१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कालोपेत्र गर्ने म्याद गुज्रिँदा सव–बेस पनि बनेन

यसअघि उत्पादित गिटी ल्यावमा फेल भएपनि अर्खौलेको विजुलेमा अर्को क्रसरका लागि ठाउँ बनाउँदै ठेकेदार। तस्बिर : दमन राई

खोटाङ – मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको बिजुले–हुर्लुङ–दिक्तेल सडक कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनीले दोस्रोपटक थपिएको म्याद गुज्रिँदासमेत सव–बेसको कामसमेत पूरा गर्न सकेको छैन । हाल कालोपत्रेको काम सम्पन्न भएर सहजरूपमा सवारीसाधन आवतजावत हुनुपर्ने बेलामा ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी तथा लामा–नागार्जुन–त्रिशूली जेभीको ढिलासुस्तीका कारण सव–बेसका कामलेसमेत पूर्णता पाउन नसकेको हो।

दिक्तेल–हलेसी सडकखण्डअन्तर्गत विजुलेदेखि हुर्लुङसम्मको सडक कालोपत्रेका काम गरिरहेको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी तथा हुर्लुङदेखि दिक्तेलसम्मको कामको जिम्मा लिएको लामा–नागार्जुन–त्रिशूली जेभीले ओछ्याएको सव–बेसको मापदण्ड नपुगेको भन्दै परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीले सच्याउन भनेको थियो। 

विजुले–हुर्लुङ (१२ किलोमिटर) र हुर्लुङ–दिक्तेल (११.४३ किलोमिटर) खण्डमा सव–बेसकारूपमा ओछ्याएको गिटी र ढुंगाको साइज नमिलेको भन्दै परामर्शदाता कम्पनीले सच्याउन भनेको ५/६ महिना बित्दासमेत ठेकेदार कम्पनीले टेरपुच्छर लगाएको छैन । सव–बेसको काम सकिएको भन्दै ठेकेदारले ६० प्रतिशत भुक्तानी मागेपछि अनुगमन गर्दा सव–बेसको मापदण्ड नपुगेको पाइएको परामर्शदाता कम्पनीले जनाएको छ । सव–बेसकारूपमा सडकमा हालेको ढुंगा र गिटी कुनै सानो र कुनै ठूलो आकारको राखिएको पाइएपछि ठेकेदारले मागेको ६० प्रतिशत भुक्तानी दिनुको सट्टा पहिला दिएको भुक्तानीसमेत फिर्ता लिनुपर्ने प्रतिवेदन बुझाइएको परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीका रेजिडेन्ट इन्जिनियर सूर्यप्रसाद ढकालले बताए । परामर्शदाता कम्पनीले ठेकेदारलाई सडकमा राखिएको ओभरसाइजको गिटी ढुंगालाई निकालेर नयाँ राख्न वा जोतेर विभिन्न आकारका ढुंगागिटीलाई फोडेर मापदण्ड अनुसारको बनाउन भनेको महिनौं बित्दा पनि सो अनुसार काम भएको छैन। 

एसियाली विकास बैंक (एडिबि)को ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्नेगरी २०७१ साल साउन अन्तिम साता सडक स्तरोन्नतिको काम थालिएको थियो । परामर्शदाताबाट सव–बेस अस्वीकृत भएपछि र मागेको ६० प्रतिशत भुक्तानी नपाएपछि ठेकेदारले हालसम्म सव–बेसको कामलाई गति दिन आलटाल गरिरहेको स्थानीयको गुनासो छ । स्रोतका अनुसार कांग्रेस नेता जिपछिरिङ लामाको संरक्षणमा रहेका ठेकेदार तिनै सव–बेसलाई शक्ति प्रयोग गरेर पास गराई अन्य काम गर्ने कसरतमा छन्। 

एडिवीले कडाइ गरेपछि सो अवस्थाको सव–बेसलाई पास गराएर जाने वा ठेक्का तोडेर काम छाड्नेमा उनीहरूबीचमै बिवाद भएको स्रोतले बताएको छ । विजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपेत्रका कामको जिम्मा लिएका कन्ट्रयाक्टर राम पाख्रिनले भने डिजाइनमा भएको समस्याका कारण सडकको काममा ढिलाइ भएको बताए । ‘पहिलाको लागत अनुमानमा गुणस्तर अपुग हुँदा काममा ढिलाइ भएको हो,’ पाख्रिनले भने, ‘रि–भेरिएसन हुने वित्तिकै हामी हाम्रो काम पूरा गर्छौं, यसमा हाम्रो मात्र कमजोरी छैन ।’ पाख्रिनले रि–भेरिएसन नहुँदा काम अड्किएको बताए पनि सोही प्रकृतिको हलेसी–विजुले सडकको काम भने रोकिएको छैन । लुम्बिनी–कन्काई जेभीले जिम्मा लिएको हलेसी–विजुले सडकको काम विजुले–हुर्लुङ–दिक्तेल सडकको तुलनामा सन्तोषजनक छ । काममा अघि भए पनि लुम्बिनी–कन्काईले पनि धुलोमाथि फस्टकोड पिच गरेको गुनासो छ। 

