१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शुभकामना आदनप्रदान माध्यम बदलियो

काठमाडौं- सामाजिक सञ्जालको प्रयोग बढ्दै जादा मोबाइल एसएमएस आदनप्रदान घट्दै गएको छ । चाडपर्वको अवसरमा शुभकामना आदनप्रदान गर्न अत्यधिक प्रयोग हुँदै आएको मोबाइल एसएमएस गत वर्षभन्दा यो वर्ष घटेको हो ।  
मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमबाट एसएमएस आदनप्रदान गत वर्षको तुलनामा यस वर्ष झन्डै २२ प्रतिशतले घटेको छ । ‘गत वर्षको तुलनामा यस वर्ष एसएमएस आदनप्रदान २२ प्रतिशतले घटेको छ,’ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘अन्य माध्यमको प्रयोग बढ्दै जाँदा मोबाइल एसएमएसको संख्या घटेको देखिन्छ ।’    
नेपाल टेलिकमबाट यसपालिको दसैंको फूलपातीदेखि द्वादशीसम्म ६ दिनको अवधिको एसएमएसको संख्यालाई गत वर्षको सोही अवधिमा पठाएको एसएमएसको तुलना गर्दा २२ प्रतिशलते घटेको वैद्यले जानकारी गराइन् । गत वर्ष उक्त अवधिमा टेलिकमबाट एक करोडभन्दा धेरै एसएमएस आदनप्रदान भएको थियो । यसपालि दसैंमा एक करोडभन्दा कम एसएमएस प्रयोग भएको छ । ‘गत वर्ष दसैंको अवसरमा एक करोडभन्दा धेरै एसएमएस आदानप्रदान भएको थियो,’ वैद्यले भनिन्, ‘यो दसैंमा एक करोडभन्दा कममात्रै प्रयोग भएको छ । यो झन्डै २२ प्रतिशतले घटेको देखिन्छ ।’
स्मार्टफोनको प्रयोगमा वृद्धि भएसँगै सामाजिक सञ्जालको प्रयोग पनि बढ्दै गएको छ । यसबाट उपभोक्ताले शुभकामना आदनप्रदान गर्ने विकल्पहरू थपिएका छन् । आमउपभोक्ताले फेसबुक, ट्विटर, भाइबर, स्काइप, म्यासेन्जर (ओटिटी) जस्ता सामाजिक सञ्जालमार्फत शुभकामना आदनप्रदान बढ्दै गएको छ । उपभोक्ताले पुरानो म्यासेज गर्ने चलनलाई छोडेर नयाँ विधि, तरिका र माध्यम प्रयोग गरेको देखिन्छ ।
स्मार्टफोनमा भएको सुविधा र सामाजिक सञ्जालमा टेक्स्ट म्यासेजसँग भिडियो लगायत सुविधाले मोबाइल एसएमएसमा कमी आएको हो । टेक्स्ट म्यासेजसँगै भिडियो म्यासेज पठाउने चलन पनि बढ्दै गएको छ ।
एक तथ्यांकअनुसार स्मार्टफोन प्रयोगकर्ता बढ्दै तीव्र रुपमा बढ्दै गएको छ । जसले गर्दा सामाजिक सञ्जाल र ओभर द टप (ओटिटी) को प्रयोग बढ्दै गएको छ । सबैभन्दा धेरै सेवा प्रयोग हुने दूरसञ्चार कम्पनीहरू सरकारको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको तथ्यांक अनुसार कुल ग्राहकमध्ये ५० प्रतिशतभन्दा धरैले स्मार्टफोन प्रयोग गर्ने देखिएको हो ।  
दूरसञ्चार सेवामा आएको नयाँ प्रविधि, इन्टरनेट सेवाको मागले गर्दा स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य बढेको छ । एनसेलको प्रमुख लगानीकर्ता मलेसियन आजियाटाले सार्वजनिक गरेको २०१७ को पहिलो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलका ४९ प्रतिशत ग्राहकले स्मार्टफोन प्रगोग गर्ने गरेका छन् । उक्त प्रतिवेदन अनुसार २०१६ को अन्तिम त्रैमासको तुलनामा २०१७ को पहिलो त्रैमासमा स्मार्टफोन प्रगोगकर्ता सात प्रतिशतले बढेका छन् ।
त्यसैगरी, टेलिकमको एसएमएस प्रयोग घटे पनि डाटा प्रयोग भने बढेको छ । ‘एसएमएस प्रयोगको संख्या घट्दो भए पनि डाटा प्रयोग गरेर अन्य माध्यमबाट शुभकामना आदानप्रदान गरेको देखिन्छ,’ वैद्यले भनिन् ।
डाटा सेवाको घनत्वमा वृद्धि भएको टेलिकमले जनाएको छ । गत वर्ष २७.२१ प्रतिशत घनत्व रहेको डाटा सेवा पछिल्लो एक वर्षमा २९.७४ प्रतिशत पुगेको छ । टेलिकमका अनुसारका अनुसार २०७३ असार मसान्तसम्ममा इन्टरनेट ग्राहक संख्या ७६ लाख सात हजार पाँच सय ६९ रहेकोमा हाल यसमा १०.७६ प्रतिशतले वृद्धि भई कुल डाटा÷इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार आठ सय ९४ पुगेको जनाएको छ ।
टेलिकमको तथ्यांक अनुसार उसका ग्राहकले दैनिक साढे २७ हजार जिबी (गिगाबाइट) भन्दा धेरै डाटा प्रयोग गर्ने गरेका छन् । नेपाल टेलिकमले गत पुस १७ गतेदेखि चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सुरु गरेसँगै डाटा प्रयोग बढेको हो । टेलिकमका अनुसार पुसअघि दैनिक १६ हजार जिबी डाटा प्रयोग हुँदै आएको थियो ।
दूरसञ्चार कम्पनीमा डाटा प्रयोगको संख्या वृद्धिले स्मार्टफोनको प्रयोग बढ्दै गएको देखिन्छ । यसले विभिन्न सामाजिक सञ्जालको प्रयोग बढेको र पुरानो चल्दै आएको एसएमएस घट्दै गएको देखिन्छ ‘।

प्रकाशित: १९ आश्विन २०७४ ०५:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App