१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

सेलिब्रेटीको फेस्टिभल फेसन

काठमाडौं- यो वर्षको दसैंले लगभग नेटो काटेको छ । दसैंको रौनक सेलिब्रेटीमा छाएकै छ । दसैंतिहारका बेला परिवारसँग घुलमिल हुने मात्र हैन, नयाँ डिजाइनका कपडामा ठाँटिएर फोटो सेयर गर्न उनीहरू पछि पर्दैनन् ।
नायिका गौरी मल्ल अभिनय र व्यवहारकै कारण पनि शालीन छिन् । चाडबाडका बेला भने परिवारका साथमा पारिवारिक रंगमा रंगिन मन पराउँछिन् । दसैंबारे उनले भनिन्, ‘परिवारका साथ घुमफिर गर्दै सपिङमा रमाउन भने छाड्दिन ।’
उनले दसैं काठमाडौंमै परिवारका साथ मनाइन् । ‘योपालि मैले डिजाइनर सलवार कमिज नै मन पराएँँ,’ उनले सुनाइन्, ‘चाडपर्वमा कहिलेकाँही सारी पनि लगाउँछु ।’
पूर्व मिस नेपाल उषा खड्गी भने फेसनेबल दसैं मनाउन मन पराउँछिन् । उनको दसैं प्रायः टे«डिसनल लुक्सको हुनेगर्छ । ‘अरूबेला सधै क्याजुअलमै बित्छ,’ उनले भनिन्, ‘तर दसैं तिहारमा सारी, कुर्ती, टीका, चुरा, पोतेसहित ट्रेडिसनल बन्छु ।’ दसैंतिहार नेपालीको मौलिक चाड भएकाले पनि यसको मौलिकपना सारी, कुर्तीहरूमै भेटिने उनी सुनाउँछिन् ।
‘यु आर स्टाइलिस’ नामक आफ्नो बुटिकमा उनले दसैंअघि धेरैजसो ट्रेडिसनल कपडा दसैंमा बिक्री पनि गर्न भ्याइन् । तिहारका लागि पनि उस्तै खालका डिजाइन छन् । ‘नयाँ पुस्ताकाले लेहेंगा स्टाइल बढी मन पराए,’ उनले थपिन्, ‘बिहे भएकाले भने कुर्ती र भरेका सारी मन पराए ।’ उनी आफैं पनि घटस्थापनायता मन्दिर गएर पूजा गर्न रुचि राख्छिन् । त्यो बेला पर्वका रंगजस्तै रंगिन बन्न मन लाग्छ । दसैंतिहारको  टीकाका लागि भने अलिक हेभी कपडामा सजिनुपर्छ भन्ने मान्यता राख्छिन् । रातो, ब्राइट कलरहरू सुन्ला, रोयल ब्लु रंगका कपडा दसैंमा सबैको रोजाइ बनेको उनले सुनाइन् । तिहारसम्म त त्यस्तै नै हुने उनले बताइन् ।
उनको एक छोरा एक छोरी र श्रीमान्का लागि तिहारको कपडा किनिसकेकी छिन् । ‘मेरोचाहिँ आफ्नै बुटिकमा बनाएँ । उहाँले त्यस्तै कुर्ता टाइपको टिसर्ट, पाइन्ट, जुवारीकोट अनि टीका लाउँदा ढाका टोपी लाउने हो,’ खड्गीले थपिन् ।
अभिनेत्री दिया मास्केले भने दसैंको सपिङ श्रीमान्को घर पोखरा पुगेरै गरिन् । दसैंतिहारजस्ता चाडबाडमा उनलाई एक्स्ट्राभन्दा पनि घरेलु बन्न मनपर्छ । ‘अरूबेला फेसनेवल बने पनि त्यो बेला घरकै जस्तै गर्न मन पराउँछु,’ उनले सुनाइन्, ‘टीकाका बेला सुतीका सारी लगाउँछु तिहारमा भने रंगीन बन्छु ।’ रंगीन दुनियाँमा लगाइने कपडा बाहिरकै लागि हो जस्तो उनलाई लाग्छ । दसैंको किनमेलमा हुने भीडभाडका कारण पनि उनलाई बजार जान मन लाग्दैन । ‘अनलाइनबाटै मगाएर अबदेखि किनमेल गर्ने सोच बनाएको छु मैले त,’ उनले भनिन् ।
अहिलेकी व्यस्त नायिका प्रियंका कार्कीलाई पनि दसैंतिहारमा पारम्परिक कपडा मनपर्छ । यो पाला उनले कालो कुर्ता सलवारमा बाबुआमाको हातको टीका लगाइन । ‘छक्का पञ्जा २’ को प्रवद्र्धनमा व्यस्त हुनु परेका कारण दसैंमा राम्ररी सपिङ गर्न नपाएको उनले बताइन् । ‘यो पालाको तिहार यतै होला जस्तो छ । तिहारमा धुमधामसँग सपिङ गर्ने हो,’ प्रियंकाले उत्साहित हुँदै भनिन् ।   
