१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माओवादी मन्त्रीलाई बर्खास्त गर्ने देउवाको तयारी

काठमाडौं- आफ्नो सरकारले स्पष्ट बहुमत पाएलगत्तै प्रधानमन्त्री शेरवबदुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनका पार्टीका शीर्ष नेताहरुसँग 'वान टु वान' वार्ता र कानुन व्यावसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई बर्खास्तको तयारीमा गरेका हुन्।

गठबन्धनसँग कायम मत
कांग्रेस –२०७
राप्रपा र राप्रपा प्रजातान्त्रिक –३७
राजपा– २४
लोकतान्त्रिक फोरम– १७
संघीय फोरम– १५
जम्माः ३००

गठबन्धन बाहिर भएका दल

नेकपा संयुक्त -३

जम्मा ३०३


‘बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्यूले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने भनेर छलफल सुरु गर्नु भएको छ,’ देउवा निकट स्रोतले नागरिकन्युजसँग भन्यो, ‘माओवादी मन्त्रीको बर्खास्तीसँगै सरकार पुनर्गठन गरिनेछ, त्यसकाबारेमा छलफल भइरहेको छ।’ उनका अनुसार निर्वाचन आचारसंहिताबाहेक अन्य कुनै अड्चनले सरकार पुर्नगठन गर्न गा्ह्रो हुनेछैन।

यद्यपि, आचारसंहिता लागेकै अवस्थामा यसअघि पनि देउवाले राप्रपा प्रजातान्त्रिकका नेताहरुलाई मन्त्रिमण्डलमा समावेश गराइसकेको नजिर कायम छ। त्यसैलाई टेकेर प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको देउवा निकट स्रोतले बतायो।

हालः कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका दलसँग ३ सय मतसहित बहुमत छ। बुधबार गठित लोकतान्त्रिक गठबन्धनमा आबद्ध रहेका दलमध्ये कांग्रेससँग २ सय ७, राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग ३७, राष्ट्रिय जनता पार्टीसँग २४, नेपाल लोकतान्त्रिक फोरमसँग १७ र संघीय समाजवादी फोरमसँग १५ सहित ३ सय मत कायम छ। गठबन्धन बाहिर रहेको तर सरकारमा सहभागी भएका नेकपा संयुक्त दलका ३ सिट छन्।

संविधानतः सरकार टिकाउनका लागि कम्तिमा २ सय ९७ मतसहितको बहुमत चाहिने हुन्छ, प्रधानमन्त्री देउवाले त्यसका लागि प्रयास गरिरहेका छन्। माओवादी मन्त्रीलाई बर्खास्त गरेपछि देउवा सरकारसँग बहुमतभन्दा ५ मत बढी हुने देखिन्छ।

स्रोतका अनुसार गठबन्धनमा आबद्ध रहेपनि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र कमल थापा नेतृत्वको राप्रपाले भने सरकार पुनर्गठनका बारेमा भने अझै पनि केही बोलेका छैनन्। त्यसका लागि देउवाले दुवै पार्टीका शीर्ष नेतासँग छलफललाई तिव्र बनाएका छन्। आजै बिहान मात्रै राप्रपा अध्यक्ष कमल थापालाई भेट्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पुगेका थिए।

‘माओवादी मन्त्रीलाई बर्खास्त गरेर सरकार पुनर्गठनबारे छलफल भयो,’ थापा निकट स्रोतले भन्यो, ‘मन्त्रालयका बारेमा पनि मोटामोटी कुराकानी भएका छन् तर प्रधानमन्त्रीसँग बसेर फाइनल हुन्छ।’

त्यसमाथि, देउवाले अन्य साना दलसँग पनि वार्ता र संवाद अघि बढाइरहेका छन्। प्रधानमन्त्री देउवाले भरपर्दो बहुमत जुटाएलगत्तै माओवादी मन्त्रीहरुलाई आजै बर्खास्त गरेर भोलि सरकार पुनर्गठन गर्ने तयारीमा लागिसकेका छन्।

गठबन्धनमा आबद्ध दलका शीर्ष नेता बसेर मन्त्रालय टुंगाउने भन्दै देउवाले आफूनिकट नेतालाई विभिन्न चरणमा कुराकानी गर्नसमेत लगाइरहेका छन्।

प्रकाशित: १९ आश्विन २०७४ ०५:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App