१४ जुन २०१४ देखि १२ जुन २०१६ मा सक्ने सम्झौता गरिएको कालोपत्रेका कामको दोस्रोपटक थप भएको म्यादसमेत गत मार्चमै सकिसकेको छ । गत जुलाई १५ सम्मको कार्यप्रगति अनुसार हालसम्म हलेसी–विजुले खण्डको काम ५७.१०६ प्रतिशत, बिजुले–हुर्लुङ खण्डको काम ५१.३३ प्रतिशत र हुर्लुङ–दिक्तेलको काम ५१.३५४ प्रतिशत मात्र सम्पन्न भएको छ । दोस्रोपल्ट थपिएको हलेसी–विजुलेको म्याद ८ मार्चमा, बिजुले–हुर्लुङको म्याद १३ मार्चमा र हुर्लुङ–दिक्तेलको म्याद २३ मार्चमा गुज्रिसकेको सडक विभागअन्तर्गत दिक्तेल–हलेसी सडक योजनाका योजना प्रमुख गोविन्द वाग्लेले बताए । तेस्रोपल्ट म्याद थपका लागि सिफारिस गरिए पनि हालसम्म स्वीकृत भएको छैन । सम्झौता अनुसारको काम नगरेकोमा ठेकेदार दैनिक ७७ हर्जानाको भागिदार बनिसकेको छ। 

विजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपत्रे गर्नुअघि राखिएको सव–बेस मापदण्ड अनुसार नराख्नुका पछाडि ठेकेदारको टालटुल पार्ने र काम छाडेर हिंड्ने नियत देखिएको खोटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण शैंजूले बताए । ‘मापदण्डअनुसार सव–बेस नहाल्नु र बेसका लागि आवश्यक गिटी जम्मा गर्नमा बेवास्ता गर्नुको पछाडि ठेकेदारको खराब नियत देखिन्छ,’ शैंजूले भने, ‘यही पारा हो भने सडकको काम वर्षाैंपछि धकेलिने देखिएको छ ।’ 
उसो त सडकको पर्खाल, ड्रेन, नाली र डिलमा बनाइएका पिल्लरलगायत संरचना कमजोर बनेको जनगुनासो आएपछि पटक–पटक अनुगमन गरेर कमजोरी सुधार्न प्रशासनले दिएको निर्देशनसमेत ठेकेदारले लत्याउँदै आएको छ । भारतीय नाकाबन्दी, भूकम्पलगायतका कारण काममा ढिलाइ भएको बताउने ठेकेदारले अहिले वर्षाको कारण देखाउँदै काम बन्द गरेको छ। 

बेसको गिटी पनि गुणस्तरहीन 
दिक्तेल–हलेसी सडक अन्तरगत विजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदारले बेस हाल्न तयार पारेको गिटीसमेत गुणस्तरहीन भएको पाइएको छ । कालोपत्रे गर्नुअघि सडकमा राख्नका लागि महुरे, हुर्लुङ र जालपामा क्रसर राखेर उत्पादन गरिएको गिटी परामर्शदाता कम्पनी एमएसभी इन्टरनेसनल एण्ड सोइल टेस्ट जेभीको ‘ल्याव टेस्ट’मा फेल भएपछि बेसका लागि तयार पारिएको गिटी गुणस्तरहीन भएको पुष्टि भएको हो ।  ठेकेदारले गुणस्तरको कामभन्दा नाफा कमाउने लोभमा कमसल गिटी उपयोगमा ल्याउन लागे पनि परामर्शदाता कम्पनीको ‘ल्याव टेस्ट’ले अयोग्य ठहराएको हो। 

बेसकारुपमा हाल्नका लागि तयार पारिएका कतिपय गिटी सडकका किनारामा थुपारिएका छन् । तर, ती गिटी अनुपयुक्त देखिएपछि सो गिटी प्रयोगका लागि ठेकेदारलाई छेकबार लागेको छ । कमसल गिटीलाई उपयोग गर्ने तयारी गरेर ठेकेदारले कालेपत्रेका कामप्रति चरम लापरबाही गरेको स्थानीयको भनाइ छ । गिटी नै ल्याव टेष्टमा फेल भएको भन्दै चर्को जनगुनासो आउन थालेपछि ठेकेदारले केही समयअघि मात्र अर्खौलेको नागी नजिकको खानीबाट गिटीका लागि ढुंगा निकाल्न थालेको जनाएको छ। 

 

प्रकाशित: १८ आश्विन २०७४ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App