१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा ४२ जना तालिबान लडाकू मारिए

कुन्दुज, अफगानिस्तान, असोज १७ - अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा अफगान सेना र तालिबान लडाकूबीच भएको भिडन्तमा परी कम्तीमा ३५ जना तालिबान लडाकूको ज्यान गएको छ । उक्त स्थानमा गएको तीन दिनदेखि अफगान सेना र तालिबान लडाकूबीच भिडन्त जारी रहेको छ । सो भिडन्तमा परी अरु २७ जना तालिबान लडाकू पनि घाइते भएका छन् । 

सो भिडन्तमा परी मारिएका ३५ जनाको शव भेटिएको र घाइते भएका २७ जनालाई अफगान सेनाले नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल लगेको जनाइएको छ । इमामा साहिब जिल्लामा अफगान सेनाले सफाया अभियान चलाएको छ । तालिबान लडाकूका विरुद्ध सञ्चालित सो अभियानका क्रममा ती लडाकू मारिएका बताइएको छ । 

उता अफगानिस्तानकै पूर्वी प्रान्त नान्गाहारमा गरेको हवाई कारबाहीमा परी कम्तीमा आठ जना तालिबान र इस्लामिक स्टेट्स (आइएस) आबद्ध लडाकू मारिएका छन् । अफगानिस्तानको गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी सो जानकारी दिएको समाचारमा जनाइएको छ । 

नान्गाहार प्रान्तको आचिन जिल्लामा केही दिनयतादेखि लुकेर बसेका आतंककारीलाई लक्ष्य गरेर अफगान सेनाले गरेको हवाई कारबाहीमा उनीहरु मारिएका गृह मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । यस कारबाहीमा मारिनेमा केही तालिबान र केही आइएसका हतियारधारी लडकूहरु नै रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

अफगान सरकारी सुरक्षा बलले गरेको यस कारबाहीमा उक्त क्षेत्रमा आइतबार पनि कैयौँ हतियारधारी मारिएका बताइएको थियो । त्यस क्षेत्रमा पछिल्लो समयमा आइएसका लडाकूहरुको हिंसात्मक क्रियाकलापहरु जारी राखेका बताइएको छ । सोही सूचनाको आधारमा उनीहरुमाथि कारबाही गर्ने गरिएको अफगान सेनाले जानकारी दिएको छ । 

प्रकाशित: १७ आश्विन २०७४ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App