पूर्व मिस नेपाल सुगारिका केसी अष्टमीसम्मै कामले व्यस्त भए पनि दसैंमा भने फेस्टिभ मुडमा उत्रिन् । ‘कामले नै व्यस्त भइन्छ,’ केसीले सुनाइन्, ‘दसैं तिहार त परिवारसँग बस्नकै लागि आएको जस्तो लाग्छ ।’ उनलाई पनि दसैंमा मन्दिर घुम्न रमाइलो लाग्छ । दशमीको टीकामा भने उनले सारी लगाइन् । ‘अरु बेला लाउन नपाएको यो बेला रहर पनि हुँदो रैछ,’ उनले कारण बताइन्, ‘सारीसँगै भएभरका गरगहना झिकेर लगाउँछु म त ।’ तिहारमा भने फूलका रंगजस्तै हुन मनपर्छ उनलाई ।
पूर्व मिस ग्लोबल निलम चन्दले काठमाडौंमै यो वर्ष दसैं मनाइन्् । टीका नभए पनि साथीभाइसँग भेटघाट तथा घुमफिर गरेर दसैंका दिन बिताइन् ।
चाडपर्वमा घर महेन्द्रनगर जाँदा भने धेरै आफन्त भेट हुने लोभ उनलाई लाग्छ ।  दसैंतिहारजस्तै चाडपर्वमा उनलाई कुर्ता सलवार र त्यही पहिरनअनुसार मेकअप गर्न मनपर्छ । ‘अहिले फेसबुक इन्स्टाग्रामजस्ता प्रविधिसँग जोडिएका सोसल मिडियाका कारण पनि दसैं फेसनेवल हुँदै गएको छ,’ उनले भनिन,् ‘जस्तो लुगा त्यस्तै  मेकअप, गहना, चुरा तथा जुत्ता मिलाउँदा राम्रो देखिन्छ ।’ फोटो हालेर साथीभाइलाई देखाउने र आफूलाई पनि आनन्द आउने कारणले पनि फेसनमा मानिसको रुचि बढेको निलमको अनुभव छ । कपडामा पनि डिजाइनर कपडाको चलन आएको उनले देखेकी छिन् । अभिनेत्री कुन्जना घिमिरे र सीताराम कट्टेलले पनि दसैंमा किनमेल गर्न भ्याएनन् । घर नभएकालाई घर बनाउनमै उनीहरूको यो वर्ष बितेको छ । तर, पनि दसैं र तिहारमा परिवारसँग बसेर रमाइलो गर्ने दुवैको चाहना छ  ।
‘के को सपिङ गर्नु दसैं सुरु भैसक्दा काममै व्यस्त भयौं,’ कुन्जनाले भनिन्, ‘अन्तिमा बल्लतल्ल किनियो ।’ यसपाला घर झापामा टीका नभएकाले माइतमा टीका लगायौं ।’ विवाह नहुँदा दसैंमा कुर्ता मन पराउने उनी बिहेपछि अनिवार्य रूपमा सारी वा कुर्ता नै लगाउँछिन् । दसैंमा घरपरिवारका माझ सारी लगाउँदा नै महिला शालीन देखिने उनको तर्क छ ।
फेसन डिजाइनर निशा श्रेष्ठ पनि दसैंमा प्रायः महिलाले  परम्परागत फेसनमै रुचि राखेको बताउँछिन् । ‘अलिकति उमेर भएकाले सारी नै मन पराउँछन्,’ श्रेष्ठले बताइन्, ‘नयाँ पुस्ताका युवतीले भने परम्परागत लेहेंगा चोली नै रोज्छन् ।’ उनको निशा डिजाइनमा यसपालाको दसैंमा लेहेंगाचोली, ,अनारकली गाउन तथा डिजाइनर कुर्ती किन्नेहरू बढी आए ।
पहिलेका दसैंमा बढी नै झिलीमिली रोज्ने चलनलाई पछाडि पार्दै अचेल थोरै झिलिमिलीसँगै अरु बेला पनि लाउन मिल्ने खालका कपडा किन्ने क्रम सुरु भएको उनले बताइन् ।  दसैंअघि उनी कम्तीमा पनि तीन महिना डिजाइनर सारी र दसैंका कपडा बनाउन व्यस्त रहन्छिन् । आफू भने तिहारमा पञ्जाबी कुर्ती सलवार र सारी लगाउने योजना बनाएकी छिन् ।
उनका अनुसार पूजाका लागि लामो कुर्ती चलेको छ । रातो, हरियो पहेलो बढी चल्छ । त्यसमा ठूला प्लाजो र सरारा सलवार अहिलेको नयाँ रोजाइ हो,’ उनले भनिन् ।

प्रकाशित: १९ आश्विन २०७४ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App