१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

उपत्यकाका नदीबाट शनिबार २३ मेट्रिक टन फोहर निकालियाे

काठमाडौं– उपत्यकाका प्रमुख नदी सफाइ गरी २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बागमती सफाइ महाअभियानको १६८ औँ हप्तामा आज बल्खुपुलस्थित तरकारी तथा फलफूल बजार क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य नारायण श्रेष्ठले बताए।

सफाइमा बागमती समिति, काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उप्रेती समाज, ललितपुर ज्यापू समाज, गायत्री परिवार, रेयुकाइ, एस ट्राभल्सलगायतका सङ्घ संस्थाको सहभागिता थियो। गतहप्ताभन्दा बल्खुपुलको तरकारी तथा फलफूल बजार सफा पाइएको उनले बताए।

सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही पनि शनिबार सफाइमा सहभागी भई सभ्यताको स्रोत नदी सफाइमा साथ दिने प्रतिबद्धता जनाइन्। राष्ट्रिय योजना आयोगकी सदस्य सुमित्रा अमात्य, पूर्व मुख्यसचिव एवम् महाअभियानका अगुवा लीलामणि पौडेल, पूर्व सचिवद्वय जयमुकुन्द खनाल र सुरेशप्रकाश आचार्य, बागमती समितिका सदस्यद्वय सुष्मा शर्मा र गोकुल थापा लगायतका अभियानकर्मीको सफाइमा सक्रियता रहेको थियो।

यसैगरी विष्णुमती सफाइको १०३ औँ हप्तामा शनिबार टेकु दोभानस्थित कुलेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन्द्र लामाले बताए। गतहप्ता फोहर रहेको कुलेश्वर फलफूल तथा तरकारी बजार आज सफा पाइएको पनि उनले सुनाए।

रुद्रमती सफाइको १२७ औँ हप्तामा शनिबार काठमाडौँ महानगरपालिका– ९ बत्तीसपुतलीको दुई किमी नदी क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी धनप्रसाद आचार्यले बताए।

यस्तै गुह्येश्वरीमाथिको बागमतीमा ‘राम्रो जोरपाटी, हाम्रो जोरपाटी’ र पुडासैनी मैत्री समाज, नख्खुखोला सुधार समितिले नख्खुखोलाको पनि सफाइ गरेका छन्।

विसं २०७० जेठ ४ गते शनिबार बागमती सफाइ महाअभियान सुरु भएपछि उपत्यका र बाहिर पनि नदी एवम् बजार सफाइमा जागरण आएको छ। रासस

 

प्रकाशित: १५ श्रावण २०७३ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App