिरहेको उच्च स्तरको प्रतियोगिता हो । नेपाल एसिया कपका लागि हकदार थिएन ।
तर सोलिडारिटी कप जितेको आधारमा नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले एसिया कप खेल्ने मौका दियो । एसिया कप छनोटका लागि छानिएका २४ मध्ये ग्वामले नखेल्ने निर्णय गरेपछि नेपालले प्रतियोगिता खेल्ने मौका पाएको हो ।
भाग्यले खेल्न पाएको एसिया कप छनोटमा नेपालले तीन खेलबाट १ अंक मात्र जोडेको छ । तीनमध्ये दुई खेल घरेलु मैदानमा खेलेको नेपालले यमनसँग गोलरहित बराबरी गरेर खाता खोलेको थियो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल फिलिपिन्ससँग पहिलो खेलमा ४–१ ले र ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो । तीन खेलमा नेपालले दुई गोल गरेको छ भने विपक्षीको ६ गोल सामना गरेको छ । नेपालका विशाल राईले फिलिपिन्स र विमल घर्तीमगरले ताजकिस्तानविरुद्ध गोल गरेका थिए ।
भाग्यले जुराएको प्रतियोगितामा नेपालले असोज २४ गते ताजकिस्तानको घरेलु मैदान हिजोर सेन्ट्रल रंगशालामा खेल्नेछ । जुन खेलले नेपालको एसिया कप खेल्ने सम्भावनालाई थप स्पष्ट पार्नेछ ।
पछिल्लो समयको नतिजाबाट नेपाली टोलीका प्रशिक्षक ग्याटुको कोजी सन्तुष्ट छैनन् । उनले खेलाडीले आफ्नो क्षमताअनुसार नतिजा निकाल्न नसकेको बताउँदै आएका छन् ।
गत नोभेम्बरमा भएको सोलिडारिटी कप जितेपछि नेपाली फुटबलमा केही नयाँ आशाको संकेत देखिएको थियो । त्यसपछि नेपालले केही राम्रो नतिजा पनि हासिल ग¥यो । साफ फुटबलमा नेपाल स्वर्ण पदक हासिल गरेर भारतबाट फर्किएको थियो । पछिल्लो समय फुटबलले जगाएको आशाबाट नेपाली समर्थकले अझ थप उपलब्धि अपेक्षा गरेका छन् । तर नेपालले खेलेको प्रतियोगिता उच्च स्तरको भएकाले नतिजा राम्रो नभएको नेपाली टोलीका प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् ।
एसिया कप छनोटलाई नेपालले सकारात्मक रूपमा लिनुपर्ने शाक्यको भनाइ छ । ‘एसिया कप उच्चस्तरको प्रतियोगिता हो । हामीले खेलेका सबै टोलीको स्तर माथि छ । हामीले मिहिनेत गरिरहेका छौं, राम्रो नतिजाका लागि,’ शाक्यले भने, ‘एसिया कपमा छनोट हुनका लागि फुटबल टोलीको मिहिनेतले मात्र पुग्दैन । त्यसमा सरकार, पूर्वाधार, फुटबल संरचना र लगानीले निर्धारण गर्छ । हामीले जेजति नतिजा निकालेका छौं त्यो खेलाडीको मिहिनेतले हो ।’

छनोट प्रतियोगिताले नेपालको वास्तविक स्तरलाई मापन गर्न पनि सहयोग गर्ने शाक्यले बताए । ‘नेपालले कुन स्तरको प्रतियोगिता खेलिरहेको छ त्यो हामीले बुझ्न जरुरी छ । त्यसका लागि हामीले कति मिहिनेत गर्नुपर्छ भन्ने हामीले प्रतियोगिताबाट अनुभव हासिल गर्ने कोसिस गर्नुपर्छ । त्यो स्तरमा फुटबल खेल्नका लागि कति मिहिनेत र समय लाग्छ हामीले त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।’
एसिया कप छनोट प्रतियोगितामा २४ टिमलाई  ६ समूहमा विभाजन गरेर एएफसीले प्रतिस्पर्धा गराइरहेको छ ।
एउटा समूहमा ४ टोली हुनेछन् । एउटा टोलीले होम एन्ड अवे गरी ६ खेल खेल्नेछ ।
हरेक समूहको विजेता र उपविजेता टोलीले सन् २०१९ मा एसिया कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तीन खेल सकिँदाम्म १ अंक मात्र जोडेको नेपाल समूह ‘एफ’ को पुछारमा रहेको टोली हो ।  
समूहमा फिलिपिन्स शीर्ष स्थानमा छ । फिलिपिन्सले तीन खेलबाट ७ अंक, दोस्रो स्थानमा रहेको यमनले ५ र ताजकिस्तानले ३ अंक जोडेका छन् ।
ताजकिस्तानविरुद्धको खेलका लागि नेपाली टोलीका जापानी प्रशिक्षक कोजीले गोलकिपर एलन न्यौपाने र राजेन्द्र रावललाई समावेश गर्दै बुधबार २३ सदस्यीय टोली छनोट गरिसकेको छन् ।
टोलीमा गोलकिपर विशाल श्रेष्ठ र स्ट्राइकर सुमन लामा यस पटक परेनन् ।

गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु, एलन न्यौपाने, रक्षकमा कप्तान विराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल रहेका छन् ।

मिडफिल्डमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर, सुजल श्रेष्ठ परेका छन् ।

स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, अन्जन विष्ट, नवयुग श्रेष्ठ र भरत खवासले पाएका छन् ।
प्रशिक्षक शाक्य नेपालले छनोट खेलमा गरेको प्रदर्शन नराम्रो नभएको बताउँछन् । ‘हामीले अहिलेसम्म खेलेको खेललाई नराम्रो भन्न मिल्दैन । टिममा सुधार भैरहेको छ । नेपाली फुटबलको भविष्यका लागि केही सुखद कुरा प्राप्त भइरहेको छ । खेलाडीले गोल गरेका छन् । जित हासिल गर्न कडा मिहिनेत गरिरहेका छन्,’ शाक्यले भने, ‘ताजकिस्तानविरुद्धको खेल अब हाम्रा लागि महŒवपूर्ण छ । यसले हाम्रो छनोट हुने सम्भावनालाई प्रस्ट पार्न सक्छ । बराबरी होइन हामीलाई जितेर फर्कनुपर्छ । फुटबलमा रिजल्ट जे पनि हुन सक्छ । नेपालले एसिया कप खेल्ने सम्भावना छ । सकारात्मक रूपमा हामी राम्रो नतिजा निकाल्न कोसिस गरिरहेको छौं ।’

प्रकाशित: २० आश्विन २०७४ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App