२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

खेलकुदको विजेता तस्बिर

काठमाडौं- रुकुमको तकसेरा गाविसमा फुटबल मैदान छैन। खेल्ने टिम छैनन्। नेपाली फुटबल इतिहासमा रुकुम जिल्लाले नै अहिलेसम्म एउटै व्यावसायिक खेलाडी उत्पादन गर्न सकेको छैन। तर त्यहाँ पनि फुटबल खेलिन्छ, आफ्नै तरिकाले।

काठमाडौंमा शुक्रबार भएको फोटो प्रतिस्पर्धाको खेलकुद विधामा विजेता बनेको फोटोले रुकुमको फुटबल अवस्था राम्ररी उजागर गरेको छ। थुप्रै सुविधासम्पन्न रंगशाला, विभिन्न खेलमा प्रतिस्पर्धा गरिरहेका व्यावसायिक खेलाडी र तिनलाई तस्बिरमा कैद गर्ने खेलकुद फोटो पत्रकारलाई पछि पार्दै सुरविन्द्र कुमार पुनले क्लिक गरेको एउटा भावनात्मक तस्बिर खेल विधामा विजेता बन्यो। उनको क्यामेराले रुकुमको तकसेरा गाविसस्थित एक परम्परागत घरको छतमा आफ्नै तरिकामा फुटबल खेल्दै गरेका बालकहरूलाई कैद गरेको थियो।

सुरविन्द्रको घर माङकोट हो, जहाँ पुग्न तकसेराबाट पनि एक दिन कस्सिएर हिँड्नुपर्छ। पूरा जिल्लामा नै ढंगको एउटै मैदान छैन। नियमित खेल्ने टिम हुने त कल्पना बाहिरको विषय हो। 'तथापि दशैं, तिहार वा अन्य चाडवाडमा रमाइलोका लागि रुकुममा पनि फुटबल खेलिन्छ। भाले कप वा खसी कपका नाममा भलिबल कोर्टलाई नै अली फराकिलो पारेर आफ्नै तरिकाले यहाँ फुटबल खेल्ने गरिन्छ,' सुरविन्द्र कुमार भन्छन्।

भर्खरै स्थानीय एक विद्यालयको मैदानलाई डाँडो ताछेर फुटबलका लागि फराकिलो पार्ने प्रयास भइरहेको छ। त्यसैले 'घरको छतमा थोत्रो बलसँग रमाउँदै गरेका बालकहरूलाई क्यामेरामा कैद गर्नु रुकुममा खेलकुदको फोटो खिच्न खोज्ने सुरविन्द्र कुमार जस्ताको बाध्यता हो। यही बाध्यताको उपज राजधानीमा विश्वस्तरीय जजबाट पुरस्कृत हुँदा मुख्य जज प्रशान्त पन्जियार भन्दै थिए, 'खेलकुद भनेको खुसीको क्षण हो। यो प्रतिस्पर्धात्मक मैदानमै हुनुपर्छ भन्ने छैन। खेलकुद फोटोमा खेलकुदीय भावना खोजिन्छ। त्यो मैदान बाहिर पनि हुनसक्छ। मैदानभित्रको कुरा सबैले सहजै देख्छन्। त्यसैले खेलकुद फोटो पत्रकारले मैदान बाहिरका कुरा ल्याउन सक्नुपर्छ। यो फोटोमा खेलकुदको त्यही विशिष्ट गुण थियो, त्यै भएर हामीले यसलाई महŒव दियौं।'

फोटो पत्रकार (पिजे) क्लब नेपालको आयोजनामा सम्पन्न ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताका मुख्य निर्णायक भारतका वरिष्ठ फोटो पत्रकार पन्जियार वर्ल्ड प्रेस फोटो कम्पिटिसनका जुरी सदस्य पनि हुन्। उनलाई नेपालमा लामो समयदेखि फोटो पत्रकारिता गरिरहेका नरेन्द्र श्रेष्ठ, प्रकाश माथेमा, मणि लामा, देवेन्द्रमान सिंह, संगीता थापा र सुजन चित्रकारले जुरी सदस्यका रूपमा सघाएका थिए।

सात सदस्यीय जुरी प्यानलको रोजाइमा परेका शीर्ष तीन फोटोमा मैदान, प्रतिस्पर्धा, स्टार खेलाडी र खेलकुदमै दिनरात क्यामेरा ताक्नेहरू अटेनन्। एमेच्योर फोटोग्राफरहरूले मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी स्पोर्टस विधाको शीर्ष तीनमा कब्जा जमाउँदा रोबिक उपाध्यायको कलात्मक तस्बिर दोस्रो भयो भने उमेश श्रेष्ठले खिचेको तस्बिरले तेस्रो स्थान हासिल गर्‍यो। चप्पल लगाएर फुटबल खेल्ने प्रयासमा रहेका बालकको खुट्टा, त्यसको छायाँ र बललाई मात्र रोबिकको तस्बिरमा कैद गरिएको छ। यसैगरी उमेशले भने मुस्ताङमा साइक्लिङ गरिरहेका दुईजनाको दर्शनीय ल्यान्डस्केप फोटो खिचेका थिए।

प्रकाशित: १५ श्रावण २०७३ ०४:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App