१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिइओ पोखरेललाई प्युठान छाड्न निर्देशन

काठमाडौं- निर्वाचन आयोगले गृह जिल्ला पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत गोविन्द पोखरेललाई २४ घन्टाभित्र स्पष्टीकरणसहित प्युठान छाड्ने निर्देशन दिएको छ । सार्वजनिक पदधारण गरेका व्यक्ति पार्टी विशेषको कार्यक्रममा सहभागी  भई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले प्युठानका प्रमुख जिल्ला अधिकारीमार्फत पोखरेललाई जिल्ला छाड्न निर्देशन दिएको हो ।

आयोगको बिहीबार बसेको बैठकले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखी १० दिनदेखि प्युठानमा कांग्रेसको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहितालाई अटेर गरेको भन्दै पोखरेललाई जिल्ला छोडाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

पोखरेल प्युठान पुगेर निर्वाचन आचारसंहिताविपरीत कांग्रेसको कार्यक्रममा हिँडेको भन्दै आयोगले असन्तुष्टि जनाएको छ ।
आयोगको बिहीबार बसेको बैठकले प्युठानका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै १० दिनदेखि प्युठानमा कांग्रेसको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता अटेर गरेको भन्दै पोखरेललाई जिल्ला छोडाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर घिमिरेले पोखरेललाई बिहीबार नै जिल्ला छाड्न जानकारी गराइसकेको बताए । ‘निर्वाचन आयोगले जिल्ला छाड्ने व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएको छ’, उनले टेलिफोनमा भने, ‘मैले जानकारी गराइसकेको छु । उहाँले आजै प्युठान छाड्छु भन्नुभएको छ ।’ प्युठानको वसन्तीकोटमा रहेका पोखरेलले बिहीबार नै जिल्ला छाड्ने प्रजिअलाई जानकारी गराएका थिए । ‘उहाँ फर्कंदै हुनुहुन्छ सायद बाटोमै हुनुहुन्छ,’ घिमिरेले भने ।
 प्रतिनिधिसभा र प्रदेशसभा चुनावको आचारसंहिता भदौ १४ देखि लागू भएको थियो । आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई २४ घन्टे स्पष्टीकरण माग गर्ने गरेको छ । पोखरेललाई भने जिल्ला छोड्नसमेत निर्देशन दिएको हो ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले असोज १० देखि प्युठानका विभिन्न स्थानमा कांग्रेस कार्यकर्तासँग भेटघाट गरेका छन्,’ आयोगले भनेको छ, ‘पार्टी कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना आएकाले उहाँलाई तुरुन्त प्युठान जिल्ला छाड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौं ।’ पोखरेललाई कांग्रेस प्युठानले प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ ।
यसैगरी प्युठानका चारवटा राजनीतिक दलले प्रमुख कार्यकारी अधिकृत पोखरेलले पदको दुरुपयोग गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्युठानका एमाले अध्यक्ष तुलसीराम शर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक नारायणप्रसाद अधिकारी, मालेका जिल्ला इन्चार्ज धनेश्वर गौतम, नयाँ शक्तिका जिल्ला संयोजक हिमबहादुर केसीले संयुक्त विज्ञप्तिमार्फत पदीय मर्यादाविपरीत काम गर्नेलाई रोक्न सरकारसँग आग्रह गरेका छन् । ‘सरकारबाट नियुक्त भएका सिइओ पोखरेलले पदको दुरुपयोग, मर्यादा नाघेर आफ्नो काम छाडी प्युठान आएर कांग्रेसको कार्यक्रममा सहभागी भएका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सरकारी स्रोतसाधनको दुरुपयोग, कानुनको उल्लंघन, पदीय मर्यादा कुल्चेर गरिएका काम तुरुन्त रोक्न सरकारसँग आग्रह गर्दछौं ।’
प्युठानमा मंगलबार बसेको कांग्रेस जिल्ला समिति बैठकले पोखरेललाई सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको जिल्ला सभापति देवेन्द्र बर्माले बताए । यस विषयमा बुझ्न खोज्दा पोखरेलसँग फोन सम्पर्क हुन सकेन ।

सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा पोखरेल प्राधिकरणका सिइओ नियुक्त भएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आउनासाथ उनलाई हटाएर सुशील ज्ञवालीलाई सिइओ नियुक्त गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेपछि काम गर्न नसकेको आरोपमा सिइओ ज्ञवालीलाई हटाएर पुनः पोखरेललाई नियुक्त गरियो ।
दोस्रोपटक सिइओ बनेका पोखरेलले पुनर्निर्माण कार्यलाई गति दिन नसकेको आरोप लाग्दै आएको छ । प्राधिकरणमा पटकपटक नेतृत्व परिवर्तन भए पनि पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पपीडितको निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले दोस्रो र तेस्रो किस्ताको अनुदान वितरण गर्न सकेको छैन । गत वर्ष अनुदान वितरणका लागि सरकारले छुट्ट्याएको बजेट खर्च हुन नसक्दा फ्रिज भएको थियो ।

प्रकाशित: २० आश्विन २०७४ ०२:